फित्काैली डटकममञ्जुश्री साहित्यिक समाजको नवौँ वार्षिकोत्सव, स्रष्टा सम्मान
समाजका अध्यक्ष डा.बमबहादुर थापा 'जिताली'को सभापतित्व तथा प्रसिद्ध हास्यव्यङ्ग्यकार रामकुमार पाँडेको प्रमुख आतिथ्यमा मञ्जुश्री साहित्यिक समाजद्वारा आयोजित समारोह बागबजारस्थित होटल हार्दिकमा सम्पन्न भएकाे हाे ।

काठमाडाैं, २०८० चैत २८ । मञ्जुश्री साहित्यिक समाजको नवौँ वार्षिकोत्सवका अवसरमा मञ्जुश्री साहित्यिक स्रष्टा सम्मान तथा मञ्जुश्री साहित्यिक पुरस्कार एवम् विपि-भूपि साहित्यिक पुरस्कार समर्पण समारोह सम्पन्न भएको छ।
मञ्जुश्री साहित्यिक समाजका अध्यक्ष डा.बमबहादुर थापा ‘जिताली’को सभापतित्व तथा प्रसिद्ध हास्यव्यङ्ग्यकार रामकुमार पाँडेको प्रमुख आतिथ्यमा मञ्जुश्री साहित्यिक समाजद्वारा आज बागबजारस्थित होटल हार्दिकमा आयोजित समारोह सम्पन्न भएकाे हाे ।
यस अवसरमा मञ्जुश्री साहित्यिक स्रष्टा सम्मानबाट गीतकारद्वय आनन्द अधिकारी तथा विजयध्वज थापा र साहित्यसेवी लक्षण थापालाई सम्मानित गरिएको छ ।
त्यसै गरी मञ्जुश्री साहित्यिक पुरस्कारबाट कवयित्री डा.अम्बिका अर्याल तथा विपि-भूपि साहित्यिक पुरस्कारबाट कवयित्री रञ्जु दाहाललाई पुरस्कृत गरियाे । दुबै पुरस्कारको रकम नगद राशि रू १५१२५/- रहेको छ।
विपि-भूपि साहित्यिक पुरस्कार साहित्यकार तथा पत्रकार श्रीरामसिंह बस्नेत तथा गङ्गा लिगलद्वारा संयुक्त रूपमा स्थापित पुरस्कार हो।
प्रमुख अतिथि प्रा. रामकुमार पाँडेले पहिलेका स्रष्टा र साहित्य र अहिलेका स्रष्टा र साहित्यबारे चर्चा गर्दै अग्रज स्रष्टाद्वय लीलाध्वज थापा, माष्टर रत्नदास प्रकाश, वानिरा गिरी तथा प्रेमा शाहको सम्झना गरेका थिए। अहिले संसार एउटा हत्केलामा अटाएको छ यतिबेला हाम्रा स्रष्टाहरूले आफ्ना कृति देशभित्र मात्र नभई विश्व बजारमा पुर्याउनु पर्ने आवश्यकता पनि उनले औँल्याएका थिए। पाठ्य पुस्तकमा रचनाहरू परेपछि प्रसिद्धि प्राप्त हुने भएकोले पाठ्य पुस्तकमा पर्ने खालका रचनाहरू लेखिनु पर्ने कुरा बताए। साथै, उनले विद्यालयमै साहित्यको पढाइ हुनुपर्ने बताए। यस बारेमा जापान तथा कोरियाको उदाहरण समेत उनले दिएका थिए । विश्व बजारका नोबेल पुरस्कारप्राप्त तथा अन्य उत्कृष्ट पुस्तकहरू हाम्रा स्रष्टाहरूले पनि पढ्नु पर्ने र आफ्ना पुस्तक पनि विश्व बजारमा पुर्याउनु पर्नेमा पुन: जोड दिएका थिए। 
सभापतिको आसनबाट बोल्दै डा.बमबहादुर थापा ‘जिताली’ले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूका बारेमा संक्षेपमा प्रकाश पारेका थिए। साथै उनले कार्यक्रम ज्यादै सफल रहेको बताउँदै उपस्थित सबैमा धन्यवाद ज्ञापन गरी नयाँ वर्ष २०८१ को अग्रिम शुभकामना पनि व्यक्त गरेका थिए । होटल हार्दिकको नाम समेत उनले नै जुराएको नौलो कुरा थाहा हुन आएको छ।
