साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही उत्तरआधुनिक नमस्कारहरू

Nepal Telecom ad

नमस्कार यो धेरै प्रचलित अनि हरबखत प्रयोग हुने शब्द हो । यसका पर्यायका रूपमा नमस्ते, दर्शन, जयनेपाल, अभिवादन, लाल सलाम आदि शब्दहरु प्रयोग, प्रचलनमा रहेका छन् । उपर्युक्त शब्दहरुका आआफ्नै विशेषता छन् । प्रस्तुत लेखमा नमस्कार शब्दको मात्र शैक्षिक (शिक्षक–विद्यार्थी केन्द्रित) र राजनीतिक अर्थहरु केलाउने जमर्को गरिएको छ । यसमा पनि दृष्टार्थ भन्दा अदृष्टार्थलाई र अभिधार्थ भन्दा व्यङ्ग्यार्थलाई कोट्याउन खोजिएको छ । यो लेखकको नितान्त आत्मपरक हेराइ हो । नमस्कारका अर्थहरुलाई यसप्रकार लिन सकिन्छ-
१.शैक्षिक अर्थ— नमस्कार शब्द मात्र होइन वाक्य पनि हो । उद्देश्य र विधेय नभएको अथवा कर्ता, कर्म, क्रिया नभएको पदलाई कसरी वाक्य भनिन्छ ? भन्नुहोला, तर बनिन्छ, मजाले बनिन्छ; किनभने उद्देश्य र विधेय यसका गर्भमै छन् । कसैले नमस्कार भन्ने बित्तिकै नमस्कार थाप्ने व्यक्तिले स्वतः कुरा बुझ्छ । किन कर्ता, कर्म, क्रिया नलगाई नमस्कार गरिस् ? भनेर रिसाउँदनैन ।
नमस्कारको सामान्य शाब्दिक अर्थ अभिवादन हो र यसभन्दा बढी अरु पनि हो; तर स्थान, समय, परिस्थिति अनुसार यसका विविध अर्थ हुन सक्छन् । यसका कायिक, वाचिक र मानसिक अर्थहरु सामयिक र पारिस्थितिक हुन्छन् । नमस्कारको एउटा ढिकुटी विद्यालय हो । अर्थगत रूपमा प्रथमिक तह र निम्न माध्यमिक तहका विद्यार्थीहरुको नमस्कार अभिधात्मक हुन्छ भने माध्यमिक तहभन्दा माथि यसको अर्थ अभिधात्मक र व्यञ्जनात्मक दुबै हुन्छ, तर तुलनात्मक रूपमा व्यञ्जनात्मक अर्थ बोकेको नमस्कारको प्रयोग अत्यधिक मात्रामा भएको पाइन्छ । सबै विद्यार्थी चाहिँ होइन अधिकांश विद्यार्थीहरु र तिनका अभिभावकहरु परीक्षा सुरु हुनुभन्दा केही दिन अघिदेखि दिनमा जतिपल्ट भेट्यो त्यतिपल्ट लामो लेघ्रो तानेर न म स् का र्र्र्र ‘‘सर ! भन्छन् । यो नमस्कार अलिक लद्दुलद्दु खालका विद्यार्थी र तिनका अभिभावकको हो । अब यहाँ नमस्कार को अर्थ अभिवादन नभएर विद्यार्थी पास गराइदिनू भन्ने लागेको छ । परीक्षा भएको केही दिनपछि नतिजा प्रकाशित हुन्छ, त्यसपछि पर्छ पढाउने शिक्षकलाई महाको फसाद । फेल हुने विद्यार्थी र तिनका अभिभावकहरुबाट पाएको नमस्कार शिक्षकले पचास प्रतिशत ब्याज लगाएर फिर्ता गर्नुपर्छ । अझ फेल हुने कुन्डले, मुन्द्रे, झ्याम्ले, खोयाबिर्के आदिले साइकल कुदाएकै बेला नमस्कार भने भने त्यो झन् खतरा हो । यसको अर्थ खबरदार !!! अब तँ मास्टरहरुलाई खतरा छ भन्ने हुन्छ भने यही वर्गका छात्राहरुले गरेको नमस्कारको अर्थ अर्कै हुन्छ । उनीहरुको नमस्कारबाट मरीजा ! तेरो किरीया परोस् ! मास्टर भनाउँदा भुणे मोरा !!! भन्ने अर्थ ध्वनित हुन्छ ।
