बाबुराम न्यौपाने ‘उत्स’खान्दानी मान्छे
श्रीमतीले मलाई घुर्दै सभ्यताको मर्ममा चोटलाग्ने गरि कटाक्ष गरिन् । “यिनीहरू हजुरभन्दा धेरै पढेलेखेका शिक्षित र सभ्य परिवारका खान्दानी मान्छे हुन्, हजुरलाई के थाहा ? आधुनिकता र स्वतन्त्रताको गुह्य कुरा...।”

बाहिर झमझम पानी परिरहेको थियो।म अध्यायन कोठामा देवकोटाको सुलोचना महाकाव्य पढिरहेको थिएँ । श्रीमती बढो प्रफुल्ल मुद्रामा मेरो छेउमा आइन् ।
“पतिदेव कति किताबको कीरा बन्ने हो।यसो हामीलाई पनि समय मिल्छ कि ?”
मैले किताब बन्द गरेँ ।
“लु म फुर्सदमा छु, भन के पर्यो त्यस्तो !!”
उनले सामाजिक सञ्जालमा पोस्ट भएका केही तस्बिरहरू देखाउँदै भनिन् ।
“आधुनिक समाज कति अगि बढिसक्यो । हाम्रो पुरातन सोच भने जहाँको तहीँ छ । हाम्री छोरीको विवाहमा पनि यस्तै गर्नुपर्छ ।लु यो हेर्नू त !!”
एउटा पोस्टमा विवाहमा भएको फजुल खर्चको तामझामका तस्बिरहरू थिए । साथै सम्धिनी भेटका लागि सजाइएको सामानमा दर्जनौं किसिमका मिठाइ, गरगहनाको सेट, खानेकुराका परिकार, महङ्गा कपडाका थान आदि सजाइएका थिए ।
अर्को पोस्टमा तीजपर्वको बहानामा गरगहनाको भद्दा पहिरन सँगसँगै महङ्गा होटल, रिसोर्टमा गरिएका अस्वस्थ्यकर खानपिन र समाजमा विकृति फैलाउँने गीतमा लयहीन नृत्य गर्दैगरेका उत्ताउला दृश्यहरू थिए ।
मैले मेरी सामाजिक अगुवा कहलिएकी शिक्षित श्रीमतीको अनुहारमा नियाल्दै भनेँ ।
“प्रिया !! संस्कार, संस्कृति र चाडपर्वका आफ्नै मौलिक विशिष्ट तत्व र विशेषताहरू हुन्छन् । यो त सामाजिक सञ्जालको दुरुपयोग गरेर हुनेखाने सफेदपोसहरूले समाज र सभ्यतालाई विकृत बनाउने गरि प्रदर्शन गरेको देखावटी रवाफ पो हो त । यस्तो पाराले त हाम्रा चाडपर्व, संस्कार संस्कृतिका राम्रा र रमाइला पक्षहरूको जगनै भत्कन्छ । गर्विलो परम्परा मेटिन्छ । सामाजिक सद्भाव र सहिष्णुतामा बिचलन ल्याउँछ…..।”
मेरो कुरा सकिएकै थिएन ।
श्रीमतीले मलाई घुर्दै सभ्यताको मर्ममा चोटलाग्ने गरि कटाक्ष गरिन् ।
“यिनीहरू हजुरभन्दा धेरै पढेलेखेका शिक्षित र सभ्य परिवारका खान्दानी मान्छे हुन्, हजुरलाई के थाहा ? आधुनिकता र स्वतन्त्रताको गुह्य कुरा…।”
अब मसँग भन्नुपर्ने कुनै जवाफ र तर्क थिएन ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































