माधव पोखरेल गोज्याङ्ग्रेअन्याय विनाको न्याय
हामी अन्याय नै गर्दैनौ भने न्याय खोजेर कहाँ पाइन्छ त ? नपत्याए नून खान पल्केर पनि कागको पछि लाग्नेहरूलाई सोध्नोस् त ? गणतन्त्र होइन गनतन्त्र भित्रिएको मुलुकको आधुनिक न्याय यही हो ।

यो नेपाल हो यहाँको कानून दैवले जानुन भन्ने उखान बूढापाकाले त्यसै चल्तीमा ल्याएका हैनन । हिजो न्याय नपाए गोरखा जानु भन्थे अहिले अन्याय सहनु परे गोरखा जानु भन्ने उखान चलन चल्तीमा आएको छ । हुन त उखानको बखान गरेर साध्य र अन्यायको निसाफ गरेर कहिल्यै नसकिने यो देसमा अन्याय बिना नै न्याय खोज्ने परम्पराले संस्कारको तिरस्कार गरिरहेको छ । अन्याय गर्ने यो मुलुकमा कोही छैनन् त्यसैले कोही पनि कार्यवाहीमा पर्दैनन् । कानुन कार्यान्वयन गर्ने गराउने निकाय यो कुरामा सजग छ, सक्षम छ, सबल छ, प्रतिबद्ध छ भन्ने कुरा सुरक्षा निकायको किंकर्तव्य मुढताबाट स्पष्ट भएको छ ।
मेचीदेखि महाकालीसम्मको घटना केवल समाचार हुन सदाचार होइनन । न्यायिक घटना हुन अन्यायिक होइनन । बनावटी हुन कार्यवटी होइनन, देखावटी हुन घटनावटी होइनन भन्ने कुराको पुष्टी पनि व्यवहार र कार्यशैली हेर्दा हामी आफै झेली र फेली जस्ता हुन्छौ । यस्ता कुराको नालीबेली र लहराका कुरा हामी छुरा भएर निस्किएको हो भन्ने कुराको बुझाइमा रहेकाहरूले बुझ्नु पर्ने कुरोको चुरो कहाँ लुकेको छ त्यो कुरा हामी अन्याय नगरिकन नै न्याय खोज्नेहरूले बुझ्दैनौ । भनौ हामीले बुझ्ने र बुझाउने कुरा यो देसमा हामी शेष भए पनि हुँदैन भन्दा कुनै बिगार ठहरिदैन ।
समय सपनामा दौडिरहेको छ । समयले हामीलाई हजारौ सपना देखाएर निरासावादी बन्न सिकाएको छ । हामी आशावादीहरू कहिले सपनावादी बन्छौ त कहिले निरासावादी अनि कहिले अन्यायवादी बनेर न्यायको भिख माग्छौ । आज महाकाली रोइरहेको छ, मेची चिच्याइरहेको छ, हिमाल पहाड बगिरहेको छ, तराई कराइरहेको छ । कसले सुन्ने र आसावादी कुरा गरिदिने । कुरा गर्यो कुरैको दुःख, न्याय उडाउन पाए सबैलाई सुख भन्ने उखानले जरो गाडेको यो मुलुकमा अन्यायको महल ठडिइरहेको छ । कतै सपनामा न्याय देखियो भने पनि अब तर्सेर हाम्रो सातो जाला भन्ने डरले त्राही त्राही बन्नु परेको यो अवस्थामा हराएको मानवता फर्केकोझैँ भान हुनेछ । कालो स्वरुपको र प्रकृतिको मानवलाई कालो भन्नु सरासर झूठ र अन्याय हुने कुरा पनि न्याय माग्नेहरूले बुझ्नु पर्छ ।
द्रुत गतिमा भैरहेको न्यायको कोल्टो परिभाषा सबैले बुझ्न गाह्रो हुन्छ । सजिलै बुझ्ने परिभाषा त दिनै साह्रो हुन्छ । न्यायको परिभाषा दमन धरपकड, हवाइ फायर गोली हो । अनुशासन र इमान्दारितामा विश्वास गर्नेले अब यो मुलुकमा न्यायको परिभाषा पृथ्वीमा बिलिन भए पछि पनि पाइन्न भन्ने कुराको झल्को पाइसकिएको छ । कार्य प्रकृयाबाट वा न्यायको नीतिगत कुरा वा त्यसको सिद्धान्तबाट पनि न्याय खरिद गर्न हामी सक्दैनौ भन्ने कुराको घाम उदाइसकेको छ ।
हाम्रो समाज सामाजिक न्याय खोज्छ तर न्यायको डिएनए परीक्षण गराउन सक्दैन । त्यही त समाजको गल्ती हो । समाज नै गल्ती गरेर आफू अन्यायमा परेको उजुरी गर्छ, सडकमा जुलुस निकाल्छ, यातायात अबरुद्ध गर्छ, स्कुल कलेज बन्द गर्छ अनि आफै अन्यायमा परेको नाटक गर्छ र गुहार्छ सरकारलाई न्यायका लागि भिख माग्छ । भनौ सरकार जनतासँग न्यायको भिख माग्छ र न्याय सँगसँगै अन्यायीहरूतिरै भाग्छ । कालोलाई गोरो बनाउँछ र गोरोलाई कालो बनाउने अत्याधुनिक न्यायिक प्रबिधि पनि भित्र्याएको छ । गणतन्त्र होइन गनतन्त्र भित्रिएको मुलुकको आधुनिक न्याय यही हो ।
कानूनको कान कागले लगेको छ । नू नूर गिरेको मान्छे जस्तो छ । न नभएको कुरा गर्छ अनि कसरी यो देसमा कानूनी राज्य निर्माणमा कानूनका पुस्तकले सहयोग गर्छन त । भनौ यहाँको कानून पुस्तकमा निहीत छ । न्याय दिनु पर्ने पीडित मानवलाई हो तर कानूनले उसैको कान निमोठेको छ । हाम्रो कान निमोठ्ने कानून हामीलाई नै काम लागेको छ । न्याय र कानूनको सम्बन्ध बिच्छेद भएको छ । नङ् र मासुको सम्बन्ध हुनु पर्ने हा वा हाड र छालाको जस्तो सम्बन्ध हुनु पर्नेमा मुख र खुट्टाको जस्तो वा भनौ टुपी र पैतालाको जस्तो सम्बन्ध छ । यस्तो अवस्थामा हामी अन्यायीहरूले सोचे जस्तो, खोजे जस्तो, आफूले भने जस्तो न्याय कसरी पाउन सक्छौ त ? हामी अन्याय नै गर्दैनौ भने न्याय खोजेर कहाँ पाइन्छ त ? नपत्याए नून खान पल्केर पनि कागको पछि लाग्नेहरूलाई सोध्नोस् त ? अन्याय बिना न्याय पाइन्न भन्ने जवाफ पाउनु हुने छ सहज र सरल तरिकाले ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































