फित्काैली डटकमपत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं स्मृति दिवस
काव्य घर नेपालकी महासचिव रेणुका भट्टराईले बी के पाल्पाली स्मृति पत्रकारिता तथा साहित्य सम्मान र पुरस्कारको स्थापना गरिएको र उपयुक्त व्यक्तित्वलाई संस्थाको वार्षिक कार्यक्रममा प्रदान गरिने जानकारी गराउनु भएको थियो ।

काठमाडाैं, ०८० असोज १६ । काव्य घर नेपालको साहित्य विभाग पेरोल काव्य घरको आयोजनामा कुशल पत्रकार तथा प्रशिद्ध साहित्यकार एवं सम्पादक बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति दिवस अनामनगर स्थित सामाजिक विकाश समाजको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगत् उपाध्याय ‘प्रेक्षित’को प्रमुख आतिथ्यता तथा वरिष्ठ पत्रकार गोपाल थपलियाको सभापतित्वमा एवं नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख निवर्तमान प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल तथा समालोचक प्रा.डा.सावित्री मल्ल कक्षपति, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, फित्कौली डट.कम.का सम्पादक नरनाथ लुइँटेल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं कौशिकी मासिकका सम्पादक चेतनाथ धमला, नेपाल पत्रकार महासंघका सदस्य शान्तराम बिडारी लगायतको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
राष्ट्रिय गान तथा स्वर्गीय पत्रकार एवं साहित्यकार बी.के.पाल्पालीको फोटोमा माल्यार्पण गरेर शुरुआत गरिएको कार्यक्रममा साहित्यकार अन्जना पौडेलले स्वागत मन्तव्यका क्रममा पाल्पालीका कृतित्व र व्यक्तित्वको बारेमा जति वर्णन गरे पनि कमी हुन्छ भन्दै साहित्यकारको साहित्यिक कर्मलाई जीवन्त राख्न यस्ता कार्यक्रमको आयोजना गरिनु फलदायी हुने बिचार व्यक्त गरेकी थिइन् ।
यसैक्रममा नोबेल साकोसका संस्थापक तथा साहित्यकार राजनप्रसाद न्यौपानेले बी.के. पाल्पाली आफ्ना कृतिमार्फत सदैव जीवित छन् भन्दै पाल्पालीको जीवनी बारे प्रष्ट पारेका थिए ।

मन्तव्यका क्रममा प्राज्ञ सदस्य तथा कौशिकी मासिकका सम्पादक चेतनाथ धमलाले पाल्पालीसंगको सहयात्रा लगायत साहित्यिक गतिविधिमा विशेष विवेचनाका क्रमलाई स्मरण गरे । दिव्य गिरीले हाइकु लेखनमा पाल्पालीकाे याेगदान विषयमा विवेचना गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सचिव गोविन्द चौलागाईँ र सदस्य शान्तराम विडारीले पत्रकार पाल्पालीको पत्रकारिताको बारेमा बोल्दै पत्रकार पाल्पालीको अभाव खड्किएको बताउनु भयो । साथै उहाँहरुले पत्रकार महासंघको अभियानबाट पाल्पालीलाई थप नौ वर्ष बचाउँन सफल भएको समेत बताउनु भयो ।
महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले सिंगो युगको आवाज बुलन्द गर्ने सामर्थ्य राख्ने पाल्पाली बहुमुखी प्रतिभाका धनी रहेको बताउँदै आफूले अनुसन्धान गरेका चारसय भन्दा बढि महाकाव्यहरूका तुलनामा उनका कृति उत्कृष्ट सय भित्र रहेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगत् उपाध्याय ‘प्रेक्षित’ ले मानिस उमेरले होइन कर्म र बिचारले स्तुत्य हुन्छन् भन्दै थोरै समयमा नेपाली साहित्यिक फाँटमा गहन योगदान दिएका पाल्पाली आफ्नो जीवनको उच्चतम सदुपयोग गर्दै जीवन्त रुपमा उर्जामय र सिर्जनात्मक रुपमा नेपाली साहित्य पारखीमाझ बाँचेका कुरा बताएका छन् ।
सभापतिको आसनबाट थपलियाले बोल्दै भन्नू भयो -सृजनात्मकता सिद्धातमा नभइ अभिव्यक्ति स्वतंत्रताको आवाज हुनुपर्ने कुरामा जोड दिंदै आफूले सत्य लेख्न पाउनु पर्ने अवस्था सिर्जनाका लागि संघर्ष गरियो, तत्कालीन सत्ताले जेलनेल राखेर यातना दिएको स्मरण गर्दै अहिले सत्य लेख्न पाउने बेलामा समेत खुराफातीहरुको जमातले सत्य छोपिदिएकामा रोष प्रकट गर्दै पत्रकार तथा साहित्यकार बी.के पाल्पाली सत्कर्ममार्गीहरुका बीच अमर रहेको बताएका छन् ।
कार्यक्रममा संस्कृतिविज्ञ डा. शशी थापा पंडितद्वारा पाल्पालीको कृतिबाट पेस्तोल भित्रको बारुद कविता बाचन गरिनुका साथै लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार विजयध्वज थापाद्वारा मुक्तक बाचन साहित्यकार ललिता दोषीद्वारा पाल्पालीका हाईकु बाचन गरिनुका साथै राधिका कल्पितद्वारा कविता बाचन गरि बी.के. पाल्पालीको स्मरण गरिएको थियो ।
कार्यक्रममा सरस्वती गौतम, गोविन्द प्रसाद चौलागाईं , दिव्य गिरी, भुपराज खडका वैरागी जेठा, लक्ष्मी उप्रेती, राधिका कल्पित, राज श्रेष्ठ सागर, उषा के.सी., संगिता सारथी, रामप्रसाद पन्त, ललिता दोषी,भुवन शिवाकोटी लगायत चार दर्जन समाजका लव्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा साहित्यकार तथा पत्रकार एवं पेरोल काव्य घर नेपालको साहित्य विभाग प्रमुख तथा काव्य घर नेपालकी महासचिव रेणुका भट्टराईद्वारा भावुकरुपमा कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरिनुका साथै बी के पाल्पाली स्मृति पत्रकारिता तथा साहित्य सम्मान र पुरस्कारको स्थापना गरिएको र उपयुक्त व्यक्तित्वलाई संस्थाको वार्षिक कार्यक्रममा प्रदान गरिने जानकारी गराउनु भएको थियो ।
०००
काव्य घर नेपाल
Subscribe
Login
0 Comments
Oldest







































