नन्दलाल आचार्य‘प्रजातन्त्र दिवस’ का पाँच झटाराहरू
बाले सेतो टोपी मिलाउँदै हेरे, "गोरु पो कहाँ जोतियो र ! जोत्नेहरू फेरि फेरिए, तर जुवा त उही पुरानै हो !" चोकमा झण्डा फहराइरहेका थिए । भाषण भइरहेका थिए । तर धुवाँ अझै बाक्लिएको थियो ।
नन्दलाल आचार्य :
१. झ्यालखाना
— “के हाम्रा झ्यालहरू अझै खुल्छन् ?”
— “खुल्छन्, तर हावा आउँदैन ।”
मैले बाहिर हेरेँ । झ्यालको सिसाभित्रबाट फाटेको झण्डा फर्फराइरहेको देखेँ ।
— “हावाले किन छोएन ?”
— “हावामा प्रदूषण छ रे !”
— “तर आकाश त निलो देखिन्छ !”
— “त्यही त, आँखाले देख्न सक्ने धुलो मात्रै उडेको छैन ।”
मैले फेरि झ्याल खोलेँ, एक झोक्का हावा छिर्न खोज्यो, धुलोको मुस्लो बिस्तारै झ्यालको सिसामा अडियो ।
— “सास फेर्न गाह्रो हुँदैन ?”
— “गाह्रो छ ।”
— “बाहिर निस्कौँ ?”
— “साँघुरिएको बाटो खन्दैछन्, कुहिराले छोपिएको शहरमा अब उज्यालो छिर्दैन ।”
मैले उभिएर भनेँ, “झ्याल बन्द गरौं ?”
उनले जवाफ दिइन्, “झ्याल बन्द गरे अन्धकार भित्र पस्छ ।”
— “झ्याल भत्काइदिऊँ ?”
— “बेरुजु हावा छिर्छ, घामको उज्यालो पनि विकृत भइसक्यो ।”
— “अब के गर्ने ?”
— “खुला आकाश खोज्ने !”
मैले झ्यालबाट हेरेँ, कुहिरोभित्र कुनै दृश्य थिएन ।
— “त्यसो भए झ्याल होइन, घर नै उघार्नुपर्छ !”
०००
२. स्वतन्त्र सूर्य
“बुबा, के साँचै पहिल्यै सूर्य उदाउँदैनथ्यो ?”
बा मुस्कुराए, अनि चिम्नीबाट निस्किएको धुवाँलाई हेर्दै भने, “सूर्य त उही थियो छोरा, तर उज्यालो कतै थुनिएको थियो ।”
बालकले आकाशतिर हेरे, चराहरू स्वतन्त्र उडिरहेका थिए । गाउँको चौतारोमा जुलुस निस्किरहेको थियो, झण्डा हल्लिरहेका थिए ।
“त्यसपछि ?”
बाले हातले आफ्ना हातका गह्रौं गह्रौं चिराहरू देखाउँदै भने, “त्यसपछि हामीले ढोका फोड्यौं, पर्खाल ढाल्यौं, अनि उज्यालो ल्यायौं ।”
बालकले झण्डा उठायो, हावासँगै त्यसले नृत्य गर्यो ।
“अब त सधैं उज्यालो रहन्छ, हैन त बुबा ?”
बाले सूर्यतिर हेर्दै भने, “उज्यालो रहन सूर्य मात्रै होइन, मानिसहरू पनि निडर हुनुपर्छ ।”
०००
३. उज्यालो घाम
“हेर त ! घाम उदायो ?”
मैले पूर्वी आकाश हेरेँ । सुनौला किरणहरू क्षितिज छुन खोज्दै थिए ।
“हेर त ! छायाँ कहाँ छ ?”
मैले वरिपरि आँखा दौडाएँ । गाढा छायाँहरू ओइलाउँदै थिए, तर कतै अँध्यारो टुटिसकेको थिएन ।
“हेर त ! गगनचुम्बी महलहरू !”
मैले माथि हेरें । झलमल्ल झिलिमिली । तर मुन्तिर बत्तिहीन झुपडीहरू ।
“हेर त ! मान्छेहरूको अनुहार !”
मैले भीडतिर हेरेँ । कसैको हाँसो थियो, कसैको भय । कसैको मुटुमा आशा थियो, कसैको आँखा शून्य ।
उनले मेरो हात समाउँदै भनिन्, “ल आऊ, उज्यालोले अँध्यारो पखालौं !”
मैले निधार छामें । “सूर्य उदाएको छ, तर किन न्यानोपन पुगेको छैन ?”
उनले आँखा जुधाउँदै भनिन्, “जबसम्म आत्मा बन्धनमा छ, घाम पूर्ण रुपले उदाउँदैन !”
०००
४. उन्मुक्तिको गन्ध
— “हात बढाऊ !”
मैले चिसो हत्केलातिर हेरेँ । चुलिएको सुस्केरोसँगै मेरो औंलाहरू कठोर भएर गुम्सिए ।
— “आँखा उघार !”
हेरेँ वरिपरि । रातो, नीलो, सेतो रङले सजिएका झण्डाहरू हावासँग खेलिरहेका थिए । तर तल, सडकको धुलोमा बामे सर्न खोज्दै गरेका थुप्रै छायाहरू बिमुख देखिन्थे ।
— “शिर उठाऊ !”
मैले अग्लो पर्खालको छेउमा उभिएका अनुहारहरू देखेँ । उज्यालो भाषणहरूको गर्जन सुनेँ । तिनका शब्दहरू आकाश चुम्न चाहन्थे, तर जमिनमा बाँधिएका पाइला हल्लिएका थिए ।
— “स्वतन्त्र भयौ ?”
म चुपचाप उभिएँ । सिसाको पर्खालभित्र प्रतिबिम्बित मेरो अनुहार धुमिल देखिन्थ्यो ।
— “हेर, गन्ध आउँछ ?”
मैले साँस तानेँ । पाखुरीमा बाँधिएको पुरानो पट्टि च्यातियो । रङहरूको गन्धसँगै एउटा नयाँ गन्ध मिसिन थाल्यो- उन्मुक्तिको ।
– “ल, अब उभिन सिक !”
मैले मुटुको चाल सुनें- पहिलो पटक, निर्भय भएर ।
०००
५. धूलो र धुवाँ
– “नयाँ घाम नउदाएसम्म गोरु जोरिँदैन !”
बुबाको आवाज सुनेर छेउ लागेँ । चोकभरि धूलो उडेको थियो, मानौँ समय आफैँ धमिलो बनेको होस् ।
– “अब त प्रजातन्त्र आयो नि बुबा, अझै किन गोरु जोत्ने कुरा गर्नुहुन्छ ?”
बुबाले सेतो टोपी मिलाउँदै हेरे, “गोरु पो कहाँ जोतियो र ! जोत्नेहरू फेरि फेरिए, तर जुवा त उही पुरानै हो !”
चोकमा झण्डा फहराइरहेका थिए । भाषण भइरहेका थिए । तर धुवाँ अझै बाक्लिएको थियो ।
– “अनि तिमी किन चुपचाप छौ ?” बुबाले सोधे ।
मैले मुख खोलेँ, तर स्वर हराएझैँ लाग्यो ।
बुबाले हाँस्दै थपे, “मौसम फेरिएर के गर्नु, हावा त अझै बिसाक्त छ !”
०००
Subscribe
Login
0 Comments
Oldest







































