साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का

Nepal Telecom ad

१. हारजितको भित्री कारण

फलानाले जित्नुको कारण के ? : मुसुक्क हाँस्छन्, खाइलाग्दो ज्यान छ । लोभ गर्दैनन्, जति पनि खर्च गर्छन् । कार्यकर्ता भेट्नासाथ चियाखाजा खुवाइहाल्छन्, घर आउँदा बाटो खर्च दिन्छन् । चुनावमा भोज खुवाउन काटेको खसी पनि दामी थियो । तर, उनले चुनाव जित्नुको मुख्य कारणचाहिँ ज्योतिषी बा नै हुन् । उनले ट्वाक्क मिल्ने साइत हेरे, त्यही साइतमा ठ्याक्क उम्मेदवारी दिए । अनि, फलानाले नजितेर ढिस्कानाले जित्छ त ?

ढिस्कानाले किन हारे ? : यी पनि साह्रै राम्रा हुन्, कमाउन जाने पनि खर्च गर्न त्यति जान्दैनन् । ज्यान चिटिक्क, आँखा झिमिक्क छ । त्यस्तो राम्रो आँखा र दाँत हुनेले चुनाव हार्नु अचम्मकै कुरा हो । गतिलो ज्योतिषी छान्न पनि सकेनन् । हात मिलाउँदा खुलेर नहाँस्नाले पनि भोट घट्यो । अलि होचो हुनाले भोट माग्नलाई उनले नमस्ते गरेको कार्यकर्ताले परबाट नदेख्नाले पनि हारे । चुनावमा भोज खुवाउन काटेको खसी गतिलो परेन, सायद पैसा बचाउन ख्याउटे खसी काटे । र, चुनाव हारे ।

चिलानाचाहिँ उठेन स् चिलाना अलि मूर्ख छ, पार्टीको नीति सिद्धान्तको कुरा गर्छ । पार्टीको उम्मेदवार बन्छु, गुटको बन्दिनँ भन्यो । अनुहार पनि त्यति नपरेको, सुको कमाइ छैन, एक कप चिया खुवाउन सक्दैन । तैपनि, चुनाव उठ्छु भन्यो तर कसैले उसको कुरा सुनेन । त्यसैले उठेन । अब पार्टीको चुनावमा चिलानाहरू नउठ्ने रे किनभने दाम छैन, दाम नभएपछि उठे पनि काम छैन ।

२. बकसमा पद

अंशबन्डा त्यसै पनि लोप हुँदै थियो, त्यसको ठाउँ भागबन्डाले लिँदै थियो । अब अंशबन्डा नगर्ने, आफूलाई इच्छा लागेको सन्तानलाई सम्पत्ति दिन पाइने विधेयक संसदमा विचाराधीन छ । हाम्रो नेपालमा सन्तानलाई असाध्यै माया गर्छन्, नेता होऊन् या अभिनेता, सबैले सन्तानका लागि दिलोज्यान दिन्छन् । इच्छाएको व्यक्तिलाई सम्पत्ति दिने जस्तै कानुन सबै क्षेत्रका लागि बनाउने हो भने के हुन्थ्यो होला ? सायद यस्तो हुन्थ्यो :

– कुनै पनि पार्टीमा नेतृत्वका लागि चुनाव हुँदैनथ्यो, पदमा जो बसेको छ, उसले विरासतमा सन्तानलाई पद दिन्थ्यो ।

– आमचुनाव गर्ने झन्झट हुँदैनथ्यो, सांसदले शेषपछि सन्तानका नाममा इच्छापत्र छाडेर जान्थे, जसको नाममा इच्छापत्र हुन्छ, उसैले सांसद पद पड्काउँथ्यो ।

– सरकार बनाउने र गिराउने खेलोमेलो सदाका लागि अन्त्य हुन्थ्यो, मन्त्रिपरिषदमा रहेकाहरूले आफ्ना सन्तानलाई विरासत छाडेर जान्थे, उनै मन्त्री बन्थे ।

– लोकसेवा आयोग खारेज हुन्थ्यो । कर्मचारीले पनि आफ्नै सन्तानका नाममा इच्छापत्र छाडेर जान्थे, सन्तानले नै सरकारी जागिर पाउँथे । अनि, किन चाहियो लोकसेवा ?