यति मात्र कहाँ हो र । पास हुने विद्यार्थी र अभिभावक पनि नमस्कार गर्नुपर्छ भनेर अर्कापटि फर्केर हिड्छन् । कथं जम्काभेट भइहाल्यो भने पनि नमस्कार्ꜛ भन्छन् आरोही स्वरमा । आरोही स्वरमा नमस्कार गर्नुको अर्थ अँ हामी आफैं पास भएका होइनौ, यहाँ हजुरले चैं पास गराइदिएको होला ! भन्ने हुन्छ । सबै विद्यार्थीमा यही कुरा लागू हुन्छ भन्ने छैन । पास हुने होस् या फेल हुने कुनैकुनै विद्यार्थी त सारै ज्ञानी हुन्छन् । यस किसिममका विद्यार्थीको नमस्कारमा कुनै किसिमको पूर्वाग्रही अर्थ ध्वनित भएको पाइदैन ।
प्राथमिक र निम्नमाध्यमिक तहका विद्यार्थीहरुको नमस्कार निश्छल एवं स्वच्छ हुन्छ भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ तापनि मेरो एउटा सानो पूर्वानुभवले सो निश्छलताको पुष्टि गर्ने छ । आजभन्दा ३८/३९वर्ष अघिको कुरा हो, त्यसबेला अहिलेको कनकाई उच्च मावि, कनकाई निमावि थियो । प्र अ म स्वयम् थिएँ । सुरुङ्गा बजारमा २/४ घर मात्र थिए । वजार पश्चिम बाक्लो जङ्गल थियो । त्यसबेला सो जङ्गलले चर्पीको काम पनि गरेको थियो । कुनै एक बिहानको घटना हो सधैंझैं म दिसा बस्न जङ्गल गएँ र अगाडि पानीको लोहोटा राखेर के बसेको मात्र थिएँ, नमस्कारको मसिनो आबाज आयो कानमा । त्यस्तो जङ्गलभित्र कसले, कहाँ, कसलाई नमस्कार गरेको आबाज आउँदैछ ! म छक्क परेँ । फोनको घण्टी बजेजस्तै गरी लगातार नमस्कारको आबाज आइरहेको थियो । आफनो दाहिनेतिर हेरेँ कोही थिएन, अगाडि हेरें कोही थिएन, देबे्रतिर हेरें कोही थिएन । ए बाबा कस्ले यसरी नमस्कार गर्दैछ भनेर यसो पछाडि मुन्टो फर्काएर हेरेको त सात कक्षामा पढ्ने आफ्नै विद्यार्थी मिल्ट्रीको सतर्क अवस्थामा उभिएर दुबै हात जोडेर मेरो दयनीय अवस्थालाई अभिवादन गर्दै रहेछ । मेरो सातोपुत्लो उड्यो । डरले होइन, अर्थोकै केले हो केले । दिसाले आफनो दिशा बदल्यो, फर्क्यो आफ्नै जन्मघरतिर । मैले त्यस निर्दोष विद्यार्थीको नमस्कार नफर्काइकन कुलेलम ठोकें । त्यो मेरो विवशता थियो; तर निकैबेरसम्म पनि त्यही ठाऊँबाट नमस्कारको आबाज आइरहेको थियो तापनि नमस्कार फर्काउन नसकेकोमा पछुतो गर्नु बाहेक मेरो कुनै उपाय थिएन । त्यसको भोलिपल्ट म विद्यालय जान सकिन, बिदा लिएँ र सोही दिन जङ्गलमा खाडल खने, झिक्राले बारें र बेलुका ढुक्कले अघिल्लो दिनको बाँकी कामसमेत खप्टिएर एकैचोटि पुरा गरें । वास्तविक विद्यार्थीको नमस्कार कतिसम्म शक्तिशाली हुँदो रहेछ भन्ने कुरा यसबाट अनुमान गर्न सकिन्छ ।
२. राजनीतिक अर्थ— नेताले जनतालाई गर्ने नमस्कार र जनताले नेतालाई गर्ने नमस्कारमा पनि अर्थतात्विक भिन्नता रहेको हुन्छ । विशेष गरी भोट माग्ने नेताहरु भोट हुनुअघि प्रत्येक भोटदाताका घरघरमा नमस्कार भन्दै हिंड्छन् दसै औंला जोडेर । दस औंला जोडेर नमस्कार गर्ने पनि आआफ्नै किसिमका कला हुन्छन् । मेरा एकजना अभिन्न मित्र नमस्कारका ठाउँमा नारायन नारायन भन्नुहुन्छ सधैं । हामी त्यसको अर्थ बुझेर नमस्कार भन्छौं । उहालेँ नाइटालाई बीच पारेर दुई हात जोडे