साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महँगो उपहार

Nepal Telecom ad

आज मेरो जन्मदिन हो । बिहानैदेखि प्रतीक्षा गरिरहेको छु । कोही एकजना पनि जन्मदिनको बधाई दिन आएनन् । अर्थात् मलाई शुभकामना दिन ।

के मेरो एकजना पनि शुभचिन्तक रहेनछ त ? होइन, दिउँसोतिर एक परिचित आइपुगे । यिनलाई म काका भन्ने गर्छु । सम्पूर्ण टोल नै प्रेमपूर्वक काका भन्ने गर्छ । याने बदमास काका ।

किनभने बराबर जेल भ्रमण गरिरहन्छन् । केही दिनअघि नै जेलबाट छुटेका हुन् । सुनकाण्डमा समातिएका थिए । यस प्रकारका काण्डका अनुभवी हुन् र अर्धशताब्दी नाघिसकेका वृद्ध ।

जे होस्, मेरो जन्मदिनको घोर निराशाको बेलामा एकजना भए पनि बधाई प्रदान गर्न त आइपुगे । म सन्तुष्ट भएँ । एकजनाको बधाई भए पनि मेरा लागि पर्याप्त नै छ ।

बढी बधाई, शुभकामना, धन्यवाद आदि ग्रहण गर्ने मेरो हैसियत पनि छैन । यस्तो कुरा पचाउन मलाई गाह्रो हुन्छ । वास्तवमा मेरो पाचनशक्ति असाध्यै कमजोर टाइपको छ ।

मेरो जन्मदिनको बधाई दिन आउनुभएको हो काका ? उनीसँग झटपट बधाई लिने हतारमा मैले भनँे, कसरी थाहा पाउनुभयो ?

के भनेको तिमीले बाबु ? उनी अलमलिएका थिए ।
आज मेरो जन्मदिन हो । मैले मलिन स्वरमा भनेँ, के तपाई मलाई जन्मदिनको बधाई दिन आउनुभएको होइन ?
होइन बाबु, म त अर्कै कामले तिमीकहाँ आएको हुँ ।
के काम काका ?
मलाई मन्त्रीज्यूको जन्मदिनको उपलक्ष्यमा हुने रात्रिभोजको निमन्त्रणा आएको छ । बदमास काकाले प्रफुल्लताको आवाजमा भने, म उनलाई के उपहार दिउँ ?
मलाई के थाहा ? मेरो बोलीमा थोरै रोष थियो ।
तिमी हाम्रो टोलको एक जान्ने—बुझ्ने बुद्धिजीवी भएकोले सरसल्लाह लिन आएको हुँ बाबु ।

एकाएक मेरो मुड बिग्रियो । पर्याप्त मात्रामा । एक प्रकारले म आहत पनि भएँ । आफ्नो जन्मदिनमा कुनै अर्कैले बधाई पाउनु मेरा लागि सुखद हुने कुरा पनि भएन । म चुप लागेँ ।

क्या वाहियात संयोग ! एउटा लेखक र सरकारी मन्त्रीको जन्मदिन एकैदिन परेछ । (सालचाहिँ पक्कै फरक होला) । मेरो जन्मदिन व्यर्थै जाने भयो । यस्तोमा बधाई र शुभकामनाको के आशा गर्नु ? म निराश भएँ । मन्त्रीज्यूकहाँ जन्मदिनको बधाई दिनेहरूका ताँती लागेको हुनुपर्छ ।

अर्थात् बेइमान ठेकेदार, भ्रष्ट हाकिमहरू, पाखण्डी नेता, दुईनम्बरी व्यापारीहरू, नामुद तस्कर, राष्ट्रिय अन्तर्राष्ट्रिय कमिसनखोरहरू त्यहाँ मन्त्री क्वाटरको गेटमा क्युमा उभिएका होलान् ।

मकहाँ भने एकजना मात्र आए । त्यो पनि नक्कली बधाई दिने । असलमा बधाई दिन नै होइन । बदमास काका त मन्त्रीज्यूको जन्मदिनमा के उपहार दिने भनी मसँग सोध्न पो आएका हुन् ।

के उपहार दिनु बेस होला ? बदमास काकाले जोड दिएर भने, निकै नै वरिष्ठ खाले मन्त्री भएकाले उपहार कुनै चानचुने किसिमको हुनुभएन बाबु ।

आफ्नो जन्मदिनको दुर्दशा भएकोले मलाई रिस उठिरहेको थियो । तैपनि सामान्य शिष्टाचारको पालन गर्नैपर्यो । त्यसैले मैले विस्तारै सोधेँ, कस्तो खाले उपहार काका ?

