फित्काैली डटकमकाङ्ग्रेस–एमाले सरकारे ब्रतकथा प्रथमोध्याय
ओलीजी आज्ञा गर्नुहुन्छ ए कोइराला मुनि ! तपाईं पदमा माथि भए पनि मभन्दा मुनि नै हुनुहुन्छ । किन कि मेरो इसारा बिना तपाईंले दायाँ बायाँ गर्न पाउनुहुने छैन । तल भने तल, माथि भने माथि, सानेपा भने सानेपा, बालुवाटार भने बालुवाटार, यता भने यता अनि उता भने उता गर्नुपर्नेछ । आज तपाईंले राष्ट्रपति कार्यालयमा रामवरण यादवको हातबाट सपथ खाए पनि बेलुका फोनबाट मेरो हातबाट सपथ खानुपर्नेछ । गृहमन्त्रीमा विवाद नगरी तपाईंले खुरुखुरु मैले भने बमोजिमको मन्त्रिमन्डल बनाउनु पर्नेछ । ठ्याक्कै छ महिना सरकार चलाएपछि एक्कासी राजीनामा दिएर तपाईंले मलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुपर्नेछ । सरकारले गर्ने हरेक निर्णयको पूर्व जानकारी मलाई हुनुपर्नेछ अन्यथा ओलीले शब्दको गोलीले तुरुन्तै तपाईंको सेतो दारीको झाडीमा आगो सल्काउनेछ । यसप्रकार कोइराला सरकार छाया हुनुपर्नेछ भने ओली छाया बनाउने घाम हुनेछ । रुख छायाको प्रतीक हो भने सूर्य छायाको निमार्ता । यस्ता यस्ता तुक्काको अर्थ पनि तपाइले बुझिराख्नु पर्नेछ । विदेश भ्रमण जानेदेखि सौचालय भ्रमण जानेसम्म अनि रिसी धमलादेखि देशी हमला कर्ता जोसँग भेटवार्ता गरेको पनि मलाई जानकारी हुनुपर्नेछ । हैन भने ओलीको मुखबाट निस्कने गोली हरेक क्षण तपाईंको कानमा प्रहार हुनेछ र तपाईंको दिमाग खराब हुनेछ ।
हे कोइराला मुनि ! ओलीजी फेरि पनि आज्ञा गर्नुहुन्छ– उप्रान्त खिरारे सरकारले गरेका काम कार्बाहीमा चित्त नबुझे त्यसलाई उल्टाउनु पल्टाउनु गुल्टाउनु के के गर्ने होे गर्न सक्नुहुनेछ । तर ओलीको अनुमति लिन भुल्न पाइने छैन । यो सरकारको श्रृष्टिकर्ता परम परमेश्वर श्री ओलीको हरेक बिहान जनैमा पानी अर्चेर सन्जे अर्थात गायत्रीमन्त्र जपन गर्नुपर्नेछ । निष्ठा भक्तिभावपूर्वक सरकारका श्रृष्टिकर्ताको जयजय गान सहित पूजा अर्चना गर्नुपर्नेछ । बालुवाटारमा मेरो जानकारी बिना कुनै भोज भत्तेरको आयोजना गरे मेरो षडयन्त्रको रुपमा दर्ज हुनेछ भने अनुमतिमा गरे मेरो पूजा समान हुनेछ । हे कोइराला मुनि ।
ओलीजी यसप्रकार फेरि पनि आज्ञा गर्नुहुन्छ– हलीउडको हिरो बन्ने लक्ष्य बोकेको मान्छे बुढेसकालमा नेपालमै हिरो बनेपछि च्वाँक च्वाँक हिरोइनहरू पछि लाग्न सक्छन् । अविवाहित बुढो कुमारसँग बिहे गर्न तरुनीहरूको तँछाड मछाड भयो भन्दैमा ओली–आज्ञा बिना बिहे गर्न पाउनु हुनेछैन । यदि बिहे गर्न खोज्नेहरूको हुलले बालुवाटार बाहिर नाराबाजी ग¥यो भने स्थितिलाई नियन्त्रणमा लिन लौरो, अश्रुग्यास र हात हातमा इँटाधारी सयौ दङ्गापुलिस खटाउनु पर्नेछ । त्यति गर्दा पनि मानेन् भने उनीहरूलाई पानीको फोहोरा हानी त्यहाँबाट भगाइदिनु पर्नेछ अन्यथा हाम्रा पार्टीका रविन्द्र श्रेष्ठ कान्ड दोहोरियो भने दिमाग खराब हुनेछ ।
हे कोइराला मुनि, ओलीजी फेरि आज्ञा गर्नुहुन्छ– यसपालीको भ्यालेटाइन डे पनि आउन लाग्यो त्यस दिन तपाईंलेले मैले एक अर्कालाई भ्यालेन्टाइन वीस गर्नुपर्छ । केटा केटाले पनि के भ्यालेन्टाइन वीस गर्नु भनेर ठीस कुरा गर्नुभयो भने मलाई रिस उठ्छ, अझ महादेवको झैं रिस उठ्यो भने तपाईंको सरकार एक महिनामै पिस पिस अर्थात टुक्रा टुक्रा हुन्छ । त्यसैले भ्यालेन्टाइन डेका लागि तपाईं पनि मेरो लागि एउटा रातो गुलाफको फूल किन्नुहोला, म पनि तपाईंको लागि एउटा हाँसको फुल किनिदिनेछु । किन कि बुढेसकालमा हाँसको फूलले तपाईंलाई तागत प्रदान गर्नेछ । इतिश्री महात्म्य कोइराला–ओली संवादे श्री काङ्ग्रे–एमाले सरकारे ब्रतकथा प्रथमोध्याय, स्वाहा…. ।
०७० माघ २८
बानेश्वर
Subscribe
Login
0 Comments
Oldest






































