अर्का काकाको आत्मकथा
‘मध्यरातमा किर्ते चिट्ठी’ । २०७३ मा प्रकाशन हुने एउटा सनसनीपूर्ण किताबको नाम हुनेछ । र, यो पनि आत्मवृत्तान्त नै हुनेछ । एकाएक लेखक बन्न लागेका ती जंगी अधिकारीको यो कृति पनि उनको पहिलो र सम्भवतस् अन्तिम हुनेछ । यो कृति हिट हुनेछ र लेखक सुपरहिट । नेताहरू, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री वा रक्षामन्त्रीहरू विमोचन समारोहमा सहभागी हुनेछन् । पत्रकारहरूको ओइरो लाग्नेछ । समाचार र समीक्षाको खात लाग्नेछ । बहुप्रतीक्षित त्यो किताबका लेखक हुनेछन्, पूर्वछाया प्रधानसेनापति कुलबहादुर काका । अहिले धमाधम आउँदै गरेका उनका अन्तर्वार्ताहरूले यही भन्छ ।
पूर्वप्रधानसेनापति रुकमांगद र छत्र काकाहरूका कृति बजारमा सुपरहिट भए । किताबले पूर्वप्रधानमन्त्रीदेखि आफ्नै सहकर्मी, सहयात्रीहरूको समेत उछितो काढे । सञ्चार माध्यममा उनीहरू एकाएक सेलिब्रिटी बने । अब पालो कुलु काकाकै हो । काकाले निकाल्ने घोषणा गरेको यो किताब यस वर्षको सबैभन्दा चर्चित र बढी बिक्री हुने किताबमा पर्नेछ । सायद कुनै ‘घोस्ट राइटर’ले लेख्न थाली पनि सक्यो होला । र, कुनै प्रकाशन संस्थाले अग्रिम रोयल्टी पनि प्रदान गरिसक्यो होला ।
काकाले तत्कालीन राष्ट्रपतिले अवकाश पाएर घर बसिसकेका रुकमांगदलाई आधारातमा किर्ते र रकमी चिट्ठी थमाएर प्रधानसेनापति बनाई आफूलाई सिध्याएको आरोप लगाएका छन् अन्तर्वार्तामा । एउटा सरकारी सिपाहीका यस्ता साहसिक भनाइलाई पुस्तकका रूपमा ल्याएपछि त्यो हिट नहुने कुरै छैन । तत्कालीन भारतीय अर्थमन्त्रीले हाम्रा राष्ट्रपतिलाई फोन गरेर कटवाल काकालाई ‘वो हमारा सेनापति है’ भनेको भनेर तपाईंले बताएको कुरा पुस्तकलाई हिट बनाउने अर्को चर्को मसला हुनेछ काका ।
कटवालको निर्देशनमा तपाईंको घर घेराउ गरिएको, घरबाट निस्कने गौँडाहरूमा तपाईंको निगरानी गर्न मान्छे खटाएको, मोटर र मोटरसाइकलले पिछा गरेको तर मार्लान् नै भन्ने नलागेको भन्ने तपाईंका सनसनीपूर्ण विचारलाई अझै बढाएर भयंकर रूपमा प्रस्तुत गर्नु होला । यसले पुस्तकलाई आगो बनाउनेछ । भएका कुरा मात्रै लेखेर कोही हिट भएको छैन । सुनेको, अनुमान गरेको, शंका लागेको इत्यादि कुरालाई हो नै भनेर ठोकेर लेख्नुपर्छ । कटवालजी टेन्सनमा आएपछि मुखबाट फिज निकाल्थे, अर्कै रूपमा देखिन्थे भनेर तपाईंले भन्नुभयो । त्यो रूपको विस्तृत वर्णन गर्नु होला । ठूूलो आवाज निकालेर कराउँथे अथवा रिस थाम्न नसकेपछि सुरुवालमा पिसाव फेर्थे भनेर ठोक्दिनोस् । सत्यता, सभ्यता र शालीनता मात्रै लेखेर किताब पठनीय हँुदैन अचेल । योचाहिँ लेख्नु हुँदैन कि, समाजले पचाउँदैन कि भनेर सोच्नुपर्ने कुनै विषय छैनन् काका । देशै टुक्र्याएर अर्कै देश खडा गर्छु भन्न पाइने समय हो यो । कटवाल र छत्र काकाहरूका कुनै यौन काण्ड छैनन् ? छैनन् भने रचना गरेर भए पनि ठोक्नूस् । पाठकको रौँ ठाडो ठाडो हुने गरी लेख्नूस् । सक्नुहुन्छ भने पञ्चायतकालमा वा द्वन्द्वकालमा सेनाले गरेका हत्या, हिंसा वा भ्रष्टाचार काण्डहरूको पर्दाफास गर्नूस् । तर, होस गर्नूस्, आफ्नो दोष देखाएर नलेख्नूस्, छत्र काकाहरूतिर फायर गर्नूस् । आत्मकथामा आफ्ना कमजोरी देखाइँदैन ।
अन्तमा, आफैँले भात खाएका थालमा आफैँले फोहोर गर्नु हुन्छ र भनेर नसोच्नूस् । आँखा चिम्लेर लेख्नूस् । तपाईंको किताबले बिक्रीको रेकर्ड राख्नेछ, तपाईं अमर लेखक बन्नुहुनेछ । अग्रिम शुभकामना ।
नेपाल, वैशाख १५, २०७३