सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

परावर्तनः पठानुभूति

मुक्तक सङ्ग्रहमा सैजु देशप्रेमी नागरिकको रूपमा देखापरेका छन् । उनले मुलुकले भोग्नु परेका विभिन्न दुःख र दुर्गतिको उनले उल्लेख मात्र गरेका छैनन् तिनको अन्त्यको लागि पाइला चाल्ने सचेत प्रण पनि गरेका छन् ।

Nepal Telecom ad

केदार आचार्य :

रेहित सैजु उत्साही साहित्यकर्मी हुन् । उनीसँग म फेसबुकमा साथी रहेको छु । गएको वैशाखको दर्किंदो अपरान्ह उनले मलाई फोन गरे र भेट्न मन लागेको बताए । मैले उनलाई बानेश्वरमा रहेको मेरो त्यतिवेलाको कार्यस्थलमा नै बोलाएँ । उनी आइपुगे । हामीले आपसी परिचयलाई अलि विस्तार गर्‍यौं । उनी कल्पतरु द्वैमासिक साहित्यिक पत्रिकाको सम्पादक रहेछन् । उनको ‘परावर्तन’ मुक्तक संग्रह पनि प्रकाशित भइसकेको रहेछ । उनले कल्पतरुको एक सयौं अङ्क र परावर्तन मुक्तक सङ्ग्रहको एक प्रति मलाई पनि दिए । उनी विभिन्न साहित्यिक अभियानसँग पनि सम्बन्धित रहेछन् । उनालाई निकै उत्साहित युवाको रूपमा मैले पाएँ । यस्ता युवा भेट्दा खुशी लाग्छ, आफूमा पनि केही उत्साहको सञ्चार हुन्छ । हामी सँगै कोटेश्वरसम्म आयौँ, उनी भक्तपुरतिर लागे, म जडिबुटीतिर ।

‘परावर्तन’ त्यही समयमा नै हातमा परे पनि अलिकति कामको बेफुर्सदी र अलिकति पहिले यो चैं पढिसक्छु अनि त्यो पढ्छु भन्ने ढिपीका कारण पढ्न केही समय लाग्यो । यो पढ्न थालेपछि चैं पढिरहूँ जस्तो लाग्यो । तिखो रहेछ कथ्य, राम्रो रहेछ शैली । २४० वटा विभिन्न विषय र भावनासँग सम्बन्धित मुक्तकहरूले पाठकको संवेदनालाई कहिले यो पाटो र कहिल ऊ पाटोबाट झक्झक्याइरहँदा रहेछन् ।

सैजुका मुक्तकले बदलिँदो मूल्य प्रणाली र मानवीय सम्बन्धको स्खलित स्वरूपका सम्बन्धमा तिख्खर आवाज उठाएका छन् । वर्तमान समाजका विकृति, विसङ्गति र कुरूपतालाई उनले मुक्तकहरूमार्फत उजागर गरेका छन् । मानिसको एक कित्ता बाध्यताको जाँतोमा पिँधिएको छ, शोषण, उत्पीडन र अत्याचार भोगिरहेको छ । अर्को कित्ता आर्थिक, राजनीतिक र सामाजिक शक्तिको आडमा निरङ्कुश र स्वच्छन्द बनिरहेको छ । सोझोलाई सोझ्याउने यो युगमा ठग, धोका र विश्वासघात पुरस्कृत भएका छन् । जीवनको यस्तै भोगाइ र समाजको यस्तै चरित्रलाई नङ्ग्याउँदै र तिनको विरोध अनि अस्वीकृतिसँगै सैजुका मुक्तकहरू अगाडि बढिरहेका देखिन्छन् ।

मुक्तक सङ्ग्रहमा सैजु देशप्रेमी नागरिकको रूपमा देखापरेका छन् । उनले मुलुकले भोग्नु परेका विभिन्न दुःख र दुर्गतिको उनले उल्लेख मात्र गरेका छैनन् तिनको अन्त्यको लागि पाइला चाल्ने सचेत प्रण पनि गरेका छन् । यथास्थितिप्रति परिवर्तको कामना, चाहना र हुटहुटी उनका मुक्तकहरूमा पाइन्छ । उनी कर्मशील व्यक्तिका रूपमा देखिन्छन् र जीवनको जगतको सुधारका लागि मुक्तकमार्फत विभिन्न प्रतिबद्धता जाहेर गरेका छन् । मुक्तकहरूमा व्यक्त गलत तत्व र प्रवृत्तिसँग नझुक्ने उनको प्रतिवद्धताले उनलाई आत्मसम्मानयुक्त युवाको रूपमा प्रस्तुत गरेको छ ।

