साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इच्छापत्रको इतिहास

Nepal Telecom ad

हरेक कुराको इतिहास हुन्छ । डाइनोसर, हात्ती, जुम्रा कमिला, वनस्पति ढुङ्गा, माटो अर्थात जे को पनि इतिहास हुन्छ । लोग्ने, स्वास्नीको इतिहास लेख्न सकिन्छ । बृद्ध बृद्धाको इतिहास लेख्न सकिन्छ । बालक, वयस्कको इतिहास लेख्न सकिन्छ । गाइ, भैसी, बाख्रा चराचुरुङ्गी आदि सजिवको मात्र होइन निर्जीवको पनि इतिहास लेख्न सकिन्छ । बस, कार चिठीपत्र, जहाज, पानी जहाज हरेक वस्तुलाई मूल्याङ्कन, मूल्य मान्यता, उपयोगिता उपभोक्ता या यसको उपादेयता हरेक कुरालाई दर्शाएर भूत, वर्तमान र भविष्यका बारेमा सघन बहस र चर्चा चलाउन सकिन्छ । इतिहास लेख्नेले कष्ट गरेर सम्बन्धित विषयमा प्रष्ट पार्न सक्यो भने दस्तावेजको रुपमा त्यो कालजयी बन्न सक्छ । अनि गुरुजीहरूले बालबालिकालाई यिनै विषय वस्तुका बारेमा इतिहासको चास्नी चखाउन सक्छन् । अन्यथा इतिहास भन्ने तत्त्व नै कहाँ रहन्छ र ?

जब मान्छेमा चेतनाको प्रस्फुटन भयो तब मान्छेले हिजो हाम्रा बराजुले के गरेका थिए । पुर्खा कस्ता रहेछन् । आदि विषय सम्झन रुचाउछ । सन्तान दर सन्तानलाई आफ्नो विगतबारे जानकारी दिन चाहन्छ । यसै जानकारी दिने सिलसिलामा गएका दिनहरूको सहि, साँचो, सत्य, तथ्य दस्तावेजलाई इतिहास मान्ने चलन छ । यो लम्बेतान लामो हुनु पर्छ भन्ने छैन । तर इतिहास सत्यको निकट हुन्छ । यसै निकटताको आड लागेर मेरा पुर्खा यस्ता, तेरा पुस्ता त्यस्ता भन्दै अर्कालाई दीक्षित बनाउने गर्दछन् । संस्कार, संस्कृति रितिरिवाजका बारेमा यथेष्ट जानकारी इतिहासबाटै हत्याउन सकिन्छ । त्यो साँचो सत्यकुरा मानव समुदायबाट लोप नहोस्, भन्नाका खातिर इच्छापत्रजस्तो व्यक्ति व्यक्ति, परिवार परिवारमा महत्व राख्ने, लिने दिने तौर तरिकाको नालीवेलीका बारेमा किन मौन बस्ने, भविष्यका सन्ततीले यसै तौर तरिका अपनाएर आफ्नो पूर्ण कदलाई सुमार्गमा हेलुन् र सन्ततीलाई यसरी नै पेलुन् भन्ने मनसायले इच्छापत्रको इतिहास यहाँ समक्ष पेश गरेको छु ।

