फित्काैली डटकमउपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचित
मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको आयोजनामा समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्व तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लव, भृकुटीमण्डपमा सम्पन्न भएको हो।
काठमाडाैं, २०८० चैत २४ । उपन्यासकार गोपीराम भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’ को एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ।
एआईजीद्वय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुईँटेल, नेपाल सरकारका पूर्व सचिव एवम् समालोचक गोपीनाथ मैनालीलगायतले विमोचन गर्नुभयो ।
मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको आयोजनामा समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्व तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लव, भृकुटीमण्डपमा सम्पन्न भएको हो।
कार्यक्रममा अन्य अतिथिहरू प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, समालोचकत्रय प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल, युवराज मैनाली, गोपी मैनाली, उपत्यका ट्राफिक प्रमुख नायव महानिरीक्षक पोषराज पोखरेल, मुक्तिनाथ दर्शनसाहित्य समाज नेपालका प्रमुख संरक्षक हरिभक्त सिग्देल,संरक्षक प्रा.डा.अर्जुनदेव भट्ट, अर्का संरक्षक विष्णुप्रसाद पन्त तथा साहित्यकार विजय चालिसे लगायतको उपस्थिति रहेको थियो।
उपन्यास दृष्टिपथको लोकार्पण मञ्चमा आसीन अतिथिहरू तथा लेखक गोपीराम भण्डारी समेतबाट सामूहिक रूपमा भएको हो।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले ‘जहाँ प्रहरी त्यहाँ हरि’ भन्ने उक्ति सुनाउँदै प्रहरीको काम कर्तव्यमाथि प्रकाश पारेका थिए। साथै, उनले चौबिसै घण्टा व्यस्त रहनुपर्ने प्रहरी सेवामा कार्यरत प्रहरीबाट पनि यस किसिमको साहित्यिक कार्य हुनसक्नुमा स्रष्टा गोपीरामलाई बधाई दिएका थिए।
प्रहरी प्रवक्ता भीमकुमार ढकालले साहित्यिक पत्र-पत्रिका र साहित्यिक कृतिहरूको महत्त्व दर्शाउँदै अहिले आएर हिरासत कक्ष तथा कारागारहरूमा समेत पुस्तकहरू राख्न थालेको कुरा बताएका थिए।
कार्यक्रममा समालोचक प्रा.डा.खगेन्द्र लुइटेलले हास्य शैलीमा प्रस्तुत हुँदै मन्तव्य दिने क्रममा उनले उपन्यासको विषयवस्तु र कथावस्तु उत्कृष्ट छ ,भाषागत कुरामा केही कमी कमजोरी भए पनि उत्सुकता पैदा गर्ने सामाजिक उपन्यास भएको बताएका थिए।
त्यसैगरी,अर्का समालोचक गोपीराज मैनालीले लोकार्पित पुस्तकमाथि समीक्षा गर्दै उपन्यास सानो भए पनि गहकिलो भएको बताए। उनले उपन्यासमा हुनुपर्ने सबै कुरा समेटिएको र पढ्दै जाँदा अब के हुन्छ अब के हुन्छ भन्ने उत्सुकता रहेको कथावस्तु अन्त नभई अब त्यसपछि के हुन्छ भन्ने बारेमा लेखकले पाठकलाई नै सुम्पेको बताए।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अर्का समालोचक युवराज मैनालीले उपन्यासकार गोपीराम भण्डारीको लेखन कार्य २०६२ सालदेखि शुरू भएको उल्लेख गर्दै उनले मुक्तक, कविता,लघुकथा,कथा सबै विधामा कलम चलाइ सकेको कुरा बताए भने आफ्नो लघुकथासङ्ग्रह’पृथक् बाटो’को शोधकर्ता रहेका उनले उपन्यास लेख्न सफल भएकोमा बधाई पनि दिएका थिए।
कार्यक्रममा विजयराज चालिसे, हरिभक्त सिग्देल’महेश’ तथा बाजुराम पौडेलले शुभकामना मन्तव्य राखेका थिए भने उपन्यासकार गोपीराम भण्डारीले पनि आफ्नो लेखकीय मन्तव्य राखेका थिए।
डा.अर्जुनदेव भट्टको स्वागत मन्तव्य रहेको कार्यक्रममा डा.विष्णुप्रसाद पन्तले धन्यवाद ज्ञापन गरेका थिए।
छोटो मीठो मन्तव्य सहित सभाका सभाध्यक्ष कलानिधि दाहालले कार्यक्रमको समापन गरेका थिए।
कार्यक्रममा साहित्यकार तथा प्रहरी सेवामा कार्यरत साहित्यप्रेमी लगायत लेखकका परिवारका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दुर्गाराज पाण्डेले गरेका थिए।
०००
Subscribe
Login
0 Comments
Oldest







































