साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्यायीका सहस्र सिङ

Nepal Telecom ad

उही कसूरमा एउटा निकायले कारबाही गर्दा चैन र अर्कोले अनुसन्धान थाल्न नभ्याउँदै उखरमाउलो किन ?
“अन्याय गर्न पाइन्न !”
“कानूनी शासन कायम गर !”

‘फ्री–भिसा, फ्री–टिकट’ बोकेर मरुभूमिमा झर्न पाए जहान–परिवारको गोजेरो भर्ने छटपटीमा म्यानपावर कम्पनीको चक्कर काट्दाकाट्दै घरबारी सिरिखुरी भएको वेला न्यायप्रेमीहरूको बुलन्द आवाज सुन्दा मेरो तनमा प्राण संचारित भयो । ‘देख्ने भए जन्डुहरूले न्यायको शक्ति’– स्वयंलाई ढाढस दिंदै म भीड भएतिर लम्किएँ ।

उर्लिएको जिन्दावाद र मूर्दावादको नारामा स्वर मिलाउने हेतुले मुड्की उचालेर उफ्रिनै लाग्दा भने खङ्ग्र्रङ्ग हुनुपर्यो । त्यहाँ त फ्री–भिसाको ललिपप देखाएर मलाई बुचिट्वाँट पार्ने साहूजी पनि उखुमसँग डुक्रिरहेका रहेछन् । प्रहरीले छापा मारेर कारबाही अघि बढाएको विरोधमा म्यानपावर कम्पनीहरूको अनिश्चितकालीन आमहड्ताल घोषणा पनि हुँदैरहेछ । नेपाल विधिहरूले लदालद भए’नि तिनलाई उपयोग गर्न खोज्यो कि क्षेत्राधिकारको तानातान र हानाहान हुनु बुझिएकै पहेली हो । उत्तिखेरै कानमा परेको ‘क्षेत्राधिकार मिच्न पाइन्न, कानून बमोजिम सहूँला बुझाउँला’ भन्ने सामूहिक लल्कारले मेरो तर्कना बिथोलियो ।

साहूजीहरूको मन फिरेको वचन सुनेर मेरो रकम फिर्ता हुने आशमा फुरुङ्गिदै भनें, “मसँग गैरकानूनी रूपमा हसुरेको गड्डी कानूनी रूपमा ओकल्देऊ न त !”

नारा लगाइरहेका साहूजीले दुई जना चुल्ठे–मुन्द्रेलाई साइडमा लगेर मेरो हिसाब फच्चे पारिदिन आँखा सन्काए । साँढहरूले बिजुली गतिमा झम्टिंदा मेरो आँखा तिरमिरायो । बौरिंदा गाला फुकुन्डिएर हनुमानलाई बिर्साउने भएछ ।

“अर्काको लुट्ने, अनि उल्टै ढुट्याउने ?” म जङ्गिएँ, “पुलिसमा उजुरी गरेर तुरुङमा नजाकी छाड्दिनँ ।”

“उजुरीलाई पाती चढाइदेऊ !” साहूजीले सम्झाउन खोजे, “हामी वैदेशिक रोजगार ऐन अन्तर्गतका मान्छे हुम्, फौजदारी कानून भिराउन मिल्दैन !”

पड्केहरूलाई प्रहरीले छुन नमिल्ने, अदालतमा मुद्दा हालौं पेशीमा उकाल्नै हम्मे । त्यसमाथि छ– वकीलहरूको फन्दामा परिने जोखिम । ‘मजबुरीको नाम शुक्रियाँ’ भन्दै मैले ईश्वर पुकारा गर्दा छेउको मूर्तिभित्रबाट लिखुरे काया बुर्लुक्क हामफाल्यो । मैले तर्सिंदै सोधें, “को हो तपाईं ?”

“कानूनी शासनको आत्मा !” काया बोल्यो, “मलाई न्याय भन्छन् !”

“न्यायको नौ वटा सिङ हुन्छ भन्थे, तिमी त चिलमुन्डै छौ त । यस्तो फुकीढल ज्यानले के निसाफ दिलाउँछौ ?”
“ती सिङ मेरा नभई तिमीहरूको अव्यवस्थाले जोडेको हो । आँखामा पट्टी बाँधेर खडेबाबा बनाइदिएका छौ, अन्धोले हात्ती छामेको हविगतबीच मनमाफिक न्याय दिन नसक्दा यो ज्यान खिनौटिएको हो ।”

मेरो भुक्तमान सुनेपछि ‘देखी जानेर’ फैसला गर्न राजी भएका उनले नजिकैको पुनस्र्थापना केन्द्रतर्फ औंल्याउँदै सोधे, “मानसिक सन्तुलन गुमाएका यी दोजिया अवलाहरू को हुन् ?”

“पारिवारिक दायित्व निर्वाह गर्न कम्मर कसेर पराइभूमि छिरेका यी सवलाहरू हुन् । म्यानपावर व्यवसायको खोल ओढेका मानव तस्करहरूले यिनलाई यो दशामा पुर्याए ।”

“यस्ता अधमलाई जीउ मास्ने र बेच्ने अभियोगमा किन मुद्दा चलाएनन् ?” न्याय क्रोधित भए ।

अन्तर्राष्ट्रिय विमानस्थलको द्वारबाट बाकसमा बन्द युवा शवहरू बाहिरिंदै गरेको दुर्दान्त परिदृश्यतिर न्याय एकोहोरिए । यो सब व्यवसायको आडमा ठगिखान पल्केका दुष्टहरूको करामत भएको जानेर न्याय बिच्किए, “यिनलाई ज्यानमाराको महल किन नलगाएको ?”

हामी फर्किएर हड्तालस्थलमा पुग्यौं ।
“एउटा बिमाखमा एउटा मात्र कानून आकर्षित हुन्छ !” न्याय अझ राँकिए ।

“हामी निश्चित ऐनवाला ढाडेहरूको हकमा बाँकी नियम कानून स्वतः विकर्षित हुन्छ !” साहूजीहरू गुर्राए, “तिमी जस्ता बेवारिसेहरूतिर जुनसुकै धारा, दफा र नियम चुट्कीमै आकर्षित हुन्छ । ज्यादा मचमच नगरी सर्लक्क बाटो नाप, नत्र गालीबेइज्जती, मानहानि, धम्की, ब्ल्याकमेलिङ आदि कसूरमा मुद्दा ठेंसेर झयालखानामा सडाइदिउँला ।”

“अन्यायीका त सहस्र सिङ हुँदा रै’छन्, बाबै ! तिनले कताबाट हान्ने, घोच्ने, भुक्याउने वा लोट्याउने हुन्, ठेगान भएन ।” पहिलोपल्ट कानूनको बिब्ल्याँटो मार्ग देख्दा न्याय अतासिए ।

“म चाहिं फक्कड भई घुमिबस्नु ?”

“विधिले प्रक्रिया नाघ्न मिल्दैन, बेथितिलाई प्रक्रियासँग बालै हुन्न, तर न्यायलाई नै अभरमा पार्ने गरी प्रक्रियाले फड्के थाप्न नपाओस् ! धुन्धुकारीहरूलाई अदालतको कठघरामा ठड्याऊ, अब उप्रान्त आँखा उघारेर निसाफ गर्नेछु !”

नयाँ नेपालको बेहाल देखेर निसास्सिएका न्याय झटपट मूर्तिभित्र प्रवेश गरे । अनि न्यायकी देवीको प्रतिमाबाट आँखा ढाक्ने टालो गायब भयो !

हिमाल, चैत्र २, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x