सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

काण्डैकाण्ड

ठूलाबढाले सानालाई आशीर्वाद दिँदा तिमी ठूलो मान्छे भएस्, डाक्टर भएस्, मास्टर भएस्, इन्जिनियर भएस् भन्छन् । कसैले तिमी ठूला काण्ड बनाउने भएस् भनेको अहिलेसम्म कतै सुनिएको छैन ।

Nepal Telecom ad

कति भाग्यमानी छौँ हामीहरू चौबिसै घण्टा काण्ड हेर्न पाउने । बिहान उठेदेखि राति सुत्ने बेलासम्म मात्र होइन निदाउँदा सपनामा त झन् मज्जाका काण्ड देख्न पाइन्छ । अब तपाइँहरूले नै गन्नोस् त बिहानैदेखिका काण्डहरू । बिहान बिस्तारामा नै जोईपोइ काण्ड । बेड टी कसले बनाउने भन्ने विषयमा । पोइले जोईलाई बनाउन भन्छ । जोईले समावेशी समय हो भन्दै पोइलाई बनाउन भन्छिन् ।

खाना बनाउन किचनमा छिर्‍यो पकाउने कुरा केही छैन । यस्तो के भएछ हँ भनेर बुझेको त महङ्गी काण्ड रे । ठीकै भो कमसेकम पकाउन त परेन । कुनै काम विशेषले घर छोडेर बाहिर निस्कदा बाटोमा निकै गुणस्तरको जाम काण्ड । जाम भन्ने बित्तिकै हजुरहरूले चारपाङ्ग्रे, दुइपाङ्ग्रे, सवारीको जाम भन्नुभएको होला । अझ त्यो भन्दा पनि उच्चकोटिको आधुनिक जामकाण्ड राजधानी शहरमा कति छ कति । दुई खुट्टे सवारीको जेब्रा क्रसिङ्मा मात्र होइन, एउटा पसलबाट अर्को पसलको सीधा क्रसिङमा समेत कम्तिमा पन्ध्र मिनेटको जामकाण्ड पार गर्न पाइन्छ । वीर गोर्खालीको देश भएर होला है निकै बलिया-बलिया काण्ड फेला पर्ने ।

अरे बा- सरकारी अफिसमा काण्ड त झन् विकासे नै हुँदारहेछन् । कुनै काम लिएर गयो, कामभन्दा ठूला प्रमाणका काण्ड बुझाउनु पर्ने । धर्ती, आकाश, पाताल बोकेर लैंजादा पनि फ्याट्ट यो पुगेन भन्छन् वा । कति शक्तिशाली छन् सरकारी अफिसेका काण्ड । एक दिन त हो हजुरबाबाको मृत्युदर्ता गराउन गएको त मृत्युदर्ता गराउँन जिउँदो हजुरबाबा नै चाहिन्छ भन्छन् बा । आफू परियो हसियाँ जस्तै सोझो मान्छे पटक्कै कुरा बुझिएन । अर्को साथीले भन्यो अन्टसन्ट छोड् -एउटा खाममा जति सक्छस् हात्ती-गैँडा कोचेर दे त काम भैहाल्छ । हो रहेछ त काम त फ्याट्टै भैहाल्यो । सरकारी अफिसका काम फटाफट गराउन सक्ने काण्डमा पी.एच.डी.गरेको मेरो साथी निकै असल छ क्या । उसले एकपटक आफ्नो बाबाको सम्पत्ति हातपार्न उसको बाबा जिउँदै हुँदा मृत्यु दर्ता गरेछ र सबै सम्पत्ति आफ्नै नाममा सारेछ । त्यसो भएर पो मलाई खाममा हात्ती र गैँडा कोच्ने फरमूला बताएको रहेछ ।

