फित्काैली डटकमएकल रचना वाचन कार्यक्रममा गुन्जिइन् स्रष्टा स्मृति योगी
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरीले लेखक र साहित्यकार समाज, देशको माटो र स्वयम् आफूप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै यी सबै गुण स्रष्टा योगीका रचनामा भएको बताए ।

दाङ, २०८२ पुस २५ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्ने नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गरेकी छिन् ।
परिषद्ले शुक्रवार आयोजना गरेको एकल रचना वाचन कार्यक्रममा स्रष्टा योगीले कविता, गजल र मुक्तकमार्फत् आफ्ना अनुभूति र समाजप्रतिको दृष्टिकोण श्रोता माझ प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा वाचन गरिएका रचनामा माया–प्रेमका सूक्ष्म भाव, व्यक्तिगत भोगाइ, समाजको यथार्थता र समसामयिक राजनीतिक परिवेशप्रति व्यङ्ग्य तथा वर्तमान सामाजिक परिवेश समेटिएका थिए । स्रष्टा योगीले संवेदनशील भावनालाई कलात्मक शैलीमा प्रस्तुत गर्दै समाजभित्र विद्यमान विकृति, विसङ्गतिमाथि प्रश्न उठाएकी थिइन् । सरल शब्द चयन र गहिरो भाव समेटिएका उनका रचनाले उपस्थित श्रोताको ध्यान खिचेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरीले लेखक र साहित्यकार समाज, देशको माटो र स्वयम् आफूप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै यी सबै गुण स्रष्टा योगीका रचनामा भएको बताए । साहित्यमा विशेषतः एउटा सानो कविताले सिङ्गो आख्यान नै बोकिरहेको बताउँदै प्रमुख अतिथि डा. गिरीले समाजमा विद्यमान विकृति र विसङ्गतिलाई प्रत्यक्ष वा साङ्केतिक रूपमा योगीका रचनाले पनि बोकेको बताए । ‘साहित्यिक रचना सधैँ सजिलै बुझिने खालका मात्र हुँदैनन्, साङ्केतिक अभिव्यक्तिलाई बुझ्ने संवेदनशील पाठक पनि आवश्यक छ’, उनले भने ।
स्मृति योगीका रचनामा समाज, माटो र आत्मप्रतिको जिम्मेवारी स्पष्ट देखिएको उल्लेख गर्दै डा. गिरीले लेखनलाई निरन्तरता दिन आग्रह समेत गरे । राप्ती साहित्य परिषद् केन्द्रका पूर्वअध्यक्ष पुरुषोत्तम खनालले योगीले वाचित रचनाहरूले समाजको यथार्थतासँगै सर्जकका निजी भोगाइलाई सशक्त रूपमा समेटेकोमा खुसी व्यक्त गरे । उनले आफ्ना जीवनको भोगाइलाई साहित्यमार्फत् कलात्मक शैलीमा प्रस्तुत गर्न सके रचना अझ जीवन्त बन्ने धारणा राखेका थिए ।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुरेश पाण्डेले स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण परिषद्का सचिव घनश्याम केसीले गरेका थिए ।
कार्यक्रममा विभिन्न साहित्यप्रेमी, सर्जक तथा पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यस किसिमका साहित्यिक कार्यक्रमले स्थानीय साहित्यिक वातावरणलाई चलायमान बनाउनुका साथै नयाँ र स्थापित सर्जकलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्ने आयोजकको भनाइ थियो । स्रष्टा योगीको एकल रचना वाचनले राप्ती क्षेत्रको साहित्यिक गतिविधिमा थप ऊर्जा थपेको उपस्थित साहित्यकारको धारणा रहेको थियो ।
०००
दाङबाट सुरेशकुमार पाण्डेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































