साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रातोपा

कुनै दिन साँच्चै नै तिनको मत आवश्यक परेछ भने हामी कि सम्साँझैँ तर्सा’र ल्याउँछौँ, कि गोजीभरि बर्सा’र ल्याउँछौँ ।

Nepal Telecom ad

जमाना नै पार्टीको छ त, अरू केका कुरा गर्नु ? भात, भान्सा, बुद्धि, बल, लक्ष्मी, सरस्वती, इष्ट, मित्र, सत्ता, सिधा, कुटो, कोदालो, नाता, कुटुम्ब सबै पार्टी भएपछि व्यर्थका अरू कुरामा लागेर सबैतिरबाट पिछडिनु पनि त भएन नि । त्यसैले बहुदलीयतामा विश्वास र आस्था राख्नेको त कुरै छाडौँ, निर्दलीयताको गीत गाउने र त्यसैमा नाच्ने, रमाउनेहरू पनि पार्टी राजनीतिमा सर्लक्कै अटाएका छन् । र त – अहिलेको समयमा पार्टी भनेको एउटा त्यस्तो वस्तु बन्न पुगेको छ, जसमा सबै अटाउँछन् । सबै रमाउँछन् । सबै झगडा गर्छन् । र, सबै त्यत्तिकै मिल्छन् पनि । फरक यत्ति छ कि पार्टी मध्ये पनि कोही छिट्टै गाँजिएलान्, कोही छिट्टै बाँझिएलान् । तर, जरो कसैको मासिदैन । पातालै भासिनु परे पनि यसो मौसम ठिक हुनासाथ दूबो पलाएझैँ लह लह पलाउन बेरै लाग्दैन यिनलाई । कहिले शिर र कहिले पुच्छर हुनु त पार्टी र पार्टीमा लाग्नेहरूको स्थायी विशेषता नै हो । न यहाँ कुनै किसिमको जातपातको कुरो हुन्छ, न कुनै छोइछिटोको । कथङ्कदाचित जातपात र छोइछिटोको कुरा आइहाल्यो भने पनि त्यो निकै क्षणिक हुन्छ । त्यसैले त पछिल्लो समयमा एउटा नयाँ उखानै सुरु भएको छ – ‘दलहरूको झगडा परालको आगो, दन्किन बेर न निभ्न बेर ।’

आफ्नै सिर्जनात्मक क्षमताले गरी खानेभन्दा अर्काको काम हेरी खाने अर्थात् अरूले गरेका काममा हात हाल्ने कलामा हामी सबैको पिएचडी नै छ भन्दा फरक नहोला । भित्री दुःख, कष्ट, परिश्रम र लगानीतिर वास्तै नगरी बाहिरी आवरणमै झ्वाम्लाङ्ग हामफाल्ने बानीमा हामी निपुण छौँ । यसको उदाहरणका रूपमा मुलुकमा भएका राजनीतिक पार्टीको दर्ता इतिहास नै पर्याप्त छ । होइन भने मुलुकको राजनीतिमा सधैँभरि दुई चार राजनीतिक दलको रजगज चलेको देख्दादेख्दै भाग्योदय चिठ्ठा बिर्साउने गरी पार्टी दर्ताको लहर ह्वात्तै बढेर शतसङ्ख्या किन पार गर्थ्याे ?

हामी हत्त न पत्त पार्टी दर्ता गरिहाल्छौँ । जनलहर कता छ भन्नेतिर पनि त्यतिविधि वास्ता गर्दैनौँ । जनताले के चाहेका छन्, त्यो पनि वास्ता गर्दैनौँ । घोषणापत्र लेखनमा निपुणता, भाषण कलामा पोख्तता र अर्कालाई झुक्याउने विधामा पूर्ण परिपक्वता छ भन्ने महसुस हुने बित्तिकै पार्टीको जन्म गरा’र, न्वारनको नाम जुरा’र हत्त न पत्त जन्मदर्ता गराइहाल्ने परिपाटी हामीमा छ । यही भएर मलाई पनि भित्रभित्रै पार्टी दर्ता गराएर नेता हुनुपर्छ कि भन्ने लाग्न थालेको छ । त्यसपछिको प्राप्ति मनमा जाग्न थालेको छ । त्यसैले त म भित्रभित्रै पार्टी दर्ताको तयारी कार्यमा लागिरहेको छु ।

