फित्काैली डटकमभेषजराज साहित्य प्रतिष्ठानको ८२ औँ शृङ्खला सम्पन्न
कार्यक्रम प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख आतिथिको भूमिकामा गण्डकी प्रदेश पूर्व सांसद मोहन रेग्मी हुनुहुन्थ्यो ।

स्याङ्जा, २०८१ फागुन ७ । बुधबारका दिन प्रजातन्त्र दिवसको अवसरमा भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो नियमित रचना वाचनको ८२ औँ शृङ्खला वालिङ नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।
कार्यक्रम प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख आतिथिको भूमिकामा गण्डकी प्रदेश पूर्व सांसद मोहन रेग्मी हुनुहुन्थ्यो । उहाँले प्रजातन्त्र ल्याउनमा शहीदहरूले खेलेको महत्त्वपूर्ण भूमिकाका बारेमा चर्चा गर्दै स्व. भेषजराज शर्माले पुर्याएको योगदानको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा शैक्षिक व्यक्तित्व एवम् कवि ध्रुवप्रसाद शर्मा पंगेनी, वालिङ नगरपालिका वडा नं. ८ का वडा सदस्य चोलाकान्त अर्याल, कवयित्री दमकुमारी बगाले, कवि कमल बगाले, प्रेस चौतारी गण्डकी प्रदेशका सचिव अग्रज पत्रकार गोपाल जिटी लगायत कलमजीवी व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रममा डा.अच्युत शरण अर्यालको नेपाली बालसाहित्यको विधापरक इतिहास नामक कृतिमाथि चर्चा परिचर्चा गरिएको थियो । कृति का बारेमा चर्चा प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष कवि अनन्त अर्यालले गर्नुभएको थियो । उक्त कृति नेपालमा पहिलोपटक नेपाली बालसाहित्यमा गरिएको शोधप्रबन्धको सारसङ्क्षेप रहेको कुरा उल्लेख गर्दै उहाँले यो कृति नेपाली साहित्य र विशेष गरी बालसाहित्यका क्षेत्रमा महत्त्वपूर्ण बताउनुभयो ।
खोजमूलक लेखन आर्थिक, भौतिक, बौद्धिक र नैतिक किसिमले आफैमा चुनौती हो । बालबालिकाको मस्तिष्क को अध्ययन आफैमा गाह्रो काम हो । यसमा हाम्रा पौराणिक मिथकहरूलाई पनि अध्ययन गरेर लेखकको निष्कर्ष निकाल्नु भएको रहेछ ।
कार्यक्रम सञ्चालन प्रतिष्ठानका सदस्य श्यामप्रसाद ढुङ्गाना र स्वागत मन्तव्य प्रतिष्ठानका कोषाध्यक्ष शम्भु अर्यालले गर्नुभएको थियो ।
कार्यक्रममा कविहरू शम्भु अर्याल, दमकुमारी बगाले, कमल बगाले, लेखनाथ काफ्ले, अनन्त अर्याल र ढालबहादुर केसीले ध्रुवप्रसाद शर्मा पंगेनीलगायतले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
०००
– श्यामप्रसाद ढुङ्गानाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































