साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘प्रजातन्त्र दिवस’ का पाँच झटाराहरू

बाले सेतो टोपी मिलाउँदै हेरे, "गोरु पो कहाँ जोतियो र ! जोत्नेहरू फेरि फेरिए, तर जुवा त उही पुरानै हो !" चोकमा झण्डा फहराइरहेका थिए । भाषण भइरहेका थिए । तर धुवाँ अझै बाक्लिएको थियो ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

१. झ्यालखाना

— “के हाम्रा झ्यालहरू अझै खुल्छन् ?”

— “खुल्छन्, तर हावा आउँदैन ।”

मैले बाहिर हेरेँ । झ्यालको सिसाभित्रबाट फाटेको झण्डा फर्फराइरहेको देखेँ ।

— “हावाले किन छोएन ?”

— “हावामा प्रदूषण छ रे !”

— “तर आकाश त निलो देखिन्छ !”

— “त्यही त, आँखाले देख्न सक्ने धुलो मात्रै उडेको छैन ।”

मैले फेरि झ्याल खोलेँ, एक झोक्का हावा छिर्न खोज्यो, धुलोको मुस्लो बिस्तारै झ्यालको सिसामा अडियो ।

— “सास फेर्न गाह्रो हुँदैन ?”

— “गाह्रो छ ।”

— “बाहिर निस्कौँ ?”

— “साँघुरिएको बाटो खन्दैछन्, कुहिराले छोपिएको शहरमा अब उज्यालो छिर्दैन ।”

मैले उभिएर भनेँ, “झ्याल बन्द गरौं ?”

उनले जवाफ दिइन्, “झ्याल बन्द गरे अन्धकार भित्र पस्छ ।”

— “झ्याल भत्काइदिऊँ ?”

— “बेरुजु हावा छिर्छ, घामको उज्यालो पनि विकृत भइसक्यो ।”

— “अब के गर्ने ?”

— “खुला आकाश खोज्ने !”

मैले झ्यालबाट हेरेँ, कुहिरोभित्र कुनै दृश्य थिएन ।

— “त्यसो भए झ्याल होइन, घर नै उघार्नुपर्छ !”

०००

२. स्वतन्त्र सूर्य

“बुबा, के साँचै पहिल्यै सूर्य उदाउँदैनथ्यो ?”

बा मुस्कुराए, अनि चिम्नीबाट निस्किएको धुवाँलाई हेर्दै भने, “सूर्य त उही थियो छोरा, तर उज्यालो कतै थुनिएको थियो ।”

बालकले आकाशतिर हेरे, चराहरू स्वतन्त्र उडिरहेका थिए । गाउँको चौतारोमा जुलुस निस्किरहेको थियो, झण्डा हल्लिरहेका थिए ।

“त्यसपछि ?”

बाले हातले आफ्ना हातका गह्रौं गह्रौं चिराहरू देखाउँदै भने, “त्यसपछि हामीले ढोका फोड्यौं, पर्खाल ढाल्यौं, अनि उज्यालो ल्यायौं ।”

बालकले झण्डा उठायो, हावासँगै त्यसले नृत्य गर्‍यो ।

“अब त सधैं उज्यालो रहन्छ, हैन त बुबा ?”

बाले सूर्यतिर हेर्दै भने, “उज्यालो रहन सूर्य मात्रै होइन, मानिसहरू पनि निडर हुनुपर्छ ।”
०००

३. उज्यालो घाम

“हेर त ! घाम उदायो ?”

मैले पूर्वी आकाश हेरेँ । सुनौला किरणहरू क्षितिज छुन खोज्दै थिए ।

“हेर त ! छायाँ कहाँ छ ?”

मैले वरिपरि आँखा दौडाएँ । गाढा छायाँहरू ओइलाउँदै थिए, तर कतै अँध्यारो टुटिसकेको थिएन ।

“हेर त ! गगनचुम्बी महलहरू !”

मैले माथि हेरें । झलमल्ल झिलिमिली । तर मुन्तिर बत्तिहीन झुपडीहरू ।

“हेर त ! मान्छेहरूको अनुहार !”

मैले भीडतिर हेरेँ । कसैको हाँसो थियो, कसैको भय । कसैको मुटुमा आशा थियो, कसैको आँखा शून्य ।

उनले मेरो हात समाउँदै भनिन्, “ल आऊ, उज्यालोले अँध्यारो पखालौं !”

मैले निधार छामें । “सूर्य उदाएको छ, तर किन न्यानोपन पुगेको छैन ?”

उनले आँखा जुधाउँदै भनिन्, “जबसम्म आत्मा बन्धनमा छ, घाम पूर्ण रुपले उदाउँदैन !”

०००
४. उन्मुक्तिको गन्ध

— “हात बढाऊ !”

मैले चिसो हत्केलातिर हेरेँ । चुलिएको सुस्केरोसँगै मेरो औंलाहरू कठोर भएर गुम्सिए ।

— “आँखा उघार !”

हेरेँ वरिपरि । रातो, नीलो, सेतो रङले सजिएका झण्डाहरू हावासँग खेलिरहेका थिए । तर तल, सडकको धुलोमा बामे सर्न खोज्दै गरेका थुप्रै छायाहरू बिमुख देखिन्थे ।

— “शिर उठाऊ !”

मैले अग्लो पर्खालको छेउमा उभिएका अनुहारहरू देखेँ । उज्यालो भाषणहरूको गर्जन सुनेँ । तिनका शब्दहरू आकाश चुम्न चाहन्थे, तर जमिनमा बाँधिएका पाइला हल्लिएका थिए ।

— “स्वतन्त्र भयौ ?”

म चुपचाप उभिएँ । सिसाको पर्खालभित्र प्रतिबिम्बित मेरो अनुहार धुमिल देखिन्थ्यो ।

— “हेर, गन्ध आउँछ ?”

मैले साँस तानेँ । पाखुरीमा बाँधिएको पुरानो पट्टि च्यातियो । रङहरूको गन्धसँगै एउटा नयाँ गन्ध मिसिन थाल्यो- उन्मुक्तिको ।

– “ल, अब उभिन सिक !”

मैले मुटुको चाल सुनें- पहिलो पटक, निर्भय भएर ।

०००

५. धूलो र धुवाँ

– “नयाँ घाम नउदाएसम्म गोरु जोरिँदैन !”

बुबाको आवाज सुनेर छेउ लागेँ । चोकभरि धूलो उडेको थियो, मानौँ समय आफैँ धमिलो बनेको होस् ।

– “अब त प्रजातन्त्र आयो नि बुबा, अझै किन गोरु जोत्ने कुरा गर्नुहुन्छ ?”

बुबाले सेतो टोपी मिलाउँदै हेरे, “गोरु पो कहाँ जोतियो र ! जोत्नेहरू फेरि फेरिए, तर जुवा त उही पुरानै हो !”

चोकमा झण्डा फहराइरहेका थिए । भाषण भइरहेका थिए । तर धुवाँ अझै बाक्लिएको थियो ।

– “अनि तिमी किन चुपचाप छौ ?” बुबाले सोधे ।

मैले मुख खोलेँ, तर स्वर हराएझैँ लाग्यो ।

बुबाले हाँस्दै थपे, “मौसम फेरिएर के गर्नु, हावा त अझै बिसाक्त छ !”

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x