नेपाली विश्वमै अद्वितीय छौँ, सन्तानप्रेमीका रूपमा झनै अद्वितीय । इच्छापत्र कानुन बनाउँदा नातागोताका लागि पनि विशेष व्यवस्था गरौँ ।

३. चीनबाट के ल्याउने ? उखान–टुक्का !

प्रधानमन्त्री केपी ओलीले भारतबाट बिजुली ल्याए, अब चीनबाट के ल्याउलान् ? चीन जान लागेका छन्, यो ल्याऊँ कि ऊ ल्याऊँ भनेर दोधारमा होलान् । बिजुलीको बल्ब ल्याए हुन्छ, तार ल्याए हुन्छ, तार टाँग्ने खम्बा ल्याए पनि हुन्छ । सबैभन्दा राम्रो त चिनियाँ उखान–टुक्का ल्याए हुन्छ । चिनियाँ माओको विचार ल्यायौँ भन्दै नेपालीलाई एउटा पार्टीले वर्षाैं रुवाएको थियो । अब उखान–टुक्का ल्याऊँ, जनता हँसाऔँ । आखिर हाम्रा प्रधानमन्त्रीको विशेषज्ञता यसमा जो छ ।

खासमा बडो रमाइला छन् हाम्रा प्रधानमन्त्री । हँसाउनु नराम्रो होइन, अझ रुवाउनुभन्दा हँसाउनु धेरै नै गाह्रो काम हो । रुवाउन त जसले पनि सक्छ तर हँसाउन ओलीले मात्र सक्छन् । साँच्चै नै भन्या, चीनबाट ल्याएको बिजुलीको चिम बालेपछि जस्तै कालो बजार पनि सेतो देखिन्छ भनेर चाहिँ नहँसाई दिनुहोला ।

४. रेल बन्द !

नेपालमा पनि रेल कुद्ने सम्भावना बढ्यो । चीनले पनि बनाइदिने, भारतले पनि बनाइदिने, हामीचाहिँ चढे मात्र हुने । क्या भाग्यमानी हामी ! छरछिमेकीले बाटो, धारा, स्कुल बनाइदिन्छन्, शौचालयसमेत बनाइदिन्छन् । जनकपुरको खेलौना पाराको रेलको के कुरा ! अब गतिलै रेल बनाइदिने भए । रेल कुद्न थालेपछि के गर्ने ? बन्द गर्ने ! नयाँनयाँ तरिकाले बन्द–हड्ताल तथा आन्दोलन गर्ने क्रममा हामीले आफ्नै देशलाई नाकाबन्दी गर्न सिकिसक्या छौँ ।

आन्दोलनका नाममा गर्न केही बाँकी थिएन, अब त रेल पनि बन्द गर्न पाइने भो । बन्द गरेर यात्रुलाई सताउन यति मजा आउँछ रे । बारम्बार बन्द गरेर सताउन मन लाग्छ रे ! रेल पनि यातायात नै हो तर विशेष खालको । नयाँ यातायात भएकाले यसलाई बन्द गर्दा पनि नयाँ खालकै मजा आउँछ होला ।

भारत र चीन कसले नेपालमा पहिले रेल कुदाउने भन्ने प्रतिस्पर्धा रै’छ । यी दुई छिमेकीले नेपालको भलो गर्ने यस्ता काममा जहिलेतहिले प्रतिस्पर्धा गरेकै राम्रो । उनीहरूले प्रतिस्पर्धा गरेपछि हामीले पनि प्रतिस्पर्धा गर्न परेन त ? हामीले चाहिँ कसले पहिले रेल बन्द गर्ने भनेर प्रतिस्पर्धा गरौँ । रेल बन्द गर्ने पहिलो ऐतिहासिक पार्टी बन्न प्रतिस्पर्धा थालौँ ।

प्रतिस्पर्धा गर्नुभन्दा पहिले प्रतीक्षा गरौँ । किनभने, बन्द गर्न रेल बन्ने प्रतीक्षा गर्न परेन ?
कि बन्दै नबनेको रेल पनि बन्द घोषणा गरेर कीर्तिमान बनाउने ?

नेपाल, चैत्र ५, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x