साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालेबुङमा ३३ औँ नेपाली भाषा मान्यता दिवस

कार्यक्रममा उदय क्षेत्रीको अध्यक्षता, नेपालबाट आमन्त्रित अतिथि नुरज भट्टराई 'नदी' को प्रमुख अतिथ्य र श्याम थापाको विशिष्ट आतिथ्य रहेको थियाे ।

Nepal Telecom ad

कालेबुङ/ २० अगष्ट २०२४ अर्थात् ४ भदौ २०८१ मङ्गलबारका दिन भारतीय भूगोलको कालेबुङ जिल्लाको बगानस्थित सामसिङ प्राथमिक पाठशालाको सभाहलमा सदाझैँ मनाउदै आएको २० अगष्टलाई यस पटक ३३ औँ नेपाली भाषा मान्यता दिवशको रूपमा सभ्य र भव्यरूपमा सम्पन गरी मनाइयो ।

उदय क्षेत्रीको अध्यक्षता, नेपालबाट आमन्त्रित अतिथि नुरज भट्टराई ‘नदी’ को प्रमुख अतिथ्य र श्याम थापाको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा अरू विभिन्न विधाका साहित्यिक स्रष्टाहरू धनवीर राई, मननारायण प्रधान, प्रशान्ति राई, सुरक्षा भूजेल र मायादेवी क्षेत्रीलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

दिवङ्गत भएका ज्ञातअज्ञात साहित्यिक स्रष्टाहरूप्रति करिब एक मिनट मौनधारण गरेपश्चात पुनः नेपाली जाति र भाषाको पहिचान खुल्ने गरी कवि रोजेस राईद्वारा रचित शब्द र ध्रुव प्रधानद्वारा सङ्गीतबद्ध जातको होइन, जातिको हो मेरो मात्र होइन, तिम्रो पनि होइन बोलको नेपाली गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विना क्षेत्री, विनिता राई, सुरक्षा भूजेल, शान्ति भूजेल, अन्वेष प्रधान र प्रशान्ति राईद्वारा आ-आफ्ना रचना प्रस्तुत गरिएका थिए । बिचमा गायक आलोक्क्षन गुरुङद्वारा स्वरसम्राट नारायणगोपालको आवाजमा रहेको तिम्रो जस्तो मुटु मेरो पनि बोलको गीत प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पारिएको थियो ।

त्यसैगरी मन्तव्यकै क्रममा पूर्व शिक्षक एवम् समालोचक मननारायण प्रधानले नेपाली भाषाको प्रयोग, शिक्षकको शिक्षण प्रकृया र नानीहरूको आजको प्रस्तुतिको उपलब्धिमाथि विचार प्रस्तुत गरेका थिए ।

त्यसैगरी ललित प्रधानले नानीहरूको आजको प्रस्तुति स्वभाविक रहेको विचार राखेका थिए र आजका प्रमुख अतिथि नुरज भट्टराई नदीले भारतीय भूगोलमा नेपाली भाषाप्रतिको सद्भाव भारतीय भूमिका नेपाली भाषी नेपालीहरूमा अनवरत र अतुलनीय रहेको गर्वबोध साटे । आयोजकले संयोजन गरेको कार्यक्रममा सानै ठाउँमा पनि ठुला मनका कारण सबैलाई सबै इच्छा र कर्म अँटाएर लान सक्ने नेपाली मनहरूको ताकतको खुलेरै चर्चा गरे ।

कार्यक्रममा रचना वाचन, नेपाली भाषा मान्यताका बारे मन्तव्य, प्राथमिक तथा माध्यमिक विद्यालयका नानीहरूको क्रमशः बालकथा पठन र स्वलिखित निबन्ध पठनलाई प्रतियोगितात्मक रूपमा प्रस्तुत गराइएको थियो ।

निबन्ध र बालकथातर्फ क्रमशः प्रथम , दोस्रो र तेस्रो निर्धारण गरी पुरस्कारद्वारा सम्मान जनाइएको थियो । मावि र प्राविअन्तर्गत निबन्ध पठन र बालकथा पठनका विर्णायक मण्डली र विजेता भाइबहिनी क्रमश: पीआर राई, मायादेवी क्षेत्री र दीपेन योगी (निर्णायक) तथा प्रशंसा राना, सिद्धार्थ मूर्मू र स्मृति राई क्रमशः ८२ , ७४ र ६७ अङ्क ल्याई (विजेता) बनेका थिए ।

त्यसैगरी प्रितम राणा , अनिमेष प्रधान र सुरक्षा भूजेल (निर्णायक) तथा अटूट परियार, अनुराग भूजेर र अनुश्री क्षेत्री क्रमशः ६०, ५६ र ५५ अङ्क ल्याई (विजेता) भएका थिए । मावि र प्राविका विजेता भाइबहिनीहरूलाई क्रमशः प्रमुख अतिथि नुरज भट्टराई नदी र विशिष्ट अतिथि श्याम थापाको बाहुलीबाट पुरस्कार हस्तान्तरण गरिएको थियो ।

अन्त्यमा साहित्य सृजन समूहको संयोजक रोजेस राईद्वारा सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेपश्चात् आजका कार्यक्रमका अध्यक्ष उदय क्षेत्रीद्वारा कार्यक्रमको बिट मारिएको थियो ।

सामसिङ प्राथमिक पाठशाला सामसिङ र साहित्य सृजन समूह सामसिङको संयुक्त आयोजनामा पुकार लामाको स्वागत मन्तव्य, ध्रुव प्रधान र कमल रानाको स्वागत गीत र राजेश भूजेलको सञ्चालन रहेको थियो ।

०००
– मेची प्रतिनिधि नदी भट्टराईद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x