थप्पडको गुन्जन
स्वार्थी र पाखण्डी !! सहानुभूतिको भोट लिन श्रद्धाञ्जलीको बहानामा उपस्थित भएर देखावटी समवेदना देखाउँछौ । हस्पिटलमा औषधी र अक्सिजन नपाएर जनता मरिरहेको टुलुटुलु हेर्न लाज लागेन ।
विश्वव्यापी महामारीले गाउँशहर सबैतिर नराम्ररी गाँजेको थियो । यस्तै परिस्थितिमा गाउँका युवा उपेन्द्र पनि महामारीको चपेटामा परे।सरकारी निषेधाज्ञाको कठिन समयमा जसोतसो उनलाई हस्पिटल पुर्याइयो ।
हस्पिटलमा शैयाको अभावले उनको उपचार भुईंकै बेडमा राखेर गरियो । उनको स्वास्थ झनझन बिग्रदेैगयो ।
डा. रमाकान्त उपेन्द्रका आफन्तलाई भन्दैथिए ।
“तपाईंहरूको बिरामीलाई तत्काल अक्सिजन दिनुपर्छ । हामीसँग अक्सिजन मौज्दात छैन । तुरुन्त अन्यत्रबाट व्यवस्था गर्नुहोला ।” डाक्टरले लाचारी जनाए ।
उपेन्द्रका आफन्त साथीभाइ अक्सिजनको खोजिमा लागे । संघसंस्था र चिनेजानेका नेतासँग हारगुहार गरे पार लागेन ।
आखिर उपेन्द्रको मृत्यु भयो ।
कोभिडबाट हुने मृतकलाई सिधै घाटसम्म लगिदिने व्यवस्था अनुसार उपेन्द्रको पार्थिव शरीरलाई पनि कर्मचारीद्वारा घाटसम्म पुर्याइयो ।
घाटमा मलामीहरू परपर बसेका थिए । माम्छे- मान्छेको स्पर्श विष बनेको थिया े। सेतो एप्रोनले ढाकिएका मानिसबाट मृतदेहको दाहसंस्कार गरियो । आफन्तले छुनसम्म पानन् ।
उपेन्द्रको देहावसानको चौथो दिन चिल्लो गाडीमा झण्डा फहराउँदै पार्टीको तर्फबाट समवेदना व्यक्त गर्न एकमन्त्री आए ।
उपस्थित मानिसका सामुन्ने मन्त्रीले भाषण छाँट्न थाले । भीडमा एकजोशिली अधवैसे नारीलाई मन्त्रीको झुटो भाषण सुनेर खपिनसक्नु भयो ।
मन्त्रीका सामुन्ने खडाभइन् र भाषण छाँट्दैगरेका मन्त्रीलाई पटापट थप्पड हानिन् ।
चारैदिशा छिचोलेर थप्पडको गुन्जन मखमलीसत्ताको मेहफिलसम्मै गुन्जियो ।
उनी गर्जना गर्दैथिइन् !
“स्वार्थी र पाखण्डी !! सहानुभूतिको भोट लिन श्रद्धाञ्जलीको बहानामा उपस्थित भएर देखावटी समवेदना देखाउँछौ । हस्पिटलमा औषधी र अक्सिजन नपाएर जनता मरिरहेको टुलुटुलु हेर्न लाज लागेन । गरीबको आँसुमा पौडीखेलेर सधैं लासमाथि घृणित राजनीति गर्छौ। सुशासन के हो कहिल्यै नसिक्ने आडम्बरी थेत्तरा नेता ….।”
छेउमा मन्त्रीका अङ्गरक्षक आलटाल गरेर मनोसम्वाद गर्दैथिए ।
“आँटी रहिछिन् ! एककिसिमले त महिलाले ठिकै गरिन् ।”
०००
दमक, झापा