अब कस्तो खाले उपहार भन्ने नि ! काकाले भने, मन्त्री जस्तालाई सस्तो खाले उपहार दिनुभएन । स्तरको ख्याल गर्नुपर्यो । त्यसैले महँगो खाले उपहार दिनुपर्यो । यति त गर्नैपर्यो नि !

त्यसो भए तपाई मन्त्रीज्यूलाई महँगी नै जन्मदिनको उपहारमा दिनोस् । मैले आफ्नो बधाइहीन जन्मदिनको झोंँकमा जवाफ दिएँ ।

यो ठट्टा भयो बाबु । उनले गम्भीर भएर भने, तिमीले म बूढोसँग यसरी ठट्टा गर्न मिल्छ ?

यो विलकुलै ठट्टा होइन काका । अब तपाई नै भन्नोस्, अहिले महँगीभन्दा महँगो यो देशमा अरु के छ ? मैले पनि गम्भीरताका साथ भनेँ, महँगी नै सबभन्दा महँगो उपहार हो । त्यसैले तपाई मन्त्रीज्यूलाई जन्मदिनको उपलक्ष्यमा महँगी नै उपहार दिनोस् । महँगीभन्दा महँगो उपहार अरु केही हुनसक्दैन ।

ठट्टा होइन भने ठिकै छ । काकाले प्रश्न गरे, तर महँगी कसरी उपहारमा दिने बाबु ?

यसलाई चलनचल्ती हिसाबले नै दिनोस् । मैले भनेँ, महँगीलाई राम्रो चिल्लो र बलियो विदेशी कागजमा बेर्नाेस् । यसरी चिटिक्क परेको महंँगीलाई मन्त्रीज्यूको हातमा दिएर भन्नोस्– ह्यापी बर्थडे टु यु…।

महँगी उपहारमा लिनुहोला त मन्त्रीज्यूले ? मैले फेरि ठट्टा गरिरहेको त छैन भन्ने आशंकाले बदमास काकाले मेरो आँखामा हेरे ।

किन लिनुहुन्न ? मैले भनेँ, महँगीको आफ्नै खाले उपयोग छ । ठूला बडाहरू दामी चिजबिजहरूलाई बैठक कोठामा सजाएर राख्ने गर्छन् । महँगी पनि यही कोटीमा आउँछ । अझ महँगी त सबभन्दा महंगो उपहार भयो । यसले मन्त्रीज्यूको बैठक कोठाको शोभा नै अर्काे हुनेछ । एकदमै शानदार । मन्त्रीज्यूलाई महँगी नै उपहार दिनोस् काका ।
आखिरमा मेरो तर्कले बदमास काका सन्तुष्ट भए । उनलाई मेरो महँगी उपहारमा दिने आइडिया निकै उपयुक्त लाग्यो । त्यसैले उनी मन्त्रीज्यूलाई महँगी जन्मदिनको उपहारमा दिन हिँडे ।

म अहिलेसम्म बधाइहीन स्थितिमा छु । अबेर रात भइसक्यो । मेरो जन्मदिनको बधाई दिन कोही पनि आएका छैनन् । आआफ्नो हैसियतको कुरो हो । उता मन्त्रीज्यूलाई जन्मदिनको उपहार लिँंदैमा फुर्सद छैन र यता म यस्तो स्थितिमा छु । अर्थात बधाई शून्यतामा । जन्मदिन एकैदिनमा परेछ । के गर्ने ?

कान्तिपुर, वैशाख १८, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x