मनोज गजुरेलखेलमा के छ जुन राजनीतिमा छैन ?
फ्यान सम्बन्धी मानिसको मानसिकता अहिले फेरिएको छ । हिरो–हिरोइन तथा नेता–कार्यकर्तालाई मात्र ‘सेलिब्रिटी’ मान्ने नेपालीहरू अहिले सामाजिक अभियन्ता एवं खेलाडीहरूलाई आदर्श मान्न थालेका छन् । खेलकुदका डायहार्ट फ्यानहरूमात्र होइन, खेलप्रति सामान्य रुचि राख्ने जनता पनि खेलाडीप्रति हदैसम्मको आदरभाव राख्न थालेका छन् । त्यसमा पनि लामो समयको राजनैतिक अन्यौलबाट अताल्लिएका हामीहरू नेपाली खेलक्षेत्रको सफलताबाट निकै हौसिएका छौं, किन होला ?
राजनीतिबाट वाक्क भएपछिको परिणाम हुन सक्छ । छिमेकीको हस्तक्षेपपछिको कारण हुन सक्छ । निराशाबीच उदाएको आशाको दियो हुन सक्छ । खेल र खेलाडीप्रति नेपाली जनताको आशा, भरोसा र हौसलाका कारण अरू धेरै हुन सक्छन्, तर मुख्य कारणचाहिं स्वाभिमान नै हो भन्ने गजुरियल ठम्याई छ ।
अरूका लागि खेल शुद्ध मनोरञ्जन होला । पैसा कमाउने र गुमाउने माध्यम बन्ला । शारीरिक तन्दुरुस्ती र स्वास्थ्यको विषय हुन सक्ला, तर हाम्रा लागि खेलकुद त्योभन्दा निकै माथिको विषय हो । खेलमा हामीहरू राष्ट्रियताको संरक्षण देख्छौं, भाइचाराको विकास गर्छौं र एकताको सन्देश दिन्छौं । त्यसमा पनि अन्तर्राष्ट्रिय स्तरको खेलकुदमार्फत हामी राष्ट्रिय एकता मजबुत बनाउँछौं ।
धेरै पुराना कुरा नगरौं । हालैमात्र नेपाल विजयी भएका केही प्रतिस्पर्धालाई नै उदाहरण लिन सकिन्छ । अल्लि अस्ती भारतको फुटबल मैदानमा नेपालको जित होस् वा हिजो अस्तिमात्र नेपालको क्रिकेट पिचमा नामिबियाको हार होस्, दुवैमा नेपालीहरू एकमुस्ट खुसी भए, सबै नेपाली जोडिए । आखिर के छ खेलकुदसँग, जुन अरू क्षेत्रसँग छैन ? आउनुहोस्, यसको गजुरियल विश्लेषण गरौं ।
‘राष्ट्रियता जोगाउँछौं’ भन्ने पार्टीहरूको संख्या डेढ सयभन्दा बढी होलान् । प्रजातन्त्र बचाउँछौं भन्ने जन संगठनहरू पनि त्यत्तिकै संख्यामा होलान् । देश र जनतालाई एकताबद्ध तुल्याउने उद्देश्यले स्थापित एनजीओहरू पनि हजारौं होलान् । मानिसलाई प्रेम पढाउने धार्मिक सम्प्रदाय पनि कम छैनन् तर तिनीहरूले पनि हामीलाई एकताको सूत्रमा बाँध्न सकेका छैनन् जति नेपाली खेलकुदले बाँधेको छ, किन त ?
गजुरियल विश्लेषण भन्छ, खेलकुदमा सामूहिक प्रयासमात्र हुन्छ, व्यक्तिगत स्वार्थ हुँदैन । राष्ट्रिय प्रतिष्ठाको पहिचान हुन्छ, पदीय लालचको निशान हुँदैन । जितकेन्द्रित योजना हुन्छ, पैसाकेन्द्रित आयोजना हुँदैन । गोल हुँदा प्राप्त हुने आनन्दको आँकलन हुन्छ, पेन्सन र पुरस्कारको लोभ हुँदैन । राजनीतिज्ञहरूभन्दा खेलाडीहरू सम्मानित हुनुको कारण पनि यही हो भन्ने गजुरियल ठम्याइ छ ।
खेलमा प्रतिस्पर्धीसँग बेमेल हुन सक्ला, राजनीतिमा जस्तो आफू–आफूमै झेल हुँदैन । अभ्यासबाट पाकेका मात्र मैदानमा पुग्छन्, बुढ्यौलीले थाकेर कुर्सीमा पुग्ने नेताजस्ता हुँदैनन् । खेलकुदमा त्यसको मर्म बुझेका कोच हुन्छन्, वंशजको नाताले नेतृत्वमा पुग्ने राजनीतिज्ञ हुँदैनन् । मैदानमा पसिना बगाएर जित हासिल हुन्छ, मञ्चमा चिसो पिउँदै भाषण ठोकेजस्तो नहुने भएकाले नै खेलाडीप्रति सारा नेपालीको अपेक्षा रहेको गजुरियल ठम्याइ छ ।
आफैं नियम बनाउने आफैं मिच्ने काम खेलकुदमा हुँदैन । पैसा ख्वाएर चुनाव जितेजस्तो काम पनि त्यहाँ हुँदैन । यदि कसैले म्याच फिक्सिङ गरे कानुनले तिनलाई ढिलोचाँडो मिक्सिङ गर्छ । जेल बस्नुपर्छ । खेलक्षेत्र छोडेर टाप कस्नुपर्छ । खेलले हाम्रो मन छुन्छ, राजनीतिले मानिसको मस्तिष्क खान्छ । टिमका सबै खेलाडीले एउटै रंगको जर्सी लगाउँछन्, एउटै पार्टीका नेताहरूले समयअनुसार रंग बदल्छन् । चुनाव जित्ने नेताले आ–आफ्ना पार्टीका झन्डा समाउँछन्, खेलकुदमा विजयी हुने टिमका सबै सदस्यले देशको एउटै झन्डा समाउँछन् । टिमका सबै सदस्यले देशको एउटै झन्डा उचाल्छन् ।
राजनीतिले तोडेका नेपालीहरूलाई खेलले जोड्न सक्नुको मूल कारण यही हो भन्ने गजुरियल ठम्याइ छ ।
साप्ताहिक, वैशाख १०, २०७३
Subscribe
Login
0 Comments
Oldest









































