रामशरण न्याैपानेछैनन् धरामा अरू
थोरै हुन्छ बखान गान यिनको के आज मैले गरूँ ? गर्छिन् सुन्दर सृष्टि पालन यिनै सेवा यिनैमा धरूँ आमा नै नभए सुरम्य धरती यो हुन्छ सिङ्गो मरु आमातुल्य दयावती भगवती छैनन् धरामा अरू ।

सारा सृष्टि सुचारु राख्न विधिले चाहेर नै बेसरी
उम्दा रूप दया र धर्म सहितै ती मातृकाको धरी
आए ईश्वर खास यो अवनिमा रोजेर त्यो आबरु
आमातुल्य दयावती भगवती छैनन् धरामा अरू ।।१
छातीभित्र बहन्छ स्नेह-झरना समृद्ध गङ्गा अनी
जस्तै सङ्कटमा परे पनि हरे भेटिन्छ सञ्जीवनी
दिन्छिन् पोषण दुग्धधार सबमा पीयूष जस्तै बरु
आमातुल्य दयावती भगवती छैनन् धरामा अरू ।।२
बन्दै स्तम्भ कडा गृहस्थ सबका वेजोड सन्चालिका
पार्छिन् स्वर्ग समान रम्य घर जो बन्दै बडीमालिका
राख्छिन् जो परिवार नै सुखदमा घोटेर हड्डी हरू
आमातुल्य दयावती भगवती छैनन् धरामा अरू ।।३
गर्छिन् रोज तिनी सुकर्म गतिलो सन्तानका खातिर
हर्ने साहस हुन्छ भित्र तिनमा सम्पूणर् चिन्ता पिर
बस्छिन् ओत बनेर ढाडस दिँदै तातुल्य अग्लो तरु
आमातुल्य दयावती भगवती छैनन् धरामा अरू ।।४
थोरै हुन्छ बखान गान यिनको के आज मैले गरूँ?
गर्छिन् सुन्दर सृष्टि पालन यिनै सेवा यिनैमा धरूँ
आमा नै नभए सुरम्य धरती यो हुन्छ सिङ्गो मरु
आमातुल्य दयावती भगवती छैनन् धरामा अरू ।।५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































