साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार तथा शिक्षाविद् भट्टराईको स्मृतिसभा सम्पन्न

साहित्यकार सूब सेनको सभापतित्व एवम् नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा रचना साहित्यिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ असार ८ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले साहित्यकार तथा शिक्षाविद् बालकृष्ण भट्टराईको देहावसानको ४५औँ दिनको पुण्यतिथि पारेर स्मृतिसभाको आयोजना सम्पन्न गरेको छ ।

साहित्यकार सूब सेनको सभापतित्व एवम् नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा रचना साहित्यिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले दिवङ्गत भट्टराईको कृतित्व, व्यक्तित्व र योगदानबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरू विजय चालिसे, रामप्रसाद दाहाल, मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्ले, नारायण ज्ञवाली, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, भागिरथी श्रेष्ठ, अर्जुन विरक्ति, कृष्णप्रसाद बस्याल, प्रा.डा. भागवत ढकाल, कलाधर काफ्लेलगायतले साहित्यकार बालकृष्ण भट्टराईको साहित्य, शिक्षा र समाजसेवा क्षेत्रमा समर्पित त्रिवेणी व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।

सभामा प्रमुख अतिथि रोचक घिमिरेले भट्टराईको योगदानको चर्चा गर्दै उहाँसँग चालीसको दशकदेखि नै परिचित रहेको र उहाँ मृदुभाषी, शालीन र बौद्धिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो भन्नुभयो । यसैगरी सभापति सूब सेनले भट्टराई समाजका विविध क्षेत्रमा समर्पित व्यक्तित्वका रूपमा रहेको बताउनुभयो ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले भट्टराई लुम्बिनी प्रदेशकै आभा भएको बताउनुभयो । दायित्व वाङ्मय प्रतिष्ठानका सल्लाहकार ठाकुर शर्मा भण्डारीले आफूद्वारा बालकृष्ण भट्टराईका बारेमा रचना गरिएको कविता वाचन गर्नुभयो । सभामा सो कविता अङ्कित श्रद्धा-अर्पणपत्र साहित्यकार भट्टराईकी धर्मपत्नी नेत्रकुमारी भट्टराईलाई प्रमुख अतिथि रोचक घिमिरेले प्रदान गर्नुभएको थियो ।

सभामा परिवारका तर्फबाट बालकृष्ण भट्टराईका ज्येष्ठ सुपुत्र साहित्यकार यादव भट्टराईले स्मृतिसभाको आयोजना गरेकामा दायित्व वाङ्मय प्रतिष्ठान तथा सम्पूणर् उपस्थित एवम् वक्ता महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै पिताको आदर्श तथा शिक्षा र साहित्यप्रति उहाँको लगावका बारेमा चर्चा गर्नुभयो ।

बुढानिलकण्ठस्थित दायित्व वाङ्मय प्रतिष्ठानको भवनमा सम्पन्न सो सभामा साहित्यकारहरू वियोगी बुढाथोकी, जयदेव भट्टराई, अनुराधा ढकाल, प्रा.डा. लेखप्रसाद निरौला, रामेश्वरी पन्त, केशवराज पन्त, चन्द्रकान्त आचार्य, ई. विष्णुबहादुर सिंह, विजयध्वज थापा, डा. नम्रता पाण्डे, डा. प्रद्युम्न पाण्डे, युवराज मैनाली, नारायण मरासिनी, हरिप्रसाद पाण्डे, जुग्नु तिमिल्सिना पाण्डे, पुरुषोत्तम कोइराला, जयदेवकृष्ण श्रेष्ठ, गोविन्दप्रसाद आत्रेय, बबिता बस्याल, सरस्वती भुसाल, शिवप्रसाद बस्याल, सिर्जना ज्ञवालीलगायत बालकृष्ण भट्टराईका सुपुत्रहरू हरि, हेमन्त तथा बुहारीहरू विद्या, शान्ति र नातिनी कास्भीसमेतको उपस्थिति रहेको थियो ।

त्रिभुवन विश्वविद्यालय सेवामा बयालिस वर्ष व्यतित गर्नुभएका बालकृष्ण भट्टराईले भैरहवा बहुमुखी क्याम्पसका संस्थापक प्राध्यापक तथा सोह्र वर्ष अविच्छिन्न क्याम्पस प्रमुख पदमा र चार वर्ष उच्च माध्यमिक शिक्षा परिषद्मा सदस्यसचिव पदमा रहेर सेवा गर्नुभएको थियो । सिद्धार्थ कलेज, रूपन्देही क्याम्पसलगायतका शैक्षिक तथा थुप्रै साहित्यिक र सामाजिक संस्थाहरूका संस्थापक भट्टराईका ’प्रस्थान गर्नुअघि’ (भूमिकासङ्ग्रह), ’नीतिका कुरा’ (संयुक्त नैतिक कोशकाव्य), समीक्षावली (समालोचनासङ्ग्रह) लगायत कविता, कथा, निबन्ध, मुक्तक, गजल, संस्मरणलगायतका विधामा फुटकर लेखरचना प्रकाशित छन् ।

भट्टराई ’शब्दसिन्धु’ साहित्यिक त्रैमासिक पत्रिकाका संरक्षक हुनुहुन्थ्यो । उहाँ दायित्व वाङ्मय विशिष्ट सम्मान, त्रिमूर्ति पुरस्कार, भीमदर्शन रोका आदर्श गुरु सम्मान, देवकोटा सम्मान, सिद्धार्थ साहित्य पुरस्कार, कवि हिमलाल ज्ञवाली स्रष्टा सम्मान, कवि लेखनाथ ज्ञवाली वाङ्मय पुरस्कार, छन्द साधक पुरस्कार, सरस्वती-दशरथ भट्ट स्मृति पुरस्कारका साथै महेन्द्र विद्याभूषण पदक, राष्ट्रिय शिक्षा पुरस्कार, त्रि.वि. दीर्घ सेवा पदक, त्रि.वि. विशिष्ट सेवा पुरस्कारलगायत दर्जनौँ साहित्यिक, शैक्षिक एवम् सामाजिक सङ्घसंस्थाबाट पुरस्कृत र सम्मानित हुनुहुन्थ्यो । भट्टराईको ८० वर्षको उमेरमा गत वैशाख २५ गते मस्तिष्क क्यान्सरका कारण काठमाडौँमा निधन भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x