साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नन्दलाल आचार्यको ‘शल्यक्रिया’ कथाकृति लोकार्पण

विमोचन गरे- पाँच संस्कार, पाँच संस्कृति र पाँच चेतनाका प्रतिनिधिहरू : पासाङमाया तामाङ, लक्ष्मी यादव, रानी महतो, रोशनी ठाकुर र पुनिता साहहरूले । उनीहरूलाई ‘पञ्चकन्या’ को संज्ञा दिइयो, तर यो टिका-धुपी कर्मकाण्ड होइन, कथा र चेतनाको साक्षात् स्पर्श थियो ।

Nepal Telecom ad

सिरहा, २०८२ साउन १२ गते । कथा अब त्यस्तो होइन, जुन कक्षा १० को अन्तिम घण्टीमा शिक्षकले बाँचुन्जेल नबुझेको पाठ सम्झिएझैँ रटिँदै पढ्नुपर्छ । कथा अब चुरोटको धुवाँजस्तो कल्पनामा उड्ने होइन, टन्नै आँखा रसाउने संवेदना हो । अनि ‘शल्यक्रिया’ भनेको अब अस्पतालको शब्द होइन, समाजलाई भित्रैभित्र चिर्ने कलम हो !

यही अनुभूति भयो- सिरहाको गोलबजार-४ स्थित श्री बुढानिलकण्ठ आवासीय माध्यमिक विद्यालयको आँगनमा । जहाँ सादा मन्च, मिठो घाम र भावुक मुखौटाहरूबीच एक जना शिक्षकले लेखेको कथासङ्ग्रह ‘शल्यक्रिया’ विमोचित भयो । किताब खोल्न कैंची वा कर्दको खाँचो परेन, पाँच किशोरीको उज्यालो मुस्कान र भिन्न पहिचानले नै कथा बिऊ बनायो ।

हो, विमोचन गरे- पाँच संस्कार, पाँच संस्कृति र पाँच चेतनाका प्रतिनिधिहरू : पासाङमाया तामाङ, लक्ष्मी यादव, रानी महतो, रोशनी ठाकुर र पुनिता साहहरूले । उनीहरूलाई ‘पञ्चकन्या’ को संज्ञा दिइयो, तर यो टिका-धुपी कर्मकाण्ड होइन, कथा र चेतनाको साक्षात् स्पर्श थियो । यिनको हातबाट विमोचित किताबमा लेखिएका पीडाहरू, वाचाल भए !

धार्मिक मिथककी कुन्ती र अहल्याको नामलाई त अचेल धेरैलाई टेलिसिरियलबाहेक सम्झना छैन । तर आजका यी पाँच किशोरीले ती मिथकलाई पुनर्जन्म दिए- गफ नगरी व्यावहारमा ! हिजोका देवीहरू अब विवेकशील छोरी बनेर समाज बदल्न लागे जस्तो लाग्यो, अनि लेखक नन्दलाल आचार्यको मुहारमा मुस्कान टल्कियो ।

विद्यालयका प्रधानाध्यापक रामवरण यादव पनि कमै थिएनन्- न भाषणमा, न आत्मीयतामा । उनीभित्र लुकेको साहित्यप्रेम त यस्तो थियो, लाग्थ्यो बोर्ड परीक्षा पास गराउने होइन, समाजको परीक्षा पास गराउने गुरु हुन् । उही स्वरमा भने- “अब पाठशालाले केवल किताब पढाउँदैन, चेतना पनि पढाउँछ ।”

‘शल्यक्रिया’ कथाको मात्रै सङ्ग्रह होइन, जताततैको दु:खको चिरफार हो । तराई–मधेसका गल्ली, गुञ्जन, गन्हाउने गल्ली र गुम्सिएका आवाजहरूको भित्री कथा हो । २२३ पृष्ठको यस कृतिमा २० वटै कथा पिज्जाको टुक्राजस्तो सस्तो छैनन्; हरेक टुक्रा पूरै पेट र मुटु दुबै भरिने खालका छन् ।

मूल्य त ३५० मात्र हो, तर मूल्यभन्दा बढी मूल्यवत्ता बोकेको कृति हो । प्रकाशक शब्दाङ्कुर मासिक, काठमाडौँ हो । भूमिका त लेखिदिएका छन् खेमराज पोखरेल, पुण्य कार्की, जयराम अधिकारी र धीरकुमार श्रेष्ठले, जसरी नेपाली सिनेमा हेर्नुभन्दा पहिल्यै इन्ट्रो हेर्ने चलन छ, ठीक त्यस्तै भूमिका यहाँ स्वादिलो सलाद बनेर आएका छन् ।

कार्यक्रम सञ्चालन गरिन्- रितिका साहले । उनको लयात्मक उद्घोषण थियो, लयमात्र नभई लगन पनि थियो । उनले कथा पढिन् या वचनमा बाँधिन् भन्ने भेद छुट्याउन मुस्किल पर्थ्यो ।

साक्षात् सहभागी विद्यार्थीहरू थिए झन्डै ९० जना । कक्षा ८, ९, १० का किशोर-किशोरहरू । उनीहरूको उपस्थिति कुनै डेक्चीभित्र कोचेको चना हैन, त्यो जागेको चेतनाको परिकार थियो । न भाषण नटुङ्गिँदा ‘अब त पानी खान दिनुपर्छ नि!’ भन्ने गुनासो, न मोबाइलमा ‘फेसबुक खोलेर’ बसेको कुनै मुख- बस्, एकोहोरिएका अनुहार ।

एक किशोरी अञ्जली यादवले त त्यसरी भनिन्, सायद नेपाली साहित्यको भावी समीक्षक उनै हुन्- “हामीले किताबसँग हात मिलायौँ, त्यो हाम्रो आवाजमा बाँच्न थाल्यो !”

हुन त विमोचनको बेला किताबको धुलो पुछ्ने काम पहिले प्रिन्सिपलले गर्नुहुन्छ भन्ने आमधारणा हो तर आजको कार्यक्रमले त्यो भ्रम हटायो । न पुस्तकमाथि अबिर छर्कियो, न हारमाला ओढाइयो तर कथाहरूले त्यत्तिकै सौन्दर्य पाए ।

वक्ताहरूले बोले- यिनी कथा होइनन्, क्रन्दन हुन् । विवरण होइनन्, विद्रोह हुन् । अनि लाग्यो- कथा अब भित्ताको पोस्टर होइन, पाठशालाको शिखर हो ।

कथा अब पढ्ने कुरा मात्र होइन- पढ्न सिकाउने घटना हो । कथा अब शिक्षकको कलम होइन, विद्यार्थीको कर्ण हो ।

‘शल्यक्रिया’ अब केवल विमोचित मात्रै भएन । यो एउटा विमर्श बन्यो । विमोचन भयो- शालीनतामा, सङ्गतिमा र एकल स्वरबाट सामूहिक स्वरसम्मको यात्रामा ।

अब पाठशालामा किताबले होइन, किताबले पाठशालालाई पढ्न थालेको छ ।

०००
रोजिना धमला, सिरहा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
आचार्य नन्दलाल
आचार्य नन्दलाल
8 months ago

Nanda Lal

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x