फित्काैली डटकमअनेसास नर्दन क्यालिफोर्निया च्याप्टरद्वारा नयाँ वर्ष २०८२ को भव्य स्वागत
क्यालिफोर्नियाको रिचमण्ड शहरमा अवस्थित नेपाली कम्युनिटी सेन्टरमा आयोजित उक्त विशेष कार्यक्रम प्रवासमा रहेका नेपाली समुदायबीच कला, साहित्य र संस्कृतिको संगम बन्न पुग्यो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नर्दन क्यालिफोर्निया च्याप्टरले नेपाली नयाँ वर्ष २०८२ को स्वागत गर्न एक भव्य, भावनात्मक र सिर्जनात्मक कार्यक्रम आयोजना गरेको छ।
अप्रिल १३, २०२५ आइतबारका दिन क्यालिफोर्नियाको रिचमण्ड शहरमा अवस्थित नेपाली कम्युनिटी सेन्टरमा आयोजित उक्त विशेष कार्यक्रम प्रवासमा रहेका नेपाली समुदायबीच कला, साहित्य र संस्कृतिको संगम बन्न पुग्यो।
कार्यक्रमको सञ्चालन अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरका महासचिव नारायण भट्टराई र कोषाध्यक्ष किरण कट्टेलले गरेका थिए। कार्यक्रमको सुरुमा न्यान्सका अध्यक्ष प्रितेश कार्कीले सामुदायिक भवन खरिदका लागि योगदान गर्नुहुने सम्पूर्ण बे एरिया निवासी नेपाली समुदायलाई धन्यवाद ज्ञापन गरेका थिए भने अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष बाबु आचार्यले अनेसासका भावी गतिविधिबारे जानकारी दिएका थिए।
कार्यक्रममा मुख्य रूपमा तीन प्रकारका प्रस्तुति समावेश थिए — कविता, गीत र नृत्य। साहित्यिक सत्रमा च्याप्टरका अध्यक्ष बाबु आचार्य, वरिष्ठ उपाध्यक्ष रिता देवी प्रधान, उपाध्यक्ष दीपक पाठक, सचिव भरत डाँगी, सदस्यहरू बासुदेव घिमिरे, अमर तामाङ, इन्दु तामाङ, साथै डा. टिका लम्साल, प्रा. भरतराज कोइराला, जनकराज ढुङ्गाना लगायतका कविहरूले विभिन्न विधाका रचनाहरू प्रस्तुत गरेका थिए।
गीत र नृत्यका प्रस्तुतिहरूले कार्यक्रमलाई झनै मनोरञ्जक बनाएको थियो। स्वयंसा र स्रियान्सु पोखरेल कार्की, करुणा अधिकारी सन्ज्याल, सोबे धिताल, भौतिक गोले, रसिक थापा लगायतले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। गायक कृष्ण महर्जन, अङ्कित सुनार तथा चर्चित गायिका नलिना चित्रकारका सुमधुर गीतहरूले कार्यक्रमलाई सङ्गीतमय बनाएको थियो। यस्तै, हास्यव्यङ्ग्य सत्रमा नारायण भट्टराईका सशक्त रचनाहरूले हलमा हास्यको तरङ्ग उत्पन्न गरेका थिए।
त्यस दिन नेपाली कम्युनिटी सेन्टरमा नयाँ वर्ष मेलाको समेत आयोजना गरिएको थियो। करिब चार हजारभन्दा बढी नेपालीहरूको सहभागिता रहेको उक्त मेलामा भएको साहित्यिक र सांस्कृतिक कार्यक्रम चार घण्टा सम्म चल्यो। कार्यक्रमको अन्त्यमा सहभागीहरू नलिना चित्रकारका गीतमा झुमेर नाचेका थिए।
०००
– नारायण भट्टराईकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