हुन त मनका योजना कार्यान्वयन नभईकन अरूलाई नभन्नू भन्छन् तर कसैले गरेर खान्छ भने खाओस् भनेर मचाहिँ त्यस्ता कुरामा खासै ध्यान दिन्न । मेरो यही कमजोरी छ र त मनले आँटेको यति महत्वपूर्ण कुरा पनि कत्ति नढाँटी पस्किँदै छु । फेरि यसले एउटा फाइदा पनि पुर्‍याउन सक्छ । त्यो के भने पार्टी दर्ता गरिसकेपछिभन्दा पार्टी दर्ता नगर्दै जनता सामु आफ्ना कुरा खोलेपछि कता गए चौका दाउ लाग्छ भनेर पुराना पार्टीमा बसेर दाउ हेरिरहेकाहरू ह्वात्तै मेरो पार्टीमा आउन के बेर ? यस्तो परिस्थिति बन्यो भने नवागन्तुकले पार्टी छोडे पनि नछोडे पनि मेरो पार्टीको प्रचार त थामिनसक्नु गरी देश विदेश चारै दिशा फैलिहाल्छ । यसमा शङ्कै छैन । जनताले भोट हाल्नु नहाल्नु त उनका खुसीका कुरा भो । उनका मर्जीका कुरा भो । उल्लू बन्ने कि नबन्ने भन्ने त आफ्नो अधिकारको कुरा हो नि ! हैन र ?

तर एउटा कुरा बुझ्नोस्, मैले खोल्न आँटेको पार्टीलाई जनताको मत खासै आवश्यक पर्दैन । धुलो र मुलोले चरचरी फुटेका तिनको हात मोलेर, पाउ ढोगेर ल्याएको मतमा हामी त्यतिविधि विश्वास गर्दैनौँ । कुनै दिन साँच्चै नै तिनको मत आवश्यक परेछ भने हामी कि सम्साँझैँ तर्सा’र ल्याउँछौँ, कि गोजीभरि बर्सा’र ल्याउँछौँ । होइन भने परम्परावादी अरू पार्टी जस्तो जननिर्भर भएर उँभो लाग्ने सोच हामी कदापि राख्दैनौँ । हामी परावलम्बी होइन, स्वावलम्बी हुन चाहन्छौँ । यति भन्दा भन्दै पनि बरु हामीलाई सयौँका सङ्ख्यामा यसअघि दर्ता भइसकेका दलको सहयोग भने आवश्यक पर्छ । त्यस्तो सहयोगले उनीहरूलाई पनि फाइदा पुर्‍याउँछ, हामीलाई पनि सहयोग पुग्छ ।

तैँले कस्तो पार्टी खोल्न आँटिस् ए ! भनेर तपाईंका मनमा कौतूहल हुन सक्छ । कुरा गराइ नै त्यस्तै छ त, अनि कौतूहल उत्पन्न हुनु पनि स्वाभाविकै हो । तपाईंले यस्ता कुरा गरेको भए मेरा मनमा पनि त्यस्तै कौतूहल हुन्थ्यो । त्यसैले यसलाई सामान्य रूपमा लिनु्स्, अचम्म नमान्नुस् ।

पार्टी, पार्टी, पार्टी । यसो गरे पनि पार्टी, उसो गरे पनि पार्टी । यसो भनेर सधैँ पार्टीका कुरा मात्र काटेर पनि हुन्न । तिनको बाध्यता पनि बुझिदिनु पर्छ । हामीलाई लाग्छ – सयौँको सङ्ख्यामा दर्ता भएका पुराना पार्टीलाई कम दुःख छ अहिले ? आफ्नो अस्तित्व रक्षाका लागि तिनले सम्पादन गर्नुपर्ने कामको सूची कत्ति छ कत्ति ? तिनका काम न गनी साध्य छन्, न भनी साध्य छन्, न गरी साध्य नै छन् । धन्न धानिराखेका छन् तिनले । कम बेफुर्सदी छन् तिनीहरू ? त्यसैले हाम्रो पार्टी दर्ता भएर क्रियाशील हुने बित्तिकै पुराना पार्टीको काम स्वात्तै घट्छ र तिनको कोषचाहिँ ह्वात्तै बढ्छ । काम घट्ने, कोष बढ्ने सूत्र के त ? तपाईंमा फेरि अर्को कौतूहल उत्पन्न हुन सक्छ ।

