फित्काैली डटकमकार्कीको ‘क्षितिज पारिको बस्ती’ कृतिमाथि चर्चा परिचर्चा
संविधान सभा सदस्य दिपक कार्कीकाे प्रमुख आतिथ्यमा भएकाे समाराेहमा भोजराज दाहालकाे स्वागत मन्तव्यपछि दिपक सुवेदी र खगेन्द्र नेउपानेले कृतिमाथि साङ्गाेपाङ्गाे चर्चा गरेका थिए ।

झापा, २०८१ साउन १२। गौरादहमा प्रबासी नेपाली लिलाराज कार्कीको कवितासङ्ग्रह ‘क्षितिज पारिको बस्ती’ माथि चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
गौरादह विराटनगर सम्पर्क समाजको आयोजनामा झापाको गौरादह नगरपालिका- ३, धोबिनिया स्थित दशमी पार्टी प्यालेसमा एक औपचारिक कार्यक्रमका बिच पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरिएको हो ।
संविधान सभा सदस्य दिपक कार्कीकाे प्रमुख आतिथ्यमा भएकाे समाराेहमा भोजराज दाहालकाे स्वागत मन्तव्यपछि दिपक सुवेदी र खगेन्द्र नेउपानेले कृतिमाथि साङ्गाेपाङ्गाे चर्चा गरेका थिए ।
कार्यक्रममा अतिथि कवि डम्बरूबल्लभ भञ्डारी, प्रिन्स प्रमोद ढकाल, किशोर कोइराला, रमेन्द्र कोइराला, रोहिणी रसिक भरत बर्वरिकलगायतले कविता प्रस्तुत गरे ।
कार्यक्रममा प्रकाश अनुराग, नारायण घिमिरे, प्रैम लावती, टेकबहादुर कार्की, धर्मराज गुरागाई, डिल्लीराम काफ्ले, देवी बुढाथोकी, धर्म भट्टराई, योगदान दहाल, चिरञ्जीवी दाहाल रमेश थापा लगायतले टिप्पणी गरेका थिए ।
संखुवासभाको मादि मूलखर्कमा वि.सं. २०१७ सालमा जन्मिएर बसाई सराइसँगै झापा जिल्लाको महारानीझोडामा जीवनयापन गर्दै कार्की वि. सं. २०४९ सालदेखि प्रवासीभूमि जर्मनमा बस्दै आएका छन् । लामाे समयदेखि त्यता रहे पनि मातृभूमि र मातृभाषाप्रतिको मायालाई निरन्तर सङ्गाल्दै आएका लिलाराज बाल्यकालदेखिनै गीत सङ्गीतमा अभिरुचि राख्ने गर्दथे ।
लिलाराज हाल जर्मनमा रहँदा पनि त्यहाँ स्थित विभिन्न सामाजिक संघ सस्थामा आबद्ध रहँदै आफ्नो अभिरुचि अनुरुप साहित्य र सङ्गीत सिर्जनामा क्रियाशील छन् र प्रवासी नेपालीको पहिचान कायम राख्न तल्लिन छ्न् ।
प्रवासमा रहेर पनि आफ्नो जन्मभूमि नेपालप्रति समर्पित भावनात्मक कविता कविताहरु सङ्कलन गरी कार्कीकाे याे ‘क्षितिज पारिको बस्ती’ सङ्ग्रह तयार गरिएकाे छ ।
सङ्ग्रहिभत्रका साहित्यिक कविता, व्यक्तिगत भावनात्मक कविता, मातृभूमिमा अर्थात देशप्रतिको ममता भावका कविता, प्रवासी भावनाका कविता, प्रकृतिप्रेमका कविता, जन्मस्थलप्रति समर्पित कविता, समसामयिक कविताको साथमा गीतिकविता र बालगीत समेत समावेश गरि जम्मा ९० वटा कविता समावेश गरिएकाे छ ।
आफूले देश छोड्दाको समय भन्दा हाल देशमा ठूला फराकिला सडक, अग्ला र सुन्दर भवनका साथै केहि कलकारखाना खुलेको देख्दा आफ्नो मातृभूमिमा विकासले निक्कै फड्को मारेको आभाष भए पनि अर्कोतर्फ हालसम्म पनि लोकतान्त्रिक व्यवस्थापन राम्ररी फस्टाउन नसकेको देख्दा चिन्ता लागेकाे उल्लेख गरेका छन् । सबैको मूलनीति राजनीतिको सकारात्मक विकासको आशामा आफूहरु अझै पनि कति समय पिरोलिनुपर्ने हो भन्दै पुस्तकको माध्यमबाट पाठक समक्ष आफ्नो मातृभूमि प्रतिको चिन्ता प्रस्तुत गरेका छ्न् ।
उनको यस कवितासङ्ग्रहमा लेखक तथा साहित्यकार प्रदिप नेपाल, विजय सुब्बा, डा. यज्ञ अधिकारी, साहित्यकार नरनाथ लुइँटेल लगायतका शुभकामना तथा समीक्षात्मक मन्तव्य प्रस्तुत छ्न् ।
गन्तव्य प्रकाशन काठमाडौंले प्रकाशन गरेको कार्कीको कविता सङ्ग्रहलाई नेपाल टेलिभिजनका सिनियर ग्राफिक कलाकार अमर बालकले आकर्षक कभर डिजाइन गरेका छ्न् !
०००
– युवराज रेग्मी र इन्द्रकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































