फित्काैली डटकमडा.रविलाल अधिकारी स्मृतिग्रन्थ सार्वजनिक
पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख, शिक्षासेवी तथा संस्कृतिकर्मी प्रा. गेहेन्द्रेश्वर कोइरालाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा दर्शनशास्त्री रामराज रेग्मी तथा प्रा.डा. रामनाथ ओझाले स्मृतिग्रन्थमाथि टिप्पणी गरेका थिए ।

पोखरा, २०८२ असार १३ । प्रगतिवादी साहित्यकार रविलाल अधिकारीका स्मृतिमा तथा उनका कृतिहरूको समीक्षा समाविष्ट रहेको ‘रविलाल अधिकारी स्मृतिग्रन्थ’ पोखरामा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको छ ।
अधिकारीको ८० औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा पोखरा, चितवन, स्याङ्जा, तनहुँ, पर्वत, बागलुङ्लगायत स्थानबाट साहित्यकार, पाठक, पत्रकार तथा साहित्यानुरागीहरूले सहभागिता जनाएका थिए ।
साहित्यकार अधिकारीको जीवनी तथा स्मृतिग्रन्थको परिचय संक्षिप्तमा प्रा.डा. यदुनन्दन उपाध्यायले कार्यक्रमको आरम्भमा प्रस्तुत गरेका थिए ।
पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख, शिक्षासेवी तथा संस्कृतिकर्मी प्रा. गेहेन्द्रेश्वर कोइरालाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा दर्शनशास्त्री रामराज रेग्मी तथा प्रा.डा. रामनाथ ओझाले स्मृतिग्रन्थका संस्मरण, समीक्षा, कवितालगायतका खण्डहरूमाथि टिप्पणी गरेका थिए ।
१४२ जना लेखकले योगदान गरेको यस ग्रन्थ अधिकारी परिवारका सदस्यले प्रकाशन गरेका हुन् । रघुनाथ अधिकारीको संयोजकत्वको सम्पादन समितिमा प्रा.डा. यदुनन्दन उपाध्याय, प्राज्ञ डा. कृष्णराज अधिकारी, नारायण मरासिनी, भीम रानाभाट, नारायण परिश्रमी सदस्य रहेका छन् ।
कार्यक्रममा प्रकाशन समिति संयोजक रहेकी अधिकारी पत्नी सम्झनादेवी अधिकारीले ग्रन्थ प्रकाशनका सन्दर्भमा सुरुदेखि सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन सम्पादन समिति सदस्य नारायण मरासिनीले गरेका थिए । अधिकारी पुत्र प्रमोद अधिकारीले सहभागी सम्पूर्णलाई स्वागत गरेका थिए ।
५७६ पृष्ठको स्मृतिग्रन्थ अब छिट्टै देशैभरिका पाठकलाई उपलब्ध हुने जानकारी प्रकाशन समितिका सदस्य प्रमाण अधिकारीले गराए ।
०००
प्रमाण अधिकारीकाे साैजन्यमा थप केही तस्विरहरू


Subscribe
Login
0 Comments
Oldest





































