दिपेन्द्र आचार्यकपाल
कपाल फुल्नु, कपाल झर्नु र बुढो हुनु उस्तै हो कुनै पनि मान्छेको वसमा छैन । यसैले कपाल फुल्नु, झर्नु र बुढो हुनु प्राकृतिक भएकोले प्रकृतिविरुद्ध नजाने सुझाव दिँदै म चाहिँ लागेँ है सैलुनतिर कपाल रङ्ग्याउन- नीलो ।

दिपेन्द्र आचार्य :
म कपाल फुलेर सेतै भएकोछु । फुल्नु आफैमा नराम्रो होइन यदि फलफूल हुँदो हो त । फुल्नु भनेको समय सङ्केत हो- चाहे त्यो फलफूल होस् वा कपाल ।
कपाल अर्थात् रौँ । रौँ अर्थात स्तनधारी हुनुको एउटा लक्षण । हामी मानिस पनि स्तनपायी भएरै होला टाउको भरी रौँ अर्थात् कपाल भएको मन पराउँछौँ । तर आधुनिकताले कति छोपेको छ भने टाउको बाहेक शरीरको अन्य भागमा रौँ नहोस् भन्छ मान्छे । नपत्याए कतिपय बलिवुड अभिनेताहरूको सन् १९९०तिरको र हालको तस्वीर गुगल गरेर हेर्नुहोस् त । त्यति गर्दा पनि चित्त नबुझे ब्युटी पार्लरमा गएर वाक्सिङ गरी माग्नुस् थाह भैहाल्छ । तर जे भए नि टाउकोभरी कालो कपाल चाहन्छ मान्छे ।
कपाल स्वभावैले कालो र बाक्लो भएको राम्रो । तर आफ्नो कपाल त न कालो छ, न त बाक्लो नै । मेरो कपालको कुरा गर्दा अगाडि निधारबाट खुइलिँदै गएको सत्य छोप्न टाउको बीचको कपाल लामो बनाएर अगाडि सर्लक्क झार्ने गर्छु किनभने कपाल सौन्दर्यको प्रतिक पनि हो । एक पटक मेरो एक सहकर्मी भाइले मलाई हेरेर भने “दाजु तपाईं त साह्रै भाग्यमानी हुनुहुन्छ हौ ।”
“कसरी पो भाइ ?”
“निधार नै आठ रोपनी जति छ ।”
म मख्ख परेँ । घर आएर ऐनामा निधार हेरेँ धेरै वर्ष कुदाएको टायर जस्तै र चिल्लो रहेछ । त्यो दिनदेखि ऐना हेर्न मनै लाग्दैन । कपाल झर्न थालेपछि के के पो गरिएन रोकथाम गर्न ? अदुवा लाइएन कि ? प्याजको झोलले नुहाइएन कि ? अम्बकको पातदेखि एैँसेलुको जरासम्म, इन्डियनदेखि चाइनिज औषधि सब लाइयो तर कपाल झर्ने क्रम हिउँदको पात जस्तै भो ।
यो त भयो मेरो कुरा । कपाल चिल्लो हुने कुरामा कसैको चाहिँ तालु पछाडिबाट चिल्लो हुन्छ पूणर्िमाको जून जस्तै । उनीहरूको पीडा पनि मेरो भन्दा कम छैन शायद । र यही पीडा विच हामी सैलुन पुग्छौँ । सैलुनमा विभिन्न स्टाइलका हेयर कटहरूको फोटो हेरी मसिन लगाइ माग्छौँ । त्यो पनि जिरोमा । नभएको कपाल पनि काट्नै पर्ने अनि पूरा ज्याला तिर्नु पर्ने पीडा अझ बढी छ । कपाल नभए पनि काट्नै पर्ने चाहिँ किन भन्नु भा होला ? अघि नै भनेँ सबै कपाल सौन्दर्यको प्रतीक पनि हो । मानिस सुन्दर देखिन अनेकन प्रयास गर्दछ । त्यसमध्ये एउटा प्रयास र प्रयोग कपालमा गर्दछ ।
विभिन्न थरीका हेयर कटहरू छन् कपालका । बीचमा भाँडो राखेर छेउछाउ चिल्याउने भड्डु कट । सबै चिल्याएर अगाडि ठाडो पार्ने ठाडे कट । कपाल लामो बनाएर बीचबाट सिउँदो हाल्ने तेरे नाम । अचेल त कन्सिरी मास्तिर लाइन हाल्ने लाइन कट । यी सब नाम हाम्रै अर्गानिक नाम हुन् । तर यी सब कटका लागि टाउकोमा कपाल हुनु चाहिँ आवश्यक छ है । खूब ठूलो पल्टेर पुरुष साथीहरूको मात्रै गफ हानेको ? भनी ठान्नु होला । होइन महिला साथीहरूको पनि कपालमा उतिकै हेयर स्टाइल र कटहरू छन्- चाउचाउ कट, थाइ कट, गरा (स्टेप) कट खोइ के के कट के के कट ? हुँदा हुँदा अचेल त महिला मित्रहरूले कपालमा इस्तिरी गरेर सिधा कपाल बनाउनु हुन्छ बा !
कपाल- अघि नै भनी सकेँ स्वभावले कालो तर यो स्वभाव सबै जातिका मानिससँग मेल खाँदैन । कतिपय जाति/देशका मानिसहरूको कपाल रातो, फुस्रो, ब्लोन्ड आदि पनि हुने गरेको छ । सोही देखासिकी गरेर होला हामी पनि कपाल रङ्ग्याउने गरेका छौँ । रातो, फुस्रो अचेल त गुलावी, हरियो आदि आदि रंगको कपाल प्रशस्तै देखिन्छ । कपालको रङ जुनसुकै बनाए पनि हाम्रोतिर सेतो कपाल पटक्कै रुचाउँदैनन् मानिसहरू ।
कपाल फुलेपछि मात्रै सेतो हुने गर्दछ । फुल्नु समय संकेत हो पहिले नै भनी सकेँ । कपाल फुल्नुले वृद्धावस्थाको सङ्केत गर्ने भएकाले मन नपरेको होला मान्छेलाई सेतो कपाल । मान्छे बुढो हुन चाहँदैन । मान्छे सधैं जवान हुन चाहन्छ । तर कपाल फुल्नु, कपाल झर्नु र बुढो हुनु उस्तै हो कुनै पनि मान्छेको वसमा छैन । यसैले कपाल फुल्नु, झर्नु र बुढो हुनु प्राकृतिक भएकोले प्रकृतिविरुद्ध नजाने सुझाव दिँदै म चाहिँ लागेँ है सैलुनतिर कपाल रङ्ग्याउन- नीलो ।
०००
इलाम
Subscribe
Login
0 Comments
Oldest






