इच्छापत्रको इतिहासमय यस प्रसङ्गमा सानो जीव जुम्राको जीवन चक्रको बारेमा यहाँ छोटो टिप्पणी गर्नु समुचित ठानेको छु । जुम्रा मानव सृष्टिको उषाकालदेखि नै मानव संगतमा रमाउने प्राणीको रुपमा लिइन्छ । माथमा उम्रिएको बाल रौँ वा डालमा यसले राज गर्ने गर्छ । यसको आकार प्रकार र रङ् रुपको बारेमा सबै मान्छे मौन बस्छन् तर जानकार छन् । यो प्राणीले शरीरको बाहिरी भागमा बुर्कुसी मा¥यो वा क्याटवाक गर्यो भने भलादमीहरू लाजले भुतुक्कै हुन्छन् । यसलाई माईक्रो जीवमा लिएता पनि यसले मेल फिमेल नछुट्याई टोक्ने गर्छ । फोहोरी, गन्धे, ननुहाउने मान्छे यसका प्रिय पात्र हुन् । एकातिर फर्किएर निदाई राखेकोलाई टोकेर अर्काे तर्फ फर्काउने या विस्तरा नै छोडेर हिँडाउने सम्मको क्षमता यस प्राणीको सुरक्षित छ । मानव या प्राणीमा छालामा टाँसिएर खानपान गर्नु पुख्र्याैली धर्म हो । मयल चम्कना, ढाडी, फुल यसको जीवन चक्रमा पर्छ । रेस्लिङ खेल्ने बडेमानका जगल्टे बहादुरले पनि यसले टोक्यो भने बरु कपडै फाल्छन् तर जुम्रा जुम्रिनीको बंगारा झार्न, छरपस्ट पार्न सक्दैनन् । यसर्थ जुम्राका पुर्खा मानव शरीरमा राज गर्ने भाग्यमानी र मजबुत मान्नलाई करै लाग्छ ।

चराचर जगतका हरेक प्राणीका शरीरमा सृजित मयलबाट उत्पत्ति भएका यस उपप्राणीले मुख्य प्राणीको रातो तातो, तातो बग्दै गरेको रगत पिएर जिउने गरेको छ । नाङ्गा भूतुङ्गा उपप्राणी दोपाया चौपायाकै पूर्णकदमा रहेर शरीरको कुनै कुनाकाप्चामा आफ्ना सन्तान दरसन्तानको सृष्टि जारी राख्छन् । यस जुम्रेऽतिहास पढेर हाम्रा सुकिला मुकिला नाति नातिनी, पनाति, झनाती, खनाति वा नानाभातीले पनि यस बारेमा पर्याप्त जानकारी लिएर विज्ञ, महाविज्ञ पनि बन्न सक्छन् । मान्छेले सिंगान, खकार, दिसा, पिसाबका बारेमा त अध्ययन गर्छ भने शरीरमै बास बस्ने जुम्राको बारेमा किन नगर्ने ? सानो भनेर हेला र बेवास्ता ग¥यो भने यसले भयावह रुप लिन पनि सक्छ । हेपेको खोलाले बगाउन पनि सक्छ । भोलिका दिनमा विकास र विज्ञानको चमत्कारले जुम्रालाई खोर बनाएर पाल्नु पर्ने पो हो कि ? जुम्रा पालन पोषण गर्न सरकारसँग कर्जा लिनु पर्ने पो हो कि ? या जुम्रा नै लोप भएर संरक्षण सूचीमा पर्ने पो हो कि ? सचेत मान्छे जुम्राले टोक्यो सतायो भनेर भुनभुनिने होइन सचेतताका साथ थान्को लगाउनु आवश्यक हुन्छ ।

उपकथन पछि मूल विषयमा प्रवेश गरौं । आफ्नो अधिन अधिकार वा मुठीमा भएको श्रीसम्पति आफ्ना सन्तती वा अरु कसैलाई हकभोग गर भनेर सहि छाप लगाएर चाम बाँधेर मुठी फुकाई दिने राजीखुसी लिखत पत्रलाई नै इच्छापत्र भनिन्छ । चन्डाल छोरा छोरी वा आफ्ना सन्ततीले सताएर हैरान पारेपछि यसको उदय भएको हो । इतिहासकारहरूले विभिन्न पाटामा लेख्दा लेख्दै इच्छापत्रको इतिहास लेख्न बिर्सिएछन् । कसैले लेखेकै रहेछन् भने पनि डब्लिएर के नै बिग्रिएला र । कति इतिहासहरू डबल, त्रिबल पनि देखिएका लेखिएका छन् । समाजमा हुनु पर्ने कुराहरू नभएपछि, लेख्नुपर्ने, समेट्नु पर्ने नसमेटिएपछि साहित्यकार भई टोपलेकाको मन के मान्थ्यो र ! झिनु विषय के पाएको थियो यी इच्छापत्रको इतिहास लेख्न पलेटी कसी हालें ।