सुन्नोस्, हाम्रो पार्टीको पूरा नाम हुनेछ – ‘राष्ट्रिय तोडफोड पार्टी’ । यसलाई छोटकरी रूपमा ‘रातोपा’ भनेर सम्बोधन गरिने छ । पार्टीको यही नाममै पार्टी दर्ता हुन्छ । यही नाममै प्रचार प्रसार हुन्छ । यही नामले पार्टीको ख्याति चौतर्फी फैलिन्छ । पार्टीको नामबाटै तपाईं हाम्रो पार्टीको प्रमुख उद्देश्य के हो भन्ने सहजै थाहा पाउन सक्नु हुन्छ । तैपनि भन्नुपर्दा नवगठित पार्टीको उद्देश्य नामअनुसार काम अगाडि बढाउनेमा केन्द्रित हुने छ । अरू पार्टी जस्तो निष्क्रिय हुने छैन हाम्रो पार्टी । अहिलेको परिस्थिति हेर्दा हाम्रो काम बाह्रै महिना हुन्छ । अहिले मुलुकभित्रका सबै जसो पार्टीले परिस्थिति हेरेर कहिले बन्द कहिले हडताल, कहिले नाकाबन्दी कहिले धर्ना, कहिले अनसन कहिले घेराउ, कहिले तोडफोड कहिले प्रदर्शन गर्नु परिरहेछ । हाम्रो पार्टी दर्तापछि ती सबै काम सम्पन्न गर्ने जिम्मा हार्दिकतापूर्वक हाम्रो पार्टीले लिने छ । यसका लागि ती पार्टीहरूले यस्ता काममा यसअघि जति खर्च गरेका छन्, त्यसको पचास प्रतिशत रकम मात्र इमान्दारीपूर्वक हामीलाई दिए पुग्छ । यति भयो भने संसद् बाहिर मात्र नभएर संसद् भित्रको तोडफोडमा पनि हामी संलग्न हुन सक्छौँ । यसका लागि आवश्यक छ, मात्र राजनीतिक दलहरूका बिच आपसी समझदारी । हामीलाई विश्वास छ, यस्तो आपसी कल्याणकारी काममा समझदारी नबन्ने त कुरै छैन । बन्छ । यति मात्र नभएर राजनीतिक दलका भातृ सङ्गठन लगायतले गर्ने यस्ता तोडफोडको काम फत्ते गर्ने जिम्मा पनि हामी लिन्छौँ । हामी जनताबाट राजीखुसीले उठाउने बलजफ्ती चन्दा लिँदैनौँ । लिनै पर्छ भनेर कसैले साह्रै कर गरेछन् भने बेग्लै कुरा, होइन भने अरू पार्टीबाट निर्देशित कामका लागि उपलब्ध हुने रकम नै हाम्रा लागि पर्याप्त हुने छ । त्यसैबाट हामी तमाम काम फत्ते गरिदिन्छौँ । हामी मुलुकका विभिन्न भागमा यस किसिमको कार्य सञ्चालनका लागि स्थायी संयन्त्र निर्माण गर्छौँ । स्थायी सामग्री र जनशक्तिको व्यवस्था गर्छौँ । तोडफोड र अन्य कामका लागि विभिन्न किसिमको कार्यशाला र प्रशिक्षणको व्यवस्था मिलाउँछौँ ।

