फित्काैली डटकमआनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानको काव्य महोत्सव सम्पन्न
कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष डा. महेश्वर शर्माले गर्नुभएको थियो। समारोहका प्रमुख अतिथि साहित्यकार तथा पूर्वमन्त्री नरहरी आचार्य रहनुभएको थियो।

काठमाडौँ, २०८२ माघ २५ । पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानको आयोजनामा काव्य महोत्सव २०८२ तथा विद्यार्थी एवं स्रष्टा सम्मान तथा पुरस्कार समारोह काठमाडौँको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष डा. महेश्वर शर्माले गर्नुभएको थियो। समारोहका प्रमुख अतिथि साहित्यकार तथा पूर्वमन्त्री नरहरी आचार्य रहनुभएको थियो। कार्यक्रम सुरु हुनु अघि उपस्थित प्रमुख अतिथि, अतिथि तथा सहभागीहरूको स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष प्रेमराज लुइटेलले व्यक्त गर्नुभएको थियो।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि आचार्यले ब्यानर वाचन गर्दै गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा उहाँले पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले प्राज्ञिक क्षेत्रको उन्नयनका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। साथै स्याङ्जाको फापरथुमस्थित आनन्द आश्रम ज्ञान केन्द्रले सञ्चालन गर्दै आएको साहित्यिक गतिविधिको पनि स्मरण गर्नुभयो।
समारोहमा प्रतिष्ठानद्वारा सम्मानित तथा पुरस्कृत साहित्यकार एवं शिक्षासेवी पिताम्बर शर्मा नेपाली र समर्पित स्वास्थ्यकर्मी जानकी पूजारा साउदको जीवनवृत्तबारे संस्थाका सदस्य तथा साहित्यकार डा. रमेश सुवेच्छुले चर्चा गर्नुभएको थियो।
सो अवसरमा साहित्यकार तथा शिक्षासेवी पिताम्बर शर्मा नेपालीलाई नगद रु ३०हजार ताम्रपत्र र दोसल्लासहित ‘पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्यिक सम्मान तथा पुरस्कार’ प्रदान गरिएको थियो। यस्तै, बैतडीकी स्वास्थ्यकर्मी जानकी पूजारा साउदलाई नगद रु १५ हजार प्रमाणपत्र र दोसल्लासहित ‘सूचन बाल स्वास्थ्य सम्मान’ प्रदान गरिएको थियो।
त्यसैगरी, स्याङ्जाको आनन्द आश्रममा सम्पन्न जिल्लास्तरीय कविता प्रतियोगितामा छात्रातर्फ उत्कृष्ट भएकी स्मारिका अर्याल (पूर्णामृत भवानी माध्यमिक विद्यालय, वालिङ) र छात्रतर्फ उत्कृष्ट भएका सम्पन्न पोखरेल (प्रद्युम्न पनेरु माध्यमिक विद्यालय, रङ्गेठाँटी)लाई जनही नगद रु ६ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। यस्ता सर्जक विद्यार्थी उत्पादन गर्न सफल पूर्णामृत भवानी माध्यमिक विद्यालय र प्रद्युम्न पनेरु माध्यमिक विद्यालयलाई समेत प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा लघुकथाकार ध्रुवराज थापा ‘पुरुष’ र सुनिता निरौला पौडेलले लघुकथा वाचन गर्नुभएको थियो। लघुकथाकार तथा कवि एन्जेल निलुले मैथिली भाषामा ‘आमा’ शीर्षकको कविता वाचन गर्दा सभाहल भावुक बनेको थियो। साथै चेतन बस्नेत ‘ठूलाघरे’, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, राधा कार्की, सागर काफ्ले, प्राडा शेषकान्त अर्याल र भरत बस्नेतले कविता वाचन गर्दै कार्यक्रमलाई उत्साहपूर्ण बनाउनुभएकाे थियाे ।
कार्यक्रममा प्राडा भागवत ढकाल तथा लघुकथा समाज नेपालका अध्यक्ष एवं मधुपर्क पाक्षिकका सम्पादक तुलसीहरि कोइरालाले आयोजक संस्थाको भूमिका र कार्यक्रमको महत्वबारे चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
अन्त्यमा संस्थाका अध्यक्ष तथा सभापति डा. महेश्वर शर्माले वैदिक परम्पराअनुसार ‘सभाभ्यश्च सभापतिभ्यश्च’ को व्याख्यासहित कार्यक्रम समापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सचिव डा. सुस्मिता ढकालले गर्नुभएको थियो।
०००
समाचार श्राेत : शब्दपथ
Subscribe
Login
0 Comments
Oldest







































