दीनानाथ पाेखरेलबा (काव्यांश-११)
हेर्दै यी अवहाल नेत्र उनका तड्पेर झार्लान् जल । हाम्रो तागत छैन भेट्न सकिने जम्मै भयौँ दुर्बल ॥ खोजौँ योग्य नयाँ समस्त अघिका आफन्त भेट्ने पथ। सारा मानव रम्दथे अवनिका उम्दा बनाई रथ

दीनानाथ पोख्रेल :
त्यो आकाश खसे समान हुन गो जो दागबत्ती दिँदा।
काँप्दै थर्थर बत्तिएँ बल घटी तड्पन्छु त्यो सम्झिँदा ॥
मान्छे छन् तर शून्य मान्छ मन यो बाबा बिनाको हुँदा।
भिज्छन् वस्त्र शरीरका हरघडी छन् तोड खस्केँ रुँदा॥८५॥
रोएँ देख्नु हुँदैन अश्रु परले हेक्का मनैमा लिएँ ।
बारम्बार ढलेँ अनेक बहका सङ्कष्टमा जाकिएँ ॥
हो यो दैव विधान भन्छ मनुवा संसार जाने सरी ।
कष्टैकष्ट बढे विचार पर भो डङ्रङ्ग आफैँ लडी ॥८६॥
केही ज्ञान रहेन गुन्दछु बडो आकाशमा उड्दछन् ।
उम्दा साधनमा बसी भवविषे निर्धक्क भै गुड्दछन्॥
मान्छेका मनभावना भुवनमा संज्ञान निम्जा भए ।
खोजी भेट्न सकिन्न प्राण छ कहाँ ? धिक्कार अग्लो कहेँ ॥८७॥
भन्छन् मानव अग्लियो भुवनमा अग्लन्न मेरो मन ।
सानो उल्झन छेक्न छैन बल क्यै छ्याङ्गै छ होचोपन॥
बाबा मृन्मय रूपमा बदलिँदा त्यो प्राण भाग्यो कता ?
केही ज्ञान रहेन शून्य म भएँ विज्ञान हेरोस् यता ॥८८॥
मान्छेको मनशक्ति बुझ्न सकिने होस् यन्त्र सामर्थ्यको ।
राखूँ जीव अनन्त काल तनमा खोजूँ म सन्मार्ग त्यो ॥
आमाबाबु गुमाउँदा सकसले डस्दो छ मान्छेमन ।
कालो काल पसेर निल्दछ सधैँ आघात भोग्छन् जन ॥८९॥
निम्जो भाव छ चेतमा हरघडी मान्छे विचारी बन ।
बाबाझैँ हित कर्मको पथ दिने को हुन्छ प्रेमी जन ?
जेजे चिन्तन आउँछन् मगजमा घोचेर चस्काउँछन् ।
सारा मानव छन् तथापि भवमा एक्लोपना ल्याउँछन् ॥९०॥
बारी,खेत र अन्न,वृक्ष,वन छन् रित्ता बनेका अब ।
पाली,गोठ र गेह रिक्तपनमा रोएर बस्छन् सब ॥
फिक्का छन् मनचाहना कृतकला जम्मै बिलाए गए।
बाबा दूर हुँदा अनेक द्विविधा छन् अश्रुधारा बहे ॥९१॥
पापी काल चिनी समात्न म सकूँ बाँधेर पाता कसी ।
बाचाबन्धनमा कजाउन सकूँ टोक्दैन चिन्ता बसी ॥
लाग्ला भोक र प्यास दिक्क म भएँ को दिन्छ खाना त्यहाँ?
बाबाका मनभित्र दर्द कति छन् सुन्ला र कल्ले उहाँ ?९२॥
हेर्दै यी अवहाल नेत्र उनका तड्पेर झार्लान् जल ।
हाम्रो तागत छैन भेट्न सकिने जम्मै भयौँ दुर्बल ॥
खोजौँ योग्य नयाँ समस्त अघिका आफन्त भेट्ने पथ।
सारा मानव रम्दथे अवनिका उम्दा बनाई रथ ॥९३॥
आँखा खोल्न सकून् यतातिर उठी विज्ञानका पारखी ।
द्रष्टा काल भनेर पूजित हुने हौ विश्वका सारथि ॥
मान्छे दुर्बल बन्छ यो अवनिमा आफन्त मर्दा जति ।
टाढा भैकन आउँथ्यो पथ नयाँ टिप्दै उज्यालो गति ॥९४॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