राजनीति नेपाल र नेपालीले आशामुखी नजरले हेरेको क्षेत्र हो । नेपाली जनताले तीव्र निराशा बेहोरेको विषय पनि यही हो । नेपालीका अनेक सपनामा तुषारापातपछि नेपाल आजको अवस्थामा आइपुगेको छ । राजनीतिका उतारचढाव र तिनप्रति आम नेपाली जनताको प्रतिक्रिया पनि यी मुक्तकमा अभिव्यक्त भएका छन् ।

छाउपडी, कणर्ालीको दुःख, काठमाडौंको अहम्, आन्दमय ग्रामीण जनजीवन पनि उनको मुक्तकमा आएका छन् । उनले समाजका विभिन्न निमुख पक्ष र परिवेशसँग सहानुभूति कायम गरेका छन् ।

साहित्यलाई भरपूर कच्चा सामग्री आपूर्ति गर्ने मानवीय भावना प्रेम नै हो । स्वभाविक रूपले प्रेम पनि उनको मुक्तकमा छुटको छैन । प्रेमका सुगन्ध, अहम्, असमझदारी र धोका विभिन्नरूपमा उनका मुक्तकमा आएका छन् ।

उनको साहित्यिक मान्यता पनि एउटा मुक्तकमा प्रकट भएको छ । साहित्यमा मानव मनमा गुम्फित भावनाहरूको उद्घाटन र प्रकटीकरण, लालीगुराँस झै सुन्दर बिम्ब र शैली एवं तार्किक कथ्यको प्रस्तुति हुनुपर्छ भन्ने उनको मान्यता छ । निःसन्देह उनको प्रयास त्यसैतर्फ लक्षित रहेको छ ।

आमा र बाको प्रसङ्गले यो कृतिलाई अझ भावनामय बनाएको छ । उनका केही मुक्तक आमा र बाका लागि लेखिएका छन्, केही मुक्तकमा आमा वा बालाई आलम्ब बनाएर भावना सम्प्रेषण गरिएको छ । समाजिक र पारिवारिक सम्बन्धहरू विघटनको दिशामा गइरहेको सन्दर्भमा आमाबाप्रतिको यो सम्मान, सद्भाव र समर्पण सराहनीय छ । एउटा मुक्तकमा सौतेनी आमाको प्रसङ्ग पनि छ र त्यो मुक्तक निकै मर्मस्पर्शी बनेको छ ।

मैले मुक्तक सङ्ग्रह सायद यसअघि पढेको रहेनछु । मुक्तक सङ्ग्रह पढ्ने क्रममा मैले एउटा असुविधा महसुस गरेँँ । मुक्तक चार हरफका हुन्छन् र स्वभाविकरूपले यो छोटो साहित्यिक उपविधा हो । एउटा मुक्तक पढेर अर्कोमा प्रवेश गर्न खासै समय लाग्दैन । यसक्रममा माथिल्लो मुक्तकमा उत्साहको भावना पढेर तल्लो मुक्तकमा आउँदा निराशासँग साक्षात्कार पनि हुँदो रहेछ । परस्पर विरोधी स्थिति, परिवेश, घटना र भावनाहरू मुक्तक सङ्ग्रहमा एकसाथ जस्तो देखा पर्दा रहेछन् । मेरो मन भने कुनै भावधारा भेटेपछि त्यसलाई समातेर झन् गहिराइमा जान खोज्दो रहेछ तर मुक्तक सङ्ग्रहमा त्यो सम्भव हुँदो रहेनछ ।

कुनै कुनै एकै मुक्तकमा पनि विरोधी भावनाहरू समेटिएका छन् । यसलाई मैले राम्रो मान्न सकेको छैन । मुक्तकमा विभिन्न स्वाद छन् । ती स्वाद फरक समयमा च्वास्सचुस्स लिँदा आनन्द आउनेमा कुनै शंका छैन तर मुक्तक सङ्ग्रह लगातार पढ्दा भने रसाभास प्रतीत हुँदो रहेछ । यो मलाई मात्र महसुस भएको पनि हुनसक्छ ।

यो रेहित सैजुको पहिलो कृति हो । यसमा उनले भावनाको झिल्काहरूलाई मुक्तकको रूपमा प्रस्तुत गरेका छन् । अब बिस्तारै उनमा सघन भावनाको विकास हुनेछ लामो संरचना भएका रससिक्त साहित्यिक रचनाहरूको सिर्जना हुनेछ भन्ने आशा गरेको छु । मुक्तक सिर्जनाको शृंखला कायम रहोस् ।

०००
काठमाडौं ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई