साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘नेपाली प्रतिनिधि नियात्रा’ ग्रन्थ लाेकार्पित र दुई नियात्राकार सम्मानित

‘नियात्रा समाज नेपाल’ले प्रकाशन गरेको ८३९ पृष्ठको यो कृतिमा ऐतिहासिक एवम् मौलिक पृष्ठभूमिका सिर्जना समेत समेटिएकाे र अग्रजदेखि अनुज पुस्तासम्मका रचनाहरू समेटिएका छन् ।

Nepal Telecom ad

काठमाडौँ, २०८० चैत्र १८ । नियात्रा विधाको एक ऐतिहासिक कृति ‘नेपाली प्रतिनिधि नियात्रा’ लाेकार्पित भएकाे छ । लाेकार्पण समाराेहमा तारानाथ शर्मा नियात्रा सम्मानद्वारा नियात्राकार सुब सेन र महेश्वर न्याैपानेलाई सम्मान गरियाे ।

सरकारको आर्थिक सहयोगमा प्रकाशित यस कृतिलाई लोकार्पण समारोहमा सरकारका बहालवाला तथा निवृत उच्च पदाधिकारीले समेत स्वामित्व ग्रहण गरे । कार्यक्रममा मुख्य सचिव वैकुण्ठ अर्याल, सचिवहरू लीलादेवी गड्तौला, गोकर्णमणि दुवाडी लगायतको उपस्थिति रह्यो ।

यस्तै, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेको उपस्थितिमा कृति सार्वजनिक गरिएको थियो भने दर्शकदीर्घाबाट पनि यसको स्वामित्व ग्रहण गरिएको थियो ।

विमोचनको नियमितभन्दा पृथक शैलीले पाठकमाझ ल्याइएको कृतिका विषयमा सरकारका प्रशासकहरूले खुलेर प्रशंसा गरे । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले गरेको सानो सहयोगमा अति महत्त्वपूर्ण कृति तयार भएको सन्दर्भ जोड्दै प्रमुख अतिथिको भूमिकामा उपस्थित मुख्य सचिव डा. वैकुण्ठ अर्यालले सरकारले साहित्यको मर्म बुझ्नुपर्ने बताए ।

‘स्रष्टा हुनलाई सृष्टि गर्ने सामर्थ्य हुनुपर्छ, त्यो जो कोहीमा हुँदैन,’ यो कृति अति प्रेरणादायी र महत्त्वपूर्ण रहेको बताउँदै उनले भने, ‘सरकारले हरेक वर्ष कति रकम कहाँ–कहाँ बाँड्छ, त्यो कसरी खर्च भएको हुन्छ, सबै कुरा गौण हुन्छन् ।’ ‘नेपाली प्रतिनिधि नियात्रा’ले नेपाली साहित्यमा नवीन प्रेरणा थपेको हुँदा यस्ता काममा सरकारले आगामी दिनमा सहयोग गर्दै जानुपर्ने उनको भनाइ रह्यो ।

देश–विदेश भ्रमण गर्दाका क्रममा आफूले पनि धेरै सन्दर्भ टिपोट गरेर राखेको र त्यस्ता टिपोटलाई पुस्तकाकारमा ल्याउन यस कृतिले घच्घच्याएकोमा अर्याल हर्षित देखिए । उनले यस्ता साहित्यिक कर्ममा आफूले संस्थागत र व्यक्तिगत हिसाबले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

अर्यालले साहित्यले मातृभाषालाई उतिकै महत्त्वका साथ जगेर्ना गर्नुपर्ने अपरिहार्यता दर्शाए । उनले नेपाली भाषाप्रति आफ्नो गहिरो अभिरुचिको भाव यसरी राखे– मान्छेले आफ्नो भाषामा जे जति कुरा अभिव्यक्त गर्न सक्छ, त्यो अरू भाषामा सक्दैन । भाषा बचाउन यस कृति विशेष भूमिका खेल्न सक्छ भन्ने मलाई विश्वास छ ।