काण्डैकाण्डमा निकै ठूलो समृद्धि हासिल गरेको छ देशले । जनसंख्या घटाउनको लागि परिवार नियोजनका अस्थायी साधन निशुल्क बाँड्ने काण्ड मात्र होइन अरु धेरै काण्डहरू बिस्तार गरेको छ । सडकमा गुड्ने दुईपाङ्ग्रे काण्ड, चारपाङ्ग्रे काण्ड, सडकमा हिड्ने दुईखुट्टे काण्डदेखि आकाशमा उड्ने काण्डसमेत थपेका छन् । काण्ड बढाउने हाम्रो बुद्धि, विवेकलाई पूजा गर्नु नै उत्तम हुन्छ बा । बिग्रेका, थोत्रा भएका सवारी साधनको मर्मत किन गर्नू ? फाइदै -फाइदा आइराछ, चल्नलाई किन रोक लगाउनू ? थोत्रा गाडीमा आफू हिड्नु पर्दैन । मर्ने भनेका साधारण नागरिक हुन् । पैसा आउँछ-यातायात व्यावसायीलाई फाइदा । जनसंख्या घटाउनु छ, झ्याप्प एकैपटक सयौँ जना मर्छन् सरकारलाई फाइदा ।

आजभोलि त अझ सडक काण्डको फाइदा कम भएर हवाईकाण्ड बनाउने काममा त झन् छलाङ् नै मारेका छन् । साना मात्र होइन बिग्रेका ठूला जहाजलाई समेत भएभरको बल प्रयोग गरेर धावन मार्गमा हिँडाउने अनि जबरजस्ती उडाउने गर्छन् । कति शक्तिशाली हुन् हाम्रा नेपाली । कति बहादुर हौँ हामी । प्रथम र दोस्रो विश्वयुद्ध ताका मान्छे मार्नलाई, शत्रुपक्ष मार्नलाई मूढेबल प्रयोग गर्ने नेपालीहरू अहिले आधुनिक भएर जहाज उडाउन समेत मुढेबल प्रयोग गर्छन् । अब त झन् विश्वले नै सम्मान गर्ला जस्तो छ । हाम्रा ठूला-ठूला जहाज काण्डलाई ।
रातमा चारगुणा र दिनमा आठगुणा फस्टाएको छ काण्डको कारोबार । नेप्सेको कारोबार हो घटबढ हुने, काण्डको कारोबारमा त सधैँ हरियो बत्ती । जता हेर्नोस्, उतै काण्ड । अहिले राजनीतिकाण्ड पनि निकै रोचक छ । कुन, कति बेला मन्त्री बन्छ थाहा नै छैन । सरकारको समीकरण बताउन पनि आई.क्य.ूमा पी.एच.डी. गरेको विश्लेषक नै चाहिने भएको छ । हजुरहरूलाई कस्तो भाछ कुन्नि ? मलाई त यसो राम्रो सपना देखेको दिन मन्त्री खान बोलाउछन् कि भन्ने लाइराछ भन्या । दौरा सुरवाल पनि सिलाइसकेँ । त्यही भएर मोबाइल हातमा लिइराछु गोजीमा राख्दा थाहा नपाएर मन्त्री पद मिस कल होला भन्ने डरले ।

नेपालमा सबैलाई फाप्ने काण्ड हो भ्रष्टाचार काण्ड । सबैलाई फाइदा मात्रै आउने यो काण्डलाई त अझ महाकाण्ड भन्नु भए हुन्छ । सरकारी, निजी, सहकारी र अन्य सबै संयन्त्रको हलक्क विकासे मल हालेको जस्तै नाफा गर्ने काण्ड हो भ्रष्टाचार काण्ड । लाखौँको रकम लिएर टाप कस्ने समृद्ध सहकारी पनि हेरियो । अख्तियार दुरुपयोगको कारवाही गर्छु भन्ने माननीयले नै भ्रष्टाचार काण्डको गुदी रस पिएको पनि देखियो । उनीहरूले नै एकै रातमा आफू र आफ्ना जतिलाई कमाल बनाउने काण्ड बनाएका छन् । अचम्मै छ, काण्डैकाण्डको रस खान थालेपछि अन्त त आँखा नै लाग्दैन क्या । पहिला पहिला धन देखेपछि महादेवका त्रिनेत्र भन्थे । आजभोलि त काण्ड देखेपछि महामानवका छ नेत्र भन्दा पनि कमी होला भन्ने पिर ।

