दिपेन्द्र आचार्यपोलिथिन ब्याण्ड
हामी नेपाली जाति सीपको साह्रै धनी । परालको गुन्द्री, खोसेलाको पीरा आदि बनाउने कला हामी कहाँ छ भने यस्तै कलाको प्रयोग यो पोलिथिनमा गरे विभिन्न थोक बन्न सक्छ ।

दिपेन्द्र आचार्य ‘सुमी’ :
चुर्सेकी आमा र मेरो झगडा परालको आगो जत्तिकै छ । हुनु पनि हामी दुई बुडा-बुडी गफगाफ गरेको हो कि ठाकठाक ठुकठुक परेको पत्तै हुँदैन । बोली अलि खस्रो भए पनि चुर्सेकी आमाको मनमा पाप चाहिँ छैन । अहिले उसलाई बजार जान हतार छ अनि धुइँ-धुइँ त्यो कुन्नि कुन स्टोरको बुट्टादार पोलिथिनको झोला खोज्दैछे । म चाहिँ यस्तो पोलिथिन भेट्यो कि लुकाइदिन्छु । मैले त्यो पोलिथिन लुकाएको कुरा थाहा पाएकी छिन् कि कसो ठूल्ठूलो स्वरमा भित्रबाट बोल्छे ‘चुर्सेको बाबा ! तपाईंले त्यो पोलिथिन देख्नु भयो ? अस्ति मैले यही ओछ्यान मुनि राखेको थिए । तपाईंले कतै राखिदिनु भयो कि ।’
‘त्यो भित्र भान्सा कोठामा भएको सुतीको झोला लैजाउन । मैले तिम्रै लागि भनेर किनेर ल्याएको ।’
“आ… त्यस्तो झोला बोक्दिनँ है म । लाजै मर्दो । त्यही पोलिथिनको झोला दिनुहोस कहाँ लुकाइदिनु भा’छ ?’
उसको यो ‘लाजै मर्दो’ कुराले मेरो कन्सरी तातेर आयो र माइक्रोफोनमा बोल्ने जति कै स्वरमा चिच्याउँछु ‘केको लाज त्यो झोला बोक्नु ? तिमीलाई थाहा छ । यो हेर्दा राम्रो देखिने पोलिथिनले कति हानि पुयाउँछ भन्ने कुरा ।’
म चिच्याएको मात्र कै थिए, मेरो भन्दा सुरिलो स्वरमा कराउँछे ‘यो मान्छेलाई थाहा हुँदो रहेछ कसैलाई थाहा नभा’को फाइदा- नोक्सान । सबैले त्यही पोलिथिन बोकी राखेका छन् । कसैलाई हानि भएको छैन । अब तिमीलाई हुँदोरहेछ हानि र सानी…।’
चुर्सेकी आमाको यही बानी चाहिँ मलाई मन पर्दैन । अलिकति रिस उठ्यो कि तपाईंदेखि तिमी अनि एकैछिनमा तँ पनि भन्छे ।
कहिलेकाही त म उसलाई तिमी भन्दै गरेको हुन्छु अनि उसले मलाई तँ । अब राति उँधो भए त ठीकै थियो। दिउँसोको झगडा श्रीमतीले ‘तँ’ भन्दै गरेको कोही साथीभाइले सुने आफैलाई लाज । यसैले म आफै नरम हुँदै सम्झाउँछु ।
‘होइन चुर्सेकी आमा ! मैले त्यसो भनेको होइन नि । यो पोलिथिन भन्ने चीज बारे मैले तिमीले अनि हामी सबैले जान्नु जरूरी छ । यस चीजको प्रयोग पछि हामी यसलाई यत्र-तत्र फ्याँक्छौँ । तर यो कहिले नकुहुने बस्तु भएकोले माटो मुनि गाडिन पुग्छ । जसको कारण बारीले मलिलोपन गुमाउँछ । धेरै पोलिथिन माटोमुनि गाडिएर बसे पहाडतिर पैह्रो जाने खतरा बढ्छ अझ यस्ता हावी जावी के-के छन् छन् ।’
मेरो कुरो बीचैमा काट्दै नेताले भाषण दिए जतिकै बोल्छे चुर्सेकी आमा- ‘अँ थाहा छ मलाई पनि । यो कहिल नकुहिने भएकोले नालातिर गएर बस्छ अनि नाला जाम हुन्छ । पानी पनि दुषित हुन्छ, पानीको मुहान सुक्न पनि सक्छ अनि यसलाई जलाए यसबाट निस्केको धुँवाले वातावरणलाई पनि उत्तिकै प्रदुषित पार्छ ।’
‘अरे तिमीलाई त मलाई भन्दा धेर थाहा छ ? मेरो चुर्सेकी मम्मी पनि यति ज्ञानी भएको मलाई के थाहा । कसले बतायो यो सब तिमीलाई ?“
चुर्सेकी आमालाई फुरुक्कै पार्दै प्रश्न तेर्साउछु। अघि निकै चर्किने श्रीमती अहिले नर्मल हुँदै मीठो स्वरमा बताउँछिन् । ‘तपाईं भन्नु हुन्छ नि । हामी महिलाहरू टिभीमा मात्र सिरियल हेर्छौ भनेर । तर यही टिभीको कतिवटा कार्यक्रमले सिकाएको हो यो सब मलाई ।’
‘यतिका धेरै कुराहरू जान्दाजान्दै पनि किन तिमी फेरि यही पोलिथिन नै रोज्छौ त ?’
‘अनि हामी एक घरले पोलिथिन नचलाएर हुने त होइन नि । सबैले पोलिथिन प्रयोग गर्न छाडे पो ।’
उसका कुरा स्वभाविक हो । उसको यस्ता स्वभाविक कुराको नरम स्वरमा उत्तर दिन्छु, ‘सबैले प्रयोग गर्न छाड्नको निम्ति त पहिले मैले तिमीले यस चीजको प्रयोग गर्न छाड्न पर्यो नि ! यसैले यस्तो सचेत कुराको क्रान्ति त सर्वप्रथम आफैमा ल्याउनु पर्छ ।’
‘अनि कहिलेकाहीँ कतैबाट आएको पोलिथिनलाई चाहिँ के गर्नु ?’ श्रीमतीको प्रश्न ।
हामी नेपाली जाति सीपको साह्रै धनी । परालको गुन्द्री, खोसेलाको पीरा आदि बनाउने कला हामी कहाँ छ भने यस्तै कलाको प्रयोग यो पोलिथिनमा गरे विभिन्न थोक बन्न सक्छ । यसैले यस्तो पोलिथिन जहाँ पायो उहीँ फ्याक्नु भन्दा यस्ता चीजहरू बनाउनु राम्रो हुन्छ । फेरि यस्ता थोक बनाउने एउटा केन्द्र नै खोले दुइ-चार जनालाई रोजी-रोटी पनि बन्न सक्छ ।’
चुर्सेकी आमाले कुरा बुझेछिन् क्यार । यसैले त भित्र भान्साकोठावाट त्यही सुतीको झोला बोकेर बजारतिर लाग्नु अघि बोल्छे ‘यो घरमा आजदेखि पोलिथिन ब्याण्ड… ।’
०००
इलाम
Subscribe
Login
0 Comments
Oldest






