पनि त्यसको अर्थ नमस्कार नै हुन्छ; तर भोट माग्ने नेताले दस औंला जोडेर गरेको नमस्कार र मेरा मित्रले दस औंला जोडेर गरेको नमस्कारमा आकाश र पातालको फरक छ । निहुर्मुन्टी न भएर दुई हात निधारमाथि राखी नमस्कार !!! भन्न थालेपछि नेता एकोहोरो हुँदा रहेछन् । यो दृश्य सारै हेर्न लायक हुन्छ । एकपटक एकजना निकै नाम चलेका नेताले भोट माग्ने क्रममा गौ मातासँग पिरती गाँस्तै गरेका शिववाहनलाई पनि एक नमस्कार ठोकेछन् । आफ्नो नाम मतदाता सूचीमा नभए पनि भोट माग्यो भनेर हो या अन्य कुनै कारणबाट हो शिववाहनले गौमातालाई यसो कोट्याएर आकाशतिर हेरी एक खित्का छोडेछन् । यस्तै छ नेताको नमस्कार गराइ ।
नेताले गरेको नमस्कारको वास्तविक अर्थ मतदातालाई त्यतिबेर थाहा नभए पनि माथि गएर मन्त्री भइसकेपछि थाहा हुन्छ । उनीहरु आफ्ना टाउकामा हात राखेर नेताले गरेको नमस्कारको यस किसिमको वर्णपरक भित्री अर्थ थाहा पाउँछन् –
न=नमस्कार
म=मलाई भोट दिएर माथि पठाउनु भयो भने
स्= सत्ते, गाईको मुत खाने होला
का= काठमाडौंमा बसी लाखौको कार चढेर
र= राष्ट्रको ढिकुटी रित्याएर भए पनि तपईंहरुको चिल्लै सेवा गर्नेछु ।
उपर्युक्त अर्थका अतिरिक्त अरू पनि धेरै व्यञ्जनात्मक अर्थ हुन सक्छन् नेताजीका नमस्कारमा । भोट जितेर मन्त्री भएपछि हिउँदमा धुले पुल र बर्खामा हिले पुल बनाइदिने प्रतिज्ञालाई पनि नमस्कारकै अर्थमा लिन सकिन्छ ।
यी त भए भोट हुनुभन्दा अघि गरिएका नमस्कारका अर्थ । भोट जितेपछि र मन्त्री भएपछि नमस्कार गर्ने पालो आउँछ मतदाताको । बिचरा निरीह मतदाताले भित्री हृदयदेखि गरेको नमस्कार खोलाको गीत हुन्छ । मन्त्रीक्वाटर र मन्त्रालयभित्र नमस्कार छिर्न पाउँदैन भने कारभित्र नमस्कार सुनिदैन । नेता/मन्त्रीले जनताको नमस्कार फर्काइहाले भने पनि त्यस नम्मस्कारको अर्थ यस्तो हुन्छ—
न= नमस्कार गर्या होला
म= म, मेरो परिबार र मेरा चम्चेसमेत
म= मर्सिडिज कार, मन्त्री क्वाटर र
स्= सिंहदरबारभित्र बस्याबेला
का= कान पटक्कै सुन्दिन अनि
र= रतन्धो र दिनान्धो पनि भएको छु ।
नेताले गरेको नमस्कारमा वर्णाक्षरात्मक अर्थ मात्र नलागेर शब्दवाक्यात्मक अर्थ पनि लाग्न सक्छ विद्यार्थी र अभिभावकले गरेको नमस्कारमा जस्तै । कुनैकुनै नेता वा मन्त्रीले मात्र अभर पर्दा नमस्कार फर्काउँछन्; तर सो नमस्कारको उच्चारण उर्ध्व अनुत्तानमा गरिएको हुन्छ । यस किसिमबाट गरिएको नमस्कारको ध्वन्यार्थ हुन्छ- हामीले भोट दिएर जिताएका थियौं, अब हाम्रो क्षेत्रलाई सहयोग गर्नुपर्यो भनेर सहयोग माग्न आएका हौ भने जुन बाटो आएका थियौ खुरुक्क त्यही बाटो लाग । नत्र मेरो बडी गार्डले मुन्ट्याएर चारभन्ज्याङ कटाइदिन्छ, थाहा छ ? अब त सहयोगको कुरा सिब ! आफूलाई त पुग्या छैन ! ! !

सुरुङ्गा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

काेमलप्रसाद पोखरेल
0
Would love your thoughts, please comment.x
()
x