उत्तम विचारभूकम्प
(पहिलाे वार्षिकीका अवसरमा)
थाहै हुन्न सुटुक्क आउँछ अहो उत्ताउलो चालमा
सारा व्यक्ति समान छन् किनभने बस्छन् सबै पालमा
मात्रै एक जना बचेछ घरको बाँच्ने कला सिक्नु छ
माटोमा पुरिए अनेक सपना खोस्री सबै झिक्नु छ ।१।
धक्काले पनि हल्लिए मुटुहरू सासै स्वतः रोकियो
धाँजा फाटिरहेर लौ न पृथिवी पातालमा ठोकियो
यस्तो लाग्छ हुँदै छ झै प्रलय यो निस्केछ ज्वाला पनि
बौलाएपछि यो स्वयं प्रकृति नै के लाग्छ कस्को अनि ।२।
कैयौँ रात बिते खुला चहुरमै के रै छ यस्को सुर
भत्काएपछि यी सबै गुँडहरू बस्छन् कहाँ ढुक्कुर
नौलो संरचना बनाउन भनी सारा जुटाएपछि
केही हुन्न ढलेर बिल्डिङहरू उठ्छन् उठाएपछि ।३।
सिङ्गो यो छतले किचेपछि भने के हुन्छ होला भन
भत्केको घरमात्र होइन अहो भत्क्यो यहाँ जीवन
भत्के तापनि चैत्य मन्दिरहरू भत्किन्न आस्था तर
यो भूकम्प अचम्मको विषय हो विज्ञानभन्दा पर ।४।
के के हुन्छ विपत्ति हो प्रकृतिको क्यै छैन यस्को भर
यो भूकम्प गएर फेरि नढलोस् प्राचीन घन्टाघर
इच्छाशक्ति नगुल्टिओस् धरहरा गर्ल्याम्म गुल्टे पनि
हाम्रा हातहरू सधैँ जुटिरहून् निर्माण गर्ने भनी ।५।
तनहुँ, हाल काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































