आँसु झार्ने नपार
आफैँ ज्यादा परपर भए टाढिए वा हराए पाकाको नै दिलबिच ठुलो चोट मात्रै गराए टाढा राखीकन विरहमा तड्पिने बार बार आमा बाबाकन सपुतले आँसु झार्ने नपार ॥
रामशरण न्यौपाने :
यी हुन् हाम्रा सकल जिउँदा देव देवी समान
हाम्रो देही फगत यिनकै रक्तको हो निसान
त्यो थाप्लोमा खुन र दुधको ढेर बोकेर भार
आमा बाबाकन सपुतले आँसु झार्ने नपार ॥१
दाता धाता खुद विरहमा वेदनामा डुबाई
हेला गर्दै अति पर बसी सम्झनामा रुहाई
पार्दै ज्यादा तकलिफ हरे गर्न छोडी विचार
आमा बाबाकन सपुतले आँसु झार्ने नपार ॥२
वृद्धावस्था दिन प्रतिदनै देहमा पर्छ बाधा
पार्दा खारीकन विचिध ती रोगले देह आधा
यो माटोमा त्यस कपुतले बाँच्नुको हुन्न सार
आमा बाबाकन सपुतले आँसु झार्ने नपार ॥३
आफैँ ज्यादा परपर भए टाढिए वा हराए
पाकाको नै दिलबिच ठुलो चोट मात्रै गराए
टाढा राखीकन विरहमा तड्पिने बार बार
आमा बाबाकन सपुतले आँसु झार्ने नपार ॥४
वृद्धावस्था बिच सकसले धान्न रोजै गुहस्थी
हड्डी घोटीकन शिव हरे नित्य खाएर सास्ती
बृद्धा हाम्रा अपितु नपरुन् बन्नलाई सिकार
आमा बाबाकन सपुतले आँसु झार्ने नपार ॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest