साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेको शालिग्राम

Nepal Telecom ad

विश्वमै एक मात्र हिन्दु धर्मावलम्बीहरूका आराध्य देव पशुपतिनाथ वन विहारबाट थकित भएर पार्वतीसँग आनन्द विहार गर्न कोठाभित्र पसेपछि पार्वतीको रूप लावण्यमा लोभिएको साँढे शिवजीपछि मेरो पालो अवश्य आउला भन्ने लोभमा आफ्ना तिन बिसौलीका शालिग्राम भक्तजनहरूलाई देखाएर निर्लज्ज अनादि कालदेखि आजसम्म पशुपतिको द्वारमा बसिरहेछ । आजसम्म बिचरा साँढेको अधुरो सपना पुरा हुन सकेको छैन ।

आराध्य देव पशुपतिका केही चेलाहरूले यो सुइँको पाएर छ सयको हुल लिएर आजभन्दा करिब आठसय दिन अगाडि त्यही नक्कल गर्न थाले । सहर पस्न कसैले गुलिया भाषण, कसैले मिठा आश्वासन, कसैले कुटिल बोली, कसैले डरलाग्दा गोली, कसैले झोला भरिभरि सोली बाँडेर लाटासोझा निरीह प्राणीका सुन्दर सपनामाथि नीच स्वार्थले कुल्चँदै सिंहदरबार छिरे । अरूले देख्दा फुटे जस्तो गर्ने, आफ्नाले देख्दा जुटे जस्तो गर्ने तर विदेशी डलर देख्नासाथ लम्पसार पर्ने आस्था र विश्वासको बेवास्ता गर्ने रङका आधारमा, ढङ्गका आधारमा, नाकका आधारमा, धाकका आधारमा बोलीका आधारमा, कसैको लोलीका आधारमा डुक्रन थाले । कहिले सँगै डुक्रिने, कहिले टुक्रा टुक्रा भएर टुक्रिने यी साँढेहरू एक चोक्टा मासुका निम्ति निरन्तर लुछाचुँडी गर्न लागे ।

आउला कि आउला, ल्याउला कि ल्याउला, ब्याउला कि ब्याउला भन्दै प्रतीक्षामा बसेका गोठालाहरूले हरेक साँढेहरूलाई छ्याइ छ्याइ भनिरहे, लाई लाई भनिरहे तर सात सय तिस दिनसम्म पनि नब्याएर थारै रहेपछि अब एक हजार पन्चानब्बे दिनको समय माग्न थालेपछि पो सोझा गोठाला जिल्लिए अनि अनुसन्धानबाट पत्ता लगाए सबै साँढे नपुङ्सक पो हरेछन् । उनीहरूले आफ्नो नपुङ्सकता लुकाउन संविधान नामकी चेलीको गला दबाएछन् । गोठालाले शङ्का गर्लान् भनेर साँढेहरू कहिले सदनमा जुट्दा रहेछन्, कहिले सिसा झैँ टुक्रा टुक्रा भएर फुट्दा रहेछन् । यसरी साँढेको जुधाई निरन्तर चल्न थालेपछि सडकमा सोझा निमुखा निरीह बाच्छाहरू मिचिँदा रहेछन्, गरिबी, भोकमरी, अशिक्षा, बाढी पहिरो आदिमा हेर्दाहेर्दै कैयौँ बाच्छाहरू सदाका लागि हराउँदा रहेछन् तर साँढेहरू सदनमा पुच्छर उचाल्दै आफ्ना शालिग्राम निर्लज्ज दुनियाँलाई देखाएर डुक्रिरहेछन् । हरियो घाँस देखे मिले मिले जस्तो गर्छन् । कर्तव्यको त्रासदेखि टुट्न थाल्छन्, फुट्न थाल्छन् अनि पशुपतिलाई कसैले पशु मात्र अनि कसैले पति मात्र बनाएर भोग गर्न लोभी स्याल साँढेका पछि ¥याल चुहाउँदै हिँडे झैँ स्वार्थको सिँगाने खेलमा पटक पटक डुक्रिरहन्छन् । भित्र पुगे पुगे जस्तो गर्छन् अनि फुत्त बाहिर निस्कन्छन्, पाँच बल्ड्याङ खाँदा पनि चित्त नबुझेर फेरि निर्लज्ज पुच्छर उचालेर सबैलाई शालीग्राम देखाउँदै डुक्रिन्छन् ।

आखिर अक्षम, अदूरदर्शी र अविवेकी यी साँढेहरू मिलेर नेपाल नामको एउटा सुन्दर केक टुक्रा टुक्रा पारेर काट्दै केवल एक दिनका लागि फगत एक दिनका लागि ह्याप्पी वर्थ डे मनाउँदै छन् ।

झापा, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x