बद्रीप्रसाद दाहाल ‘भस्मासुर’सर्कार पुज्ने गरोस् ??
स्वामी चुन्निनु भो प्रदेश तहमा, अर्धाङ्गिनी सङ्घमा
सम्धी पुत्रबधू जुवाइँ चुनिए, सङ्घीयता– तन्त्रमा । {{read_more}}
स्वास्नी छिन् जनजाति आर्यन दुला, कस्तो छ सङ्घीयता
छोरी चाकर औ कुवेर डनमै, नाच्दैछ सङ्घीयता ।। १ ।।
प्रज्ञा देन फिटिक्क छैन जसको ! त्यै हुन्छ रे बौद्धिक
जो कुख्यात भयो उही मुलुकको, प्रख्यात रे मौलिक ।
छानिन्छन् त यिनै सभा–सदनमा, संस्थानमा दूतमा
पैसामा पद बेच्न किन्न सकिने, हाम्रो प्रजातन्त्रमा ।। २ ।।
घाँडो भो गलगाँडझैँ गण–प्रथा, हात्ती छ संघीयता
पाल्नै मस्किल धान्न नै जटिल भो, भत्काउँछन् एकता ।
सानो देश असंख्य सांसद सयौँ, मन्त्री बनाई यहाँ
मागी राष्ट्र चलाउनै सकस भो, हाम्रो प्रजातन्त्रमा ।। ३ ।।
खेती मासिन गै युवागण हरे ! खाडी मलाया पसे
कार्खाना जति लोप भो मुलुकमा, पातालमा नै खसे ।
थप्दैछन् जनमा करै कर अहो ! तिर्छन् कसोरी यहाँ
भत्ता वेतनभक्त नायक बढे, हाम्रो प्रजातन्त्रमा ।। ४ ।।
दुर्गन्धी पथ जीर्ण मोटर कुदी, उड्छन् धुवाँ–धूषर
रोगै रोग नयाँ खपेर जनता, बाँच्नै प¥यो मुस्किल ।
बण्डावाद चल्यो सुशासन ढल्यो, क्यै छैन उत्पादन
धान्ला देश कसोरी ? अस्थिर सधैँ, दाता र विप्रेषण ।। ५ ।।
नौलो देश बनाउने सुसपना, नारा र झारा हुँदै–
घोक्रिन्छन् कि ? नयाँ फिजीकरणले, आमा पिरिन्छिन् रुँदै ।
हा ! नामर्द कपूत सन्तति भई, कालो टिका लाग्छ कि ?
यो संघीय कडा दशा–ग्रह बनी, सङ्कष्टमा जाक्छ कि ? ।। ६ ।।
प्रश्नै प्रश्न खडा भयो मुलुकमा, हार्दैछ सत्याग्रह
पञ्चैशील तटस्थ नीति पथनै, भत्कन्छझैँ भो अब ।
साँच्चै यो सरकार हो यदि भने, दर्कार बुझ्ने गरोस् ।
नेपाली जन(भावना हृदयले, सर्कार पुज्ने गरोस् ।। ७ ।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