हामीलाई के विश्वास छ भने यसले एकातिर देशमा ठूलो रोजगारीको अवसर सिर्जना गर्छ भने अर्कातिर एउटै काम सबै पार्टी र विद्यार्थी सङ्गठन लगायतले गरिरहनु पर्ने अहिलेको दोहोरोपनको कामबाट उनीहरू सबैलाई मुक्ति दिन्छ । समय र साधन दुवैको बचत गराउँछ । एउटै काममा सबै किन लाग्ने ? यही नीतिअनुसार अघि बढ्यौँ भने निर्विवाद रूपमा हाम्रो काममा निखार आउने छ । हुन सक्छ यसले ‘एक घर, एक रोजगारी’ को नारालाई पनि झन्डै झन्डै नब्बे प्रतिशत पूरा गर्छ, दस प्रतिशत भन्न सकिन्न । तपाईं भन्नुहोला – शतप्रतिशत भन्नुस् न, किन दस प्रतिशत घटा’को । तपाईंको यस प्रश्नमा हाम्रो स्पष्ट उत्तर हुने छ – अरू पार्टीको जस्तो झुटो बोल्ने काम हामीबाट हुन्न, हामी जति गर्न सकिन्छ त्यति मात्र बोल्छौँ । पार्टीको यो पनि एउटा विशेषता हो ।

बन्द, हडताल, नाकाबन्दी, धर्ना, प्रदर्शनलगायत राष्ट्रिय तोडफोडको काम हाम्रो पार्टीले जिम्मा लिएपछि न कसैले मसाल बालेर रात बिरात दौडिनु पर्छ, न ढुङ्गा लिएर सडकमा ओर्लिनु पर्छ । न लुकिछिपी सडक खनेर खाल्डो बनाउनु पर्छ, न कानुन विपरीत रूख ढालेर अवरोध पुर्‍याउनु पर्छ । न टायर बालेर कसैलाई तर्साउनु पर्छ, न इँटा फुटा’र बर्साउनु पर्छ । न रेलिङ तोड्न कस्सिनु पर्छ, न सडक फोड्न । जस्तोसुकै खतरा मोल्नु परे पनि ती सबका सब कामको जिम्मा हामी लिन्छौँ र जनतामा भिजेर तोकिएको काम पार्टी नीतिअनुरूप कुशलतापूर्वक सम्पन्न गर्छौँ पनि ।

जनताका अगाडि हाम्रा कुनै काम गोप्य हुने छैनन् । सबै काम पूर्ण पारदर्शी हुने छन् र जनताका आँखाअगाडि निर्वाध रूपमा सडकमै सम्पन्न हुने छन् । अन्तर्राष्ट्रिय जगत्ले बिनाअनुमति हाम्रो कामको पर्यवेक्षण गर्न सक्नेछन् र पर्यवेक्षणपछि हाम्रो कामको प्रशंसा गर्ने अधिकार र स्वतन्त्रता तिनलाई हुनेछ । हाम्रो कामको प्रशंसामा तिनको हृदय खुल्ने छ । किनकि, यस्तो पार्टी विश्वमा अहिलेसम्म कहीँ कतै जन्मेकै छैन । सबै आ-आफ्नो स्वार्थका लागि खडा भएका छन् तर हाम्रो जस्तो अरू पार्टीको हित र राष्ट्रिय स्वार्थलाई शिरमा बोकेर कोही जन्मिनै सकेका छैनन् । हाम्रो नक्कल गरेर भोलिका दिनमा कोही जन्मेछन् भने बेग्लै कुरा, होइन भने पार्टीको इतिहासमा आजका दिनसम्म गिनिज बुक अफ वर्ल्ड रिकर्डरका हकदार हामी नै हुने छौँ । समय अझै बाँकी छ – हामीलाई चुनौती दिने कोही छौ भने अहिले नै हात उठाओ, होइन भने पार्टीको जय जयकार गर्दै हामी अगाडि बढ्छौँ, बढ्छौँ –
‘राष्ट्रिय तोडफोड पार्टी – ‘जिन्दाबाद’ । ‘जिन्दाबाद’ ।
रातोपा – ‘जिन्दाबाद’ । ‘जिन्दाबाद’ ।
रातोपा – ‘जिन्दाबाद’ । ‘जिन्दाबाद’ ।
‘राष्ट्रिय तोडफोड पार्टी – ‘जिन्दाबाद’ । ‘जिन्दाबाद’ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x