प्रतिक्रिया
कमरेडले छेउमा बसेका प्रजातन्त्रवादी नेतातिर पुलुक्क हेरेर, पत्रकारको प्रश्नको टेडोमेडो जवाफ दिए । जुलुसमा सहभागी जनताको प्रतिक्रिया थियो । “यी नेताहरू त शहीदको सपना कुल्चने बाघको छाला ओढेका छद्मवेशी कुटिल स्याल पो निस्किए...।”
नेताको भाषणमा जनता सम्मोहित हुने वाकचातुर्यको जादू थियो । गरीब र बेरोजगार जनतालाई कसरी उत्तेजित गर्न सकिन्छ उनलाई राम्ररी थाहा थियो । नेता जनताको मनोभावसँग खेल्न माहिर थिए ।
जनताको पिठ्युँमा चढेर नेता सत्तामा पुगे । जनताको काँधमा बन्दुक राखेर पुरानो सत्ता ढाले । पार्टी सत्तारुढ भएर दुईदसक गुज्रिएको खुशियालीमा संयुक्त आमसभाको आयोजना भयो ।
नेताहरू पालैपालो बोलिरहेका थिए । एक कम्युनिस्ट नेता कुर्लिए ।
भाषणमा उही पुरानै कुरा थिए ।
“अब हामी पुँजीवादी व्यवस्थालाई इतिहासको चिहानमा पुर्ने छौं । शिक्षा स्वास्थ रोजगारीमा सबै जनताको समान हक स्थापित हुनेछ । विश्वका विस्तारवादी र साम्राज्यवादी शक्तिलाई तह लगाउने छौं । गरीब र श्रमजिवीको राज्यसत्ता बनाउने छौँ । देशलाई छिट्टै सिंगापुर र स्वीट्जरल्यान्ड बनाउने छौं… ।”
भीडमा खासखुस सुरु भयो ।
“यो नेताको छोरो त पुँजीवादी देश अमेरिकाको महंगो कलेजमा पढ्दै छ त ।”
अर्कोले भन्यो “ऊ ! त्यो अर्को प्रजातन्त्रवादी नेताकी छोरी बेलायतमा पढ्दैछे …।”
भाषण सकिएपछि पत्रकारले ती कम्युनिस्ट नेतालाई प्रश्न गरे ।
“तपाईंका छोराछोरी कहाँ पढ्छन्, नेताज्यू ?”
कमरेडले छेउमा बसेका प्रजातन्त्रवादी नेतातिर पुलुक्क हेरेर, पत्रकारको प्रश्नको टेडोमेडो जवाफ दिए ।
जुलुसमा सहभागी जनताको प्रतिक्रिया थियो ।
“यी नेताहरू त शहीदको सपना कुल्चने बाघको छाला ओढेका छद्मवेशी कुटिल स्याल पो निस्किए…।”
०००
दमक, झापा