काण्डैकाण्डको खेती गर्न कति सिपालु छौं हामीहरू । एउटा काण्ड भएपछि-वर्षौवर्षसम्मलाई त्यही काण्डले पुग्छ । नपत्याउनुभएको भए निर्मला हत्याकाण्ड हेर्नु भए हुन्छ । जस-जसका, जतिवटा सरकार फेरिए पनि पुरानो काण्ड सकिदैन । त्यसलाई सुरक्षित राख्दै अर्को नयाँ काण्ड थप्न निकै सिपालु छौँ हामी । आफू बसेको रुखको हाँगो काट्ने महामुर्ख कालिदास पछि कसरी कसरी प्रकाण्ड विद्वान भए भन्ने सुनेको थिएँ । पच्चिस वर्षसम्म कहीँकतै काम नलाग्ने बुर्जुवा शिक्षा हासिल गरेका हामीले यति ठूला-ठूला महान् काण्ड घटाउन सक्ने विद्वान् कसरी भयौँ ? आफूलाई त अचम्मै लाइराछ भन्या ।

हामी सबै काण्डप्रेमी छौँ । हामी सबैको प्रमुख काम, प्रमुख लक्ष्य र प्रमुख उद्देश्य भनेकै काण्ड बनाउने हो । जब काण्ड बनाउने लत लाग्छ तब ठूला-ठूला साल, सिसौका रुखका काण्ड भन्दा बलिया हुन्छन् बाबै नेपालीले बनाएका काण्ड । छानबिन समिति, उपचार समिति, चिरफार समिति, अप्रेशन समिति छोडेर आयोग नै गठन गरे पनि कसैले केही गर्न सक्दैनन् । बरु ती गठन भएका सबै समिति मिलेर अर्को महान् काण्ड बनाउँछन् । हामी सबैको आफू र आफ्नाको भलो गर्ने, आफू र आफ्नालाई फ्लो गर्ने महान् अस्त्र भने पनि काण्ड हो, राम्रो वस्त्र भने पनि काण्ड नै हो ।

हाम्रो बुद्धिलाई मान्नैपर्छ क्या । यूनिभर्सिटीको परीक्षा दिँदा कति पटक चिट चोरियो न त गनीसाध्य छ, न त भनीसाध्य । कहीँकतै चिट नचोरीकन, कुनै विश्वविद्यालयमा नपढीकन काण्डैकाण्ड बनाउनमा विद्यावारिधि नै गर्न सक्ने क्षमता हामीमा कसरी आयो ? कहाँबाट आयो ? दर्शन कै कुरा गर्दा हामी पूर्वीय दर्शनका अनुयायीहरू । दर्शनका किताब पढ्दा कहीँकतै काण्ड बनाउने शुत्र छैन । हाम्रा पूर्खालाई काण्ड बनाउने पेशा मनपर्ने पनि होइन । ठूलाबढाले सानालाई आशीर्वाद दिँदा तिमी ठूलो मान्छे भएस्, डाक्टर भएस्, मास्टर भएस्, इन्जिनियर भएस् भन्छन् । कसैले तिमी ठूला काण्ड बनाउने भएस् भनेको अहिलेसम्म कतै सुनिएको छैन । हामी सबैमा काण्ड बनाउने अद्भूत क्षमता कहाँबाट आयो ? कताबाट आयो ? किन आयो ? कसरी आयो ? अब खोज्नैपर्ने भएको छ । म खोज्छु, हजुरहरूले पनि खोज्नुहोला । आ-आफ्नो मनलाई सबैले सोध्नुहोला । रात रहे अग्राख पलाउँछ भन्छन् भने सबैले सोधेपछि, खोजेपछि सबै काण्डहरूको जरो कसो फेला नपर्ला र ?

०००
स्याङ्जा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
ज्युनार गोष्ठी !

ज्युनार गोष्ठी !

गायत्री परिरोशनी
कुरा काट्नुको मज्जा !

कुरा काट्नुको मज्जा !

गायत्री परिरोशनी
सहकारी खेती

सहकारी खेती

गायत्री परिरोशनी
सिंहदरबार माने बाघदरबार

सिंहदरबार माने बाघदरबार

गायत्री परिरोशनी