फित्काैली डटकमकवि विरही अधिकारीको एकल कविता वाचन सम्पन्न
कवि तथा साहित्यकार डिल्लीरमण नेपालको प्रमुख आतिथ्यमा सम्पन्न एकल कविता वाचनमा कवि अधिकारीले विगतदेखि वर्तमानसम्मको समाज चित्रण गर्ने नौ वटा कविता वाचन गरेका थिए ।

झापा, २०८० चैत्र १ । भद्रपुरका क्रान्तिकारी कविको छवि बनाएका विरही अधिकारीको एकल कविता वाचन सम्पन्न भएको छ ।
भद्रपुर- ९ मा रहेको देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा कवि अधिकारीले आफ्ना कविताहरूकाे एकल वाचन गरेका हुन् ।
कवि तथा साहित्यकार डिल्लीरमण नेपालको प्रमुख आतिथ्यमा सम्पन्न एकल कविता वाचनमा कवि अधिकारीले विगतदेखि वर्तमानसम्मको समाज चित्रण गर्ने नौ वटा कविता वाचन गरेका थिए ।
शहीदको सम्झना गर्दै कविता वाचन सुरू गरेका अधिकारीले शहीदको योगदान बिर्सिंदै गएकोमा आक्रोश पोखे । उनले भो तीजमा लिन नआउ कविता मार्फत नेपाली नारीमाथि हत्या, बलात्कार, शोषण, दमन भइरहेको संकेत गर्दै नारीको सुरक्षा गर्न सवैसित आग्रह समेत गरेका थिए ।
कवि अधिकारीले तेस्रो कविता आमा कति रोयौं मार्फत नेपाल देश असल शासक नरहेकै कारण सिमाना मिचिएको, स्वाभिमान गुम्दै गएको, भ्रष्टाचार, दुराचार, अन्याय र अत्याचार बढिरहेकोले नेपाली आमा रोइरहेको दुखेसो पोखे ।
अधिकारीले कति लेख्छौ यो पुरस्कारको कविता शीर्षकमा आज कवि कलाकार चोर, तस्कर र घुसखोरीको नियन्त्रमा रहेकोले यस्तो समाजमारा प्रवृत्ति अन्त्य गर्ने कविता लेखिनु पर्ने आवाज उठाएका छन् । उनले युवाहरूलाई सन्देश शीर्षकमा आफ्नो मातृभूमि उजाड बनाएर अर्काको भूमि उर्वर बनाउन विदेसिने प्रवृत्ति त्याग्न नेपाली युवा युवतीसित आग्रह गरे ।
अधिकारीले हजुर बाको सन्देश र नातिको प्रश्न कवितामा संघीय लोकतान्त्रिक गणतन्त्र जनमैत्री बन्न नसक्नुमा शासकीय सिद्धान्त कमजोर भएर शासक बलियो बन्दै गएकोमा सत्तासिन दलप्रति कटाक्ष गर्दै व्यङ्ग्य प्रहार गरेका थिए । उनको जन्मथलो धनकुटा शीर्षकको गीतसम्म आइपुग्दा नौ वटा कविताले नेपाली समाजको वास्तविक चित्र प्रस्तुत गरेका थिए ।
स्मारक समितिका अध्यक्ष राजु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि अधिकारीको परिचय सहप्राध्यापक तारा विविध तथा कविताको टिप्पणी सहप्राध्यापक चूडामणि वशिष्ठले गरेका थिए ।
उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत गरेको कार्यक्रममा वीरेन्द्र मावि, पुँहातु जनज्योति मावि र जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीले विविध साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने भद्रपुर- २ का वडाध्यक्ष रामबहादुर कँडेलले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव युवराज ढकालले सञ्चालन गरेको कार्यक्रममा भाषासेवी चूडामणि रेग्मी लगायत साहित्यकार स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
०००
– द्रोण अधिकारीद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest










































