फित्काैली डटकमकवि केशव सिलवाल एकल कविता वाचनसँगै धरानमा सम्मानित
वरिष्ठ सौन्दर्यचिन्तक ,मार्क्सवादी विद्वान्, जनसांस्कृतिक महासङ्घ नेपालका इन्चार्ज ईश्वरचन्द्र ज्ञवालीले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो।

सुनसरी,धरान २०८१ कार्तिक २४ । अखिल नेपाल लेखक सङ्घ एक नम्बर प्रदेश समितिले ‘प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र प्रतिनिधिमूलक कवितागोष्ठी’ सुनसरीस्थित विमल स्मृति पुस्तकालय, बुद्धचोक, धरान-१८ मा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको पहिलो सत्रमा प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र दोस्रो सत्रमा प्रतिनिधिमूलक कवितागोष्ठी गरिएको थियो। वरिष्ठ सौन्दर्यचिन्तक ,मार्क्सवादी विद्वान्, जनसांस्कृतिक महासङ्घ नेपालका इन्चार्ज ईश्वरचन्द्र ज्ञवालीले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो।
प्रमुख अतिथि ज्ञवालीले साहित्य, कला र संस्कृति देश र जनताको हितमा हुनुपर्छ। यसले चाहिँ जनताको सेवा गर्नुपर्छ। जनताका यावत जीविकाका समस्यालाई देखाउने, जनताका सत्रुहरूको भण्डाफोर गर्ने र देश र जनतालाई परिवर्तन र मुक्तिको दिशाबोध गराउने कामचाहिँ प्रगतिवादी साहित्यले गर्नुपर्छ । प्रगतिशील र प्रगतिवादी साहित्यमा भिन्नता छ। प्रगतिशील साहित्यले यथार्थको आलोचना, क्रान्ति र परिवर्तनको आकाङ्क्षा र विद्रोहको भावलाई व्यक्त गर्छ। तर प्रगतिवादी साहित्यले चाहिँ क्रान्ति र परिवर्तनको बाटो त्यसको उद्देश्य र क्रान्तिको विधि र प्रक्रिया समेत देखाउँछ र साहित्यकारहरूले विचारअनुसार व्यवहारमा पनि संलग्न हुनुपर्छ भन्छ।
साहित्य र कलाको भूमिका क्रान्तिमा महत्त्वपूर्ण हुन्छ।यसले मेसिनको दाती र पेचकिलाको भूमिका खेल्नुपर्छ भनेर लेनिनले भनेका कुरालाई थप व्याख्या गर्नु भएको थियो । साथै, हामी सम्पूर्ण संस्कृतिकर्मीहरू देश,जनता र गरिब वर्गको पक्षमा उभिनु आवश्यक रहेको बताउँदै प्रगतिवादी साहित्यबारे गहन र प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँले प्रगतिवादी कवि केशव सिलवाल जनताका पक्षमा कविता रच्न सक्षम कवि रहेको चर्चा गर्देै वाचित प्रतिनिधिमूलक कवितामाथि समेत आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष भीम कुमाखीले केशव सिलवाल वर्तमान समयका अब्बल कवि रहेको चित्रण गर्दै हरेक विकृति र विसङ्गतिविरुद्ध प्रत्येक कविहरू जागृत हुनुपर्ने बताउनु भएको थियो ।
त्रिभुवन विश्वविद्यालयमा अध्यापन पेसामा संलग्न जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय महासचिव केशव सिलवाललाई प्रगतिवादी कविता लेखन क्षेत्रका प्रतिनिधिमूलक प्रतिभाका रूपमा चित्रण गरिएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका सिलवालले कविता लेखनका लागि उच्च साधनाको जरुरत पर्छ, अनि मात्रै कविताले मानिसको मनमस्तिष्क छुन सक्छ भन्ने धारणा राख्दै चिबेचरा, ङा चेपाङ, कमरेड स्याउला, तुइनमा उल्टो झुन्डिएर, जुत्ता र क्रान्ति, यो देश मेरो होइन रहेछ जस्ता ६वटा कविता बाचन गर्नु भएको थियो।