कुनै समय आफू पनि काव्य सिर्जना गरेको, नाटक लेखेको र अभिनयसमेत गरेको स्मरण गर्दै संसदका महासचिव पाण्डेले यस कृतिले आफूलाई साहित्यिक सिर्जनातिर लाग्ने प्रेरण थपेकोमा खुशी व्यक्त गरे । यस्तै, पूर्वपर्यटन सचिव महेश्वर न्यौपानेले यो कृतिले एउटा मौलिक इतिहास बोकेको बताए । आगामी दिनमा नियात्रा समाज र सरकारबीच सहकार्य भएर यस्तै कृतिहरू आउनुपर्ने उनको धारणा रह्यो ।

कार्यक्रममा पूर्वप्रशासक तथा लेखक सुब सेनले आफू डा। तारानाथ शर्माबाट प्रेरित भएर सिर्जनाको क्षेत्रमा लागेको हर्ष अभिव्यक्त गरेका थिए । आफूले देशको भविष्य युवाहरूमा देखेको भन्दै उनले देशप्रति चिन्तासँगै आशंका गरे– हाम्रो भाषा र पहिचान कुनै विन्दुमा पुगेर लिजमा जाने हो कि भन्ने चिन्ता बढेको छ, हामी सयौं वर्षसम्म यसैका लागि लड्नुपर्ने त होइन ?

त्यस्ता गतिविधि हुन नदिन स्रष्टाहरूले निरन्तर कलम चलाइरहनु पर्ने र त्यो प्रेरणा ‘नेपाली प्रतिनिधि नियात्रा’बाट प्राप्त हुने प्रस्ट्याए । यस कृतिमा उहिलेदेखि अहिलेसम्म नियात्रा सिर्जना समेटिएको भन्दै त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले यस्ता कर्ममा सरकारले निरन्तर सहयोग गर्नुपर्ने बताए । उनले भने– राम्रा कृति सधैँ आइरहँदैनन्, बेला–बेला मात्र ऐतिहासिक कर्म गर्न सकिन्छ । यसैले, यी कर्ममा सरकारको अनवरत सहयोग रहनुपर्छ ।

यसैगरी, समाजका अध्यक्ष प्रतीक ढकालले सरकारले गर्न नसकेका काम स्रष्टाले गर्ने हुँदा सरकारले स्रष्टाको संरक्षण गर्नुपर्ने धारणा अभिव्यक्त गरेका थिए । उनले उपस्थित सरकारका पदाधिकारीतिर इंगित गर्दै भने– यहाँ सरकार स्रष्ट हो, स्रष्टा सरकार । यो सहकार्य अविच्छिन्नरूपमा अगाडि बढ्नुपर्छ ।

समाजका उपाध्यक्ष मोहन चापागाईंले पनि स्रष्टा राष्ट्रको बैभव भएको हुँदा राज्यले कला साहित्यको संरक्षणमा भरपूर ध्यान दिने समय आएको बताए । स्रष्टाले गरिबी, दुःखी र सिमान्तकृतको आवाज उठाउने हुँदा सरकारले उनीहरूको संरक्षण गर्नुपर्ने आशय व्यक्त गरे । विमोचित कृतिभित्रका सिर्जनाले माटोप्रतिको ऋण चुक्ता गर्ने सन्दर्भमा केही न केही योगदान गरेको उनको भाव थियो ।

काव्यिक भावधारामा कार्यक्रम सञ्चालन गरेकी कवि तथा नियात्राकार भवानी खतिवडाले बीचबीचमा जीवन र जगतलाई स्रष्टाले मात्र जोड्न सक्ने भनाइ राखेकी थिइन् । उनले हिमाल तथा हिमाली दृश्य, पर्यावरण र मान्छेको जनजीवनलाई नियात्राले मात्र जोड्न सक्ने सन्दर्भ जोडेकी थिइन् ।

ऐतिहासिक एवम् मौलिक पृष्ठभूमिका सिर्जना समेत समेटिएकाे नियात्रा कृतिमा अग्रजदेखि अनुज पुस्तासम्मका रचनाहरू समेटिएका छन् ।

‘नियात्रा समाज नेपाल’ले प्रकाशन गरेको ८३९ पृष्ठको यो कृतिको मूल्य २ हजार रुपैयाँ रहेको छ । यस कृतिकाे बिक्री वितरणकाे जिम्मेवारी पेज टर्नर प्रालिलाई दिने गरी सम्झाैता भएकाे छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x