समारोहमा विपि-भूपि पुरस्कार कोषका संस्थापक श्रीरामसिंह बस्नेतले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै विपि-भूपि साहित्यिक पुरस्कार पहिलोपल्ट पुरुष स्रष्टालाई प्रदान गरिए पनि हाल आएर यो पुरस्कार महिला स्रष्टाहरूलाई प्रदान गर्दै आएको बताए। साथै,उनले आख्यान शिखर पुरुष विश्वेश्वरप्रसाद कोइराला तथा काव्य शिखर पुरुष भूपि शेरचनको स्मृतिमा स्थापित उक्त पुरस्कारबारे संक्षेपमा प्रकाश पारेका थिए।
सोही अवसरमा कोषका अर्का संस्थापक तथा साहित्यकार गङ्गा लिगलले पनि विपि-भूपि साहित्यिक पुरस्कार तथा संस्थाका बारेमा संक्षेपमा प्रकाश पारेकी थिइन् भने उनले आफ्नो रचना पनि वाचन गरेकी थिइन्।
समारोहमा पहिलोपल्ट विपि-भूपि साहित्यिक पुरस्कारबाट पुरस्कृत व्यक्तित्व कवि प्रल्हाद पोखरेलले आफ्नो शुभकामना मन्तव्यका क्रममा विपिका कथाबारे व्याख्या गर्दै उनको यौनजन्य कथाहरू शिष्ट भाषामा लेखिएको यथार्थ औँल्याएका थिए भने भूपिका रचनाहरू पनि वाचन गरेका थिए।
समारोहमा मञ्जुश्री साहित्यिक समाजका संस्थापक तथा संरक्षक वीरबहादुर लोहनीले स्वागत मन्तव्य राख्दै आफ्नो स्वागत कविता वाचन गरेका थिए। आज सम्मानित व्यक्तित्व आनन्द अधिकारीले मन्तव्यका क्रममा ‘माग्नेको हातमा सुनको कचौरा’ शीर्षकको आफ्नो कविता वाचन गरेका थिए।
त्यसैगरी, अर्का सम्मानित व्यक्तित्व विजयध्वज थापाले आफ्नो मन्तव्य राख्दै स्रष्टाहरूकै जीवनकालमा सम्मान तथा पुरस्कृत गरिनु पर्छ भन्ने उद्देश्य राखेर आफूले पनि एउटा संस्था मार्फत जुन पिताजीको स्मृतिमा राखिएको छ उक्त संस्थाबाट धेरै जना स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्दै आएको बताए भने समारोहमा ‘आमा’ शीर्षकको एउटा कविता पनि वाचन गरेका थिए।
पुरस्कृत व्यक्तित्वहरू मध्ये डा.अम्बिका अर्यालले आफ्नो एउटा कविता वाचन गरेकी थिइन् भने अर्की स्रष्टा रञ्जु दाहालले लुकेर रहेका स्रष्टाहरू खोजी खोजीकन पुरस्कृत र सम्मानित गर्ने उक्त संस्थाप्रति आभार प्रकट गर्दै धन्यवाद दिइन् र आफ्नो एउटा कविता पनि वाचन गरेकी थिइन्।
मञ्जुश्री साहित्यिक समाजको स्थापना २०७२ साल चैत २७ गते भएको हो । वार्षिकोत्सव हिजै मनाउनु पर्नेमा हिजो राजनीतिक दलको आन्दोलनबाट सवारी अवरुध्द भएका कारण मिति सार्नुपरेको कुरा आयोजकले बताएका थिए । समारोहमा संस्थाका उपाध्यक्ष ध्रुवराज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको सञ्चालन कवयित्री पम्फा भट्टराईले गरेकी थिइन् भने अन्तमा उनले पनि एउटा गजल गाएर सुनाएकी थिइन्। कार्यक्रममा साहित्यकारहरूको गुणस्तरीय उपस्थिति रहेको थियो ।
०००
समाचार श्राेत : शब्दपथ
Subscribe
Login
0 Comments
Oldest





































