
नर्थ क्यारोलाइनामा भानु जयन्ती र विशेषाङ्क विमोचन
कार्यक्रममा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाद्वारा संचालित नेपाली पाठशालाका विद्यार्थीहरुले "मलाई मन पर्ने नेपाली चाड " विषयमा आआफ्नो विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा १८ जना बालबालिकाहरु सहभागी थिए ।

नर्थ क्यारोलाइना, २०२४ जुलाई २७ । नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र स्थानीय नेपाली सस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको संयुक्त आयोजनामा कविता वाचन, वक्तृत्वकला र साहित्यिक प्रकाशनको विमोचन गरी आदिकवि भानुभक्त आचार्यको २११ औं भानुभक्त जयन्ती सम्पन्न भएको छ ।
प्राप्त जानकारी अनुसार पहिलो चरणमा भानुभक्तको भेषमा सजिएका स्थानीय आठ वर्षे बालक मिलन पहाडीले पानसमा दियो जलाएर कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष डा विकास शाक्यले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । NCNLS का सल्लाहकार तथा NCNC का सस्थापक अध्यक्ष इश्वर देवकोटाले नेपाली साहित्यमा आदिकवि भानुभक्तको योगदानको चर्चा गर्दै प्रवासमा दोस्रो पुस्तामा नेपाली भाषा सहित्य र संस्कृतिको महत्वबारे मन्तव्य दिनुभएको थियो।
कार्यक्रममा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाद्वारा संचालित नेपाली पाठशालाका विद्यार्थीहरुले “मलाई मन पर्ने नेपाली चाड ” विषयमा आआफ्नो विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा १८ जना बालबालिकाहरु सहभागी थिए । सहभागी बालबालिकाहरुलाई दुवै संस्थाका अध्यक्ष शिशिर खनाल र डा. विकास शाक्यले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले कल्पतरु दैमासिक पत्रिकासँगको सहकार्यमा हालै प्रकाशित ‘कल्पतरु’ नर्थ क्यारोलाइना विशेषाङ्कको विमोचन समेत गरेको थियो।
विमोचित प्रकाशनका बारेमा कल्पतरुका सल्लाहकार तथा यस अङ्कका अतिथि सम्पादक डा. ऋषि बस्ताकोटी र शिखर दुलालले प्रकाश पार्नुभएको थियो । यस अङ्कमा नर्थ क्यारोलाइना निवासी लेखक -साहित्यकार तथा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका कार्यक्रममा सहभागी भएका नेपाल तथा अमेरिकाका बिभिन्न भागमा बसोबास गर्ने ४० श्रष्टाका सिर्जनाहरू समावेश छन्।
कार्यक्रमकाे अर्को चरणमा साहित्यकारहरु नम्रता गुरागाई, गीता वस्नेत, चन्द्रमणि गुरागाई , दिजा पाण्डे लगायतले आआफ्ना कविता पाठ गर्नुभएको थियो । साथमा कमला देवकोटाले भानुभक्तको रामायणबाट केही श्लोक सुनाएर उपस्थित सबैमा मन्त्रमुग्ध पार्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा बर्तमान अध्यक्ष शिशिर खनालले आफ्नो दुई वर्षे कार्यकाल समाप्त भएको र अबको दुई वर्षे कार्यकालका लागि पूर्व अध्यक्ष शिखर दुलाललाई सर्बसम्मतिले निर्णय गरी अध्यक्षको कार्यभार हस्तान्तरण गर्नुभएकाे थियो ।
आफ्नो पद धारण गर्दै नवनिर्वाचित अध्यक्ष शिखर दुलालले आफूलाई पुनः विश्वास गरी अध्यक्षको जिम्मा दिनहुने सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै नर्थ क्यारोलाइना नेपाली साहित्य समाज तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नयाँ कार्य समितिका पदाधिकारीहरुको परिचय गराउनु भएको थियो ।
नर्थ क्यरोलाइनाको केरी स्थित हिमालयन ग्रिल रेस्टुरेन्टमा आयोजित कार्यक्रमको संचालन साहित्यकार प्रभा पोखरेलले गर्नु भएको थियो ।
०००
– डा. ऋषि बस्ताकाेटीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest