फित्काैली डटकमप्रेरणा उ.मा.वि.को २६ सौँ उत्सवमा चट्याङ मास्टर सम्मानित
विद्यालयको २६ सौँ स्थापना दिवसको उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रमसहित हास्यव्यङ्ग्य साहित्यमा चट्याङ मास्टरको नामले प्रख्यात कृष्णमुरारी गौतमलाई सम्मानित गरियाे ।

ललितपुर, २०८१ जेठ १४ । उमेर पुगेका महिलाहरूका लागि नेपालको पहिलो विद्यालयको रुपमा २०५५ सालमा स्थापित प्रेरणा महिला माद्यमिक विद्यालयको २६ सौँ स्थापना दिवसको उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रमसहित हास्यव्यङ्ग्य साहित्यमा चट्याङ मास्टरको नामले प्रख्यात कृष्णमुरारी गौतमलाई सम्मानित गरियाे ।
राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा एजिङ नेपाल स्थापना गरेर पाका मान्छेका सर्वाङ्गीण हितमा काम गरिरहेकोले समान लक्ष्यमा अनवरत सेवा गर्ने विशिष्ट व्यक्तित्वको रुपमा बिद्यालय परिवारको तर्फबाट प्रमुख अतिथि राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माबाट सम्मानपत्र हस्तान्तरण गरिएको हो ।
त्यस्तै व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. केदारनाथ उप्रेतीले दोशल्ला ओढाई सम्मान गर्नुभयो भने विद्यालयका प्रिन्सिपल प्रभा चालिसेले खादाबाट स्वागत गर्नुभयो ।
राष्ट्रियगान र शहिदप्रति मौनधारणबाट सुरु भएको कार्यक्रममा प्रिन्सिपल प्रभा चालिसेको स्वागत मन्तव्यसहित प्रतिवेदन बाचन गरिएको थियो । त्यस्तै बुढ्यौली साहित्य समाजका अध्यक्ष श्री आर.सि. रिजाललाई दोशल्ला र खादाबाट प्रमुख अतिथिको रुपमा सम्मान गरिएको उक्त कार्यक्रममा लामो समयदेखि कार्यरत शिक्षक श्री मधुकुमार चालिसे र श्री शम्भु अर्याललाई पनि प्रमुख अतिथि डा.शर्माबाट प्रसंशापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीबाट विविध साँस्कृतिक कार्यक्रम, कविता बाचन र नाटक पदर्शन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिलाई खादा प्रिन्सिपलबाट प्रदान गरिएपछि विद्यालयका तर्फबाट डा. उप्रेतीले मायाको चिन्हो उपहार दिनुभएको थियो । हरेक तहमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई अध्यक्ष डा. उप्रेतीबाट पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा वक्ताहरू प्रा.डा. मुकेशकुमार चालिसे, आर.सि.रिजाल, संविधान सभा सदस्य तथा संस्थापक प्रिन्सिपल जनककुमारी चालिसे, शम्भु अर्याललगायतले विद्यालयको स्थापना, समस्या, प्रगतिबारेमा बृहत जानकारी दिनुभयो ।
विद्यालयबाट ११ र १२ पास गरेर हाल पाटन क्याम्पसमा स्नातक अध्ययनरत ५४ बर्षिय श्रीमती पोखरेलले यसै सँस्थामा स्नातक खोल्नुपर्ने विद्यार्थीको माग रहेको बताउनुभयो । अध्ययनरत विद्यार्थी वक्ताहरूले आर्थिकरुपले विद्यालयलाई सहयोग गर्ने हातहरू खोजेर भए पनि स्नातक र स्नातकोत्तरको पठनपाठन गरिनुपर्ने र आफूहरू पनि सहयोगी हुने जनाएका थिए ।
प्रमुख अतिथि डा. शर्माबाट हाल ६०० भन्दा बढि विद्यार्थीबाट कक्ष १ देखि कक्ष १२ सम्म पढ्ने विद्यालयको पक्षमा प्रचलित नियमानुसार आफू सरकारी सरसहयोगमा सकारात्मक रहेको जानकारी दिनुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































