रुद्र ज्ञवालीछ थान ठोक्तक
आगोजस्तै च्वास्स पोल्नेहरूसङ्ग सकिँदैन आकाश पाताल नै डोल्नेहरूसङ्ग सकिँदैन जवाफ भेटिन्छ खोज्न जाने मौनतामा पनि मुखमा जे आयो त्यै बोल्नेहरूसङ्ग सकिँदैन ।

१.
नङ्ग्राले कोतरेर पहाड ढाल्छु नसोचे हुन्छ
एक्लै अजङ्गको पर्वत उचाल्छु नसोचे हुन्छ
फलाम या धातु भइदिएको भए अर्कै कुरा
भट्टिमा तताएर पत्थर पगाल्छु नसोचे हुन्छ ।
२.
गाउँ प्यारो लाग्छ भन्छ सहरमा बस्छ
अङ्कमाल गरौँ आऊ भन्दै छुरा धस्छ
छट्टु अवसरवादीका के कुरा गर्नु र खै
देशभक्तिका उपदेश दिन्छ मुग्लान पस्छ ।
३.
यायावरलाई परिवार या कूलको के अर्थ भयो
नदी खोला बिना फड्के र पुलको के अर्थ भयो
मूर्ख बनाइएका छौँ जो सधै नेता र सरकारबाटै
हामीलाई जैरे त्यो अप्रील फूलको के अर्थ भयो ?
४.
किन पटक पटक अस्तित्वको सतबीज छर्नुपर्छ
आफ्नै आँखाबाट समेत आँसु झरेजस्तै झर्नुपर्छ
कतिसम्म भने सरकारले दिएको पेन्सन थाप्न पनि
छ-छ महिनामा ज्युँदै छु भन्ने प्रमाण पेश गर्नुपर्छ ।
५.
तीन दुने पाँच भिखमा पाएको हिसाब यस्तै हुन्छ
कुनै पनि युगमा सत्ताको कापी किताब यस्तै हुन्छ
निर्धाहरू लुटिन्छन् पोसिन्छन् माफिया दलालहरू
बन्दुक र बारूदको फैसला या निसाफ यस्तै हुन्छ ।
६.
आगोजस्तै च्वास्स पोल्नेहरूसङ्ग सकिँदैन
आकाश पाताल नै डोल्नेहरूसङ्ग सकिँदैन
जवाफ भेटिन्छ खोज्न जाने मौनतामा पनि
मुखमा जे आयो त्यै बोल्नेहरूसङ्ग सकिँदैन ।
०००
Subscribe
Login
0 Comments
Oldest





































