डा. विदुर चालिसेज्योतिर्लिङ्ग
आङ्गमा खरानीको धूलो उड्न थाल्यो । भक्तहरूले प्रार्थना गर्न लागे । प्रार्थना गर्दै शिवलिङ्गमा ढोग्न थाले । एकदिन संचार मठका फट्टाहरूलाई पनि झोंक चल्यो ।

मन्दिरभित्रको ईश्वरको दर्शन गर्न लालायित भक्तहरूको भीड खचाखच थियो । उनीहरू ईश्वरको खोजी गर्न भौंतारिरहेका थिए । छेउमा रूद्राक्षको माला बेचिरहेको व्यापारीले भन्यो ।
– “भगवानलाई माल चढाउनुस हजुर ! स्वर्गमा बास पाइन्छ !”
त्यसपछि भक्तहरू मठमा पुगे । मठमा नैवेद्य, फूल, अछेता र पाती चडाएर अर्को भक्तलाई सोधे ।
– “मठमा को बस्छ ?”
– “कनफट्टा ! अर्थात कान फाटेको मान्छे !”
ईश्वर खोज्न हिंडेका भक्तहरू कनफट्टा भेटेपछि उनीहरूलाई ओैडाहा चल्न थाल्यो । शिवरात्रीको रातमा महादेवले ताण्डव नाच नाच्दैथिए । अन्य भक्तहरू सम्मोहन र प्रणयमा कराउन थाले ।
– “हर हर महादेव, कैलाशपति !”
उता संचार मठमा पनि फट्टाहरूको बर्चस्व थियो । उनीहरूको पनि शिवजीको ताण्डव नृत्य झैं नाच्ने आफ्नै मन्त्रहरू थिए ।
– “लोकतन्त्रमा चौथो अङ्गको गरिमा !”
शिवजीको जस्तो यिनीहरू एउटै अङ्गका थिएन । बहु अङ्गका भएकाले यिनलाई चौंथो अङ्ग भनिन्थ्यो । यिनका गुरूले एक दिन कुरैकुरामा सोधे ।
– “वास्तविक तिमीहरूको अङ्ग के हो ?”
उनीहरूले भ्रमका गफ दिएर खबर बनाए । आग्रहको कथा र पूर्वाग्रहको पुलिन्दा पेसे ।
– “बोली फाटे लाटो, कान फाटे बहिरो ।”
कैलाशपतिले नाच्दानाच्दै बाघको छाला खुस्काएर भूईंमा झारे झैं यिनको पनि जाङ उदाङ्गो भयो । आङ्गमा खरानीको धूलो उड्न थाल्यो । भक्तहरूले प्रार्थना गर्न लागे । प्रार्थना गर्दै शिवलिङ्गमा ढोग्न थाले । एकदिन संचार मठका फट्टाहरूलाई पनि झोंक चल्यो । भित्रभित्रै घोषणा गरे ।
– “सक्काइदे साला यिनलाई !”
– “सक्कियो त ज्योतिर्लिङ्गको ज्योति !”
उपस्थित सबैजनाले अन्त्यमा भगवान भरोसाको आशामा वाणी फुटाए ।
– “शिवलिङ्ग कि जय !”
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































