साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रे आविष्कार

Nepal Telecom ad

मानिसहरू भन्छन्, ‘हाम्रो देशमा वर्षैभरि गाईजात्रा हुन्छ ।’ उसो भए कम्तीमा यो साँच्चिकैको गाईजात्रामा हामी राम्रैराम्रा कुरा मात्र गरौँ न त ! प्रगतिका, उन्नतिका, विकासका, नयाँ–नयाँ आविष्कार अनुसन्धानका । गत गाव (गाईजात्रा वर्ष)मा पनि त्यस्ता थुप्रै गौरवशाली कर्म सम्पन्न भएका छन् र कतिपय क्षेत्रमा नौला नौला आविष्कार पनि भएका छन् । सरकार र नेताहरूकै मात्र कति बखान गर्नु, हाम्रा व्यापारी–व्यवसायीहरूका सुकर्म र आविष्कारहरूका चर्चा गरौँ यसपालि ।

विगत वर्षहरूमा फाट्टफुट्ट रूपमा डर्टि्फिकेटधारी चिकित्सकहरूले विभिन्न क्लिनिक र अस्पतालमा बिरामीहरूका आन्द्राभुँडी चिर्ने, हातमा कैँची बोकेर पैसा टिप्न पाठेघरभित्र छिर्ने र फर्किंदा भित्रै कैँची र खैनीका खोलसमेत छाडेर फर्किने गरेका अद्भुत उपचार पद्धतिबारे हामी सुन्थ्यौँ । त्यस्तो दक्ष जनशक्ति छिमेकी देशबाट आपूर्ति हुन्थ्यो । तर, हामी त्यस्ता प्रतिभाशाली चिकित्सकहरूमा आत्मनिर्भर हुन थालेछौँ भन्ने कुरा गत वर्ष पुलिस प्रशासनले अनुसन्धान गरेर पत्ता लगायो । बकाइदा हाम्रा सरकारी अस्पतालमै त्यस्ता दक्ष नेपाली चिकित्सकहरू नै कैयौँको संख्यामा भेटिए । गत गावको यो एक महत्त्वपूर्ण उपलब्धि थियो ।

मित्रराष्ट्रबाट त्यस्ता डर्टि्फिकेट ल्याएर सरकारी नोकरी, मास्टरी वा इन्जिनियरिङ गर्ने जनशक्तिमा हामी पहिल्यैदेखि आत्मनिर्भर छौँ । तर, यो वर्षको नयाँ उपलब्धिले हामी सारा नेपालीको छाती फुलेर ढक्क भयो । त्यस्तै प्रतिभाले आकाशमा विमान उडाइरहेको फेला र्पयो । ल हेर्नोस्, हाम्रो प्रगतिले कसरी आकाश छोइसक्यो ।

कुहिएका मिठाईबाट नयाँ ब्रान्ड र नयाँ स्वादका नयाँ मिठाई आविष्कार गरेको कुरा पुरानो भइसक्यो । मरेका जीवजन्तुका हाडखोर, छाला, थोत्रा जुत्ता र गनाउने मोजा आदिबाट मदिराको आविष्कार गरेर बजारमा बिक्री हुन थालेको पनि धेरै भइसक्यो । सरकारी तथ्यांकले के भन्छ कुन्नि, मोजा उत्पादित मदिरामा हामी आत्मनिर्भर भयौँ होला । यसै क्रममा यस वर्ष दिसा मिसिएको मिनरल वाटरले बजार भरिएको तथ्य बाहिर आयो । यस्तो शक्तिशाली पेयको आविष्कार गर्ने नेपाली व्यापारीलाई नोबेल पुरस्कार आइलाग्ने सम्भावना बढेर गयो ।

ढक–तराजु कुच्याएर आलु बेचिरहेको बेला, घिउ बनाएर बजारमा पिँडालु खेपिरहेको बेला, राजमार्गहरूमा यात्रुहरूलाई पाइखानाजस्तो खाना खुवाइरहेका बेला बजार अनुगमन गर्न आउने सरकारी टोलीलाई लखेट्ने, समातेर लुगा फुकालिदिने, सटरमा थुनेर भकुर्ने आदि गथ्र्यौं पहिला पहिला ।

हामीले तरकारी बजारमा यसपालि प्रतिरोधको नयाँ शैली आविष्कार र्गयौँ । त्यस्ता टोलीलाई ढुंगामुढा गर्नु सट्टा तरकारीले नै हानेर लखेट्यौँ । काँक्रा, फर्सी, कटहर आदिको प्रहारद्वारा तिनीहरूलाई घाइते बनाइदियौँ । कस्तो अनौठो आविष्कार ! यस्तो अद्वितीय आविष्कार ! विदेशीहरूले थाहा पाए भने चोरेर आफ्नो बनाउँछन् । यस नयाँ आविष्कारको कपीराइट हामीले तुरुन्तै सुरक्षित गरिहाल्नुपर्छ ।
मिटर भाँचेर ट्याक्सीलाई दोब्बर भाडा उठ्ने भाँडोमा परिणत गरेको त उहिल्यैदेखि हो । तर, यस वर्ष लुटेरा मिसिनको आविष्कारद्वारा पेट्रोल पम्पलाई पैसा लुट्ने भाँडो बनाउन सकेको ठूलो उपलब्धि हामीलाई प्राप्त भयो ।

यस्ता थुप्रै आविष्कार र उपलब्धि हामीले प्राप्त गरेका छौँ । गाईजात्रामा कति नकारात्मक कुरा मात्र गर्नु, कहिलेकाहीँ यस्ता सकारात्मक उपलब्धिका कुरा पनि गरौँ न !

नेपाल, भाद्र १०, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x