फित्काैली डटकमभेषजराज साहित्य प्रतिष्ठानको ६८ औँ शृङ्खला सम्पन्न
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवम् पण्डित आनन्दमणि- टुल्की नन्दकला स्मृति प्रतिष्ठानका संस्थापक संरक्षक त्रिलोचन ढकाल हुनुहुन्थ्याे ।

स्याङ्जा, ०८० पुस २६ । राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर भेषजराज साहित्य प्रतिष्ठानले नियमित रचना वाचनको ६८ औँ शृङ्खलाका साथमा कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवम् पण्डित आनन्दमणि- टुल्की नन्दकला स्मृति प्रतिष्ठानका संस्थापक संरक्षक त्रिलोचन ढकालले कविताको महत्त्वमाथि प्रकाश पार्दै प्रतियोगी छात्रछात्राहरूको कविता राष्ट्रियताको भावनाले भरिएको र शैलीशिल्प पनि सबल रहेको चर्चा गर्दै विजयी कवयित्री र कविहरूलाई बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रतिष्ठानका सल्लाहकार प्रह्लाद अर्यालले यस्ता खालका कार्यक्रमले विद्यार्थीहरूमा सृजनात्मक क्षमताको विकास हुने र प्रस्तुति कला पनि वृद्धि हुने कुरा व्यक्त गर्नुभयो ।
प्रतियोगितामा गल्याङ बहुमुखी क्याम्पसकी वसन्ती अधिकारी प्रथम, वालिङ बहुमुखी क्याम्पसकी विनीता पाठक द्वितीय, दहथुम माविकी स्मारिका अर्याल तृतीय र साइन भिलेज माविकी जस्मिन थापाले चतुर्थ स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट पिस जोन एकेडेमीका संयोग डुम्रे पण्डित आनन्दमणि- टुल्की-नन्दकला स्मृति पुरस्कारका लागि छनोट भएका छन् ।
वालिङ- १० मा अवस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रमा बोधराज न्यौपाने, वसन्त खनाल, लेखनाथ काफ्ले, दमकुमारी वगाले, गोपालधन सुवेदी, प्रदीप बगाले, निर्णायक समितिका सदस्यहरू अनन्त अर्याल, शम्भु अर्याल र पारीश्वर न्यौपानेलगायत १९ जना प्रतियोगीहरू ले कविता प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गरेका थिए भने स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक एवम् प्रतिष्ठानका उपाध्यक्ष विष्णुप्रसाद अर्यालकाे रहेकाे थियाे ।
०००
– श्याम ढुङ्गानाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