ललितपुर लेलेमा २०३० सालमा जन्मिएका कवि केशव सिलवालका ‘बर्जित अवशेष`,’असहमतिका स्वरहरू’ सं.,’धारिला मानिसहरू’ र ‘चिबेचरा’ जस्ता कविताकृति प्रकाशित भइसकेका छन्। कवि सिलवाल उक्त कार्यक्रममा सम्मानित समेत हुनु भएको थियो।
कार्यक्रमका अर्का विशिष्ट अतिथि, नेपाल प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञसभा सदस्य जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय सचिवालय सदस्य, जनसांस्कृतिक महासङ्घ नेपाल एक नम्बर प्रदेशका अध्यक्ष चेतनाथ धमलाले कवि सिलवालका वाचित कवितामाथि टिप्पणी गर्नुभएको थियो ।
प्राज्ञ धमलाकाअनुसार कवि सिलवालका कविता सरल, सटीक र बोधगम्य रहेका छन् ।कविताले भुईँ मान्छेका कथा-व्यथालाईआत्मसात् गर्नुका साथै संरचनागत रूपमा कविताको लेखनशैली निक्कै प्रभावशाली रहेको बताउँदै सामाजिक यथार्थवादका पक्षलाई आत्मसात् गरेको बताउनु भएको थियो।शोषण, दमन, उत्पीडन र उपेक्षामा परेका मानिसका बारेमा कवितासिर्जना गर्न खप्पिस कवि सिलवालले युगसापेक्ष कवितामा वर्गीय र सौन्दर्यचेतनालाई सटीक रूपमा उतारेकालेअब्बल प्रतिनिधि कविको रूपमा चित्रित भएको बताउनुभएको थियो।
कार्यक्रममा जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव तथा एक नम्बर प्रदेश इन्चार्ज अनुसा राईको विशिष्ट आतिथ्यता रहेको थियोे।कार्यक्रमका अतिथि प्रा.डा.खेमनाथ दाहाल, अम्बिका शाक्य र सिद्धिकर्ण शर्माले कविता वाचन गर्नु भएको थियो ।
अतिथि गायिका अम्बिका दवाडीले गीत प्रस्तुत गर्नुभएको थियो। नेपाल प्रज्ञा-प्रतिष्ठान काव्य विभाग सदस्य राम खरेल, राधिका कार्की, टीका मिलन, महेश श्रेष्ठ, दीपक पराजुली, टेकनाथ घिमिरे, राजन निरौला, चन्द्रबहादुर सुवेदी, मनि राई गोठाले, महेश श्रेष्ठ, सानू कोविद, इन्द्रसुर बेल्टारे र युवराज घले लगायतले कविता वाचन गर्नु भएको थियो। साथै पीपी कोइरालाले लघुकथा वाचन गर्नु भएको थियो।
कार्यक्रममा शकुल भुसाल, तुलसी गेलाल, खड्गप्रसाद खनाल, जमुना श्रेष्ठ, पदम ढकाल, बाबुराम श्रेष्ठ, प्रकाश दिप्साली राई, पुष्प ढुङ्गाना, शोभा मिश्र खनाल, कमल आचार्य र अनूदित खनाल लगायतका कवि, लेखक र श्रोताहरूको उपस्थिति रहेको थियो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य,अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सचिव तथा अखिल नेपाल लेखक सङ्घ एक नम्बर प्रदेश समितिका अध्यक्ष प्राडा खेमराज खनालको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । प्राज्ञ खनालले हाम्रा यस्ता कार्यक्रमबाट प्रगतिवादी साहित्यको उन्नायन हुनका साथै स्रष्टाहरूको मनोबल बढेर जाने कुरामा जोड दिँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नु भएको थियो।
अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य एवम् अखिल नेपाल लेखक सङ्घका उपाध्यक्ष विमला पोखरेलले कविता वाचनसहित कार्यक्रम सञ्चालन र सचिव सुधीर केसीले कवितावाचनसहित स्वागत मनतव्य राख्नु भएको थियो।
०००
-प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित
Subscribe
Login
0 Comments
Oldest








