इच्छापत्र शिक्षापत्र जस्तो दश पन्ध्र वर्ष पढेर घोकेर पाइने प्रमाणपत्र होइन । इच्छापत्र प्रेमपत्र जस्तो बैंसालुले बैंसको बेगलाई अविछिन्न र तिब्र पार्न कोरिने आत्मकथा पनि होइन । इच्छापत्र सरकारले कोटेसन आव्हान गरे जसरी असलै असल, गतिलै गतिला, राम्रै राम्राको हाम्राको छनोट गर्न पत्रपत्रिकामा छ्यास्छ्यास्ती विज्ञापन छपाउने क्रिया प्रकृया पनि होइन । इच्छापत्र त्यस्तो हो जुन तनमनको अन्तर कुन्तर दया माया र ममताको दल दलमा फूलेको कमल हो । आफन्तको आत्माको सातपत्रे पत्र पत्र नै मायाले पगाल्न सकियो भने इच्छापत्र सुनको ढिको बनेर आउँछ । इच्छापत्र दाताले पत्याउन सक्यो र विश्वासको खडेरी परेन भने पुर्पुरोमा इच्छापत्र पाउन लेखेकै रहेछ भनेर ढुक्क भए हुन्छ । यसको अलवा आजको आजै तातै खाउँ जल्दै मरु झै अहंकारका पर्रा बर्साएर, प्रहरी लगाएर वा लाठी मुङ्ग्री देखाएर इच्छापत्र पाउन सकिँदैन । बर्षाैको सद्भाव सत्कार अनि न्यानो आत्मियताले निथ्रुक्क भिजाउन सकियो भने इच्छापत्राङ्कुरित हुन सक्छ । समष्टिमा भन्नु पर्दा यो तेती दुर्लभ पनि होइन र सुगम पनि छैन । अक्करमा फलेको फर्सी ठक्कर प¥यो कि गयो ।

इच्छापत्रको अन्तमा ‘आमाको दुध चुसेर भएन बाबुको घुँडो’ भनेझै पसिना पौरख आफ्नै मिठो हुन्छ । मज्जाले पसिना बगाइयो भने ज्यानको फूर्ति फार्ति नै अर्कै हुन्छ । घर पालुवा आसे कुकुर मान्छेले देला र खाउँला भन्छ तर जंगलको चितुवा, सिंह, बाघले कसैको आस गर्दैनन् । तिनै बलिया बाङ्गा । हामी हाम्रा बाबु आमाको लाम्टो चुसेर रमाउन रत्तिन चाहन्छौं । जुम्रा जस्तै लुकी छिपी टाँसिएर बाबु आमाकै सम्पतिमा रमाउन रुचाउछौं । जुम्रा र सचेत मान्छेमा खास भिन्नता नै भएन । आफ्ना सन्ततीले चुसी चुसी घुसी घुसी बाबु आमालाई सम्पतिको हकाधिकारबाट च्यूत गर्न खोजेपछि नै इच्छापत्रको उदय भएको मान्नुपर्छ । बृद्धावस्थामा आफू भोकभोकै पेटमा सारङ्गी बजाएर बाँच्नु पर्ने दुर्दान्त अवस्थाबाट पार पाइन्छ कि भनेर सन्तानलाई अंश दिनै पर्ने बाध्यकारी नियम विपरित इच्छापत्र लौरोको रूपमा अधि सारिएको हो । आफ्ना उत्तराधिकारीले राम्रो गरे लौ त नि भनेर इच्छापत्र दिने नत्र जसले रेखदेख, हेर विचार, लालन पालन राम्रो गर्छ उसैको पोल्टामा इच्छापत्रको लिखत पर्ने परिपाटीको पादुर्भाव अहिलेको नियम कानुनले जन्माएको हुनाले इच्छापत्रको इतिहास ससक्कल अन्माएर तपाईं समक्ष पेश गरेको छु । मारे पाप पाले पुण्य । इति इच्छापत्र इतिहास । समर्पयामि ।

पोखरा–११, फूलबारी, कास्की
मोबाइल : ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x