देव भट्टराई (२)मैले मलाई कसरी ‘म’ चिन्ने ?
शरीरले मात्र हुँदैन मान्छे । छामेर हेरेँ अँहँ छैन मान्छे ॥ खाली छ भित्री दिल लाग्छ ढुङ्गो । स्वार्थी छ साह्रै लठुवा र बुङ्गो ॥

देव भट्टराई :
अचम्मको लाग्छ मभित्रको म । 
शैतानझैँ लाग्छ विचित्रको म ॥
साँच्चै मलाई अब छोड्छु मैले ।
सम्बन्ध आफैँसँग तोड्छु मैले ॥०१
देख्दैन पीडा-दुख यो कसैका ।
सहन्न देखी सुख यो कसैका ॥
भलो अरूको किन गर्नु भन्छ ।
सारा बगून् एकल तर्छु भन्छ ॥०२
सुन्दैन वाणी अगुवाहरूका ।
म मात्र ठूलो भुसुना अरू ता ॥
जान्दैन आफैँ पनि तन्त्र केही ।
मान्दैन गाँठी गुरुमन्त्र केही ॥०३
अकासजस्तो न खुला भयो यो ।
सङ्कीणर् लाछी बहुला भयो यो ॥
मेरो र मेरा भनिबस्छ रोज ।
एक्लै हिँडेको छ बनेर बोझ ॥०४
शरीरले मात्र हुँदैन मान्छे ।
छामेर हेरेँ अँहँ छैन मान्छे ॥
खाली छ भित्री दिल लाग्छ ढुङ्गो ।
स्वार्थी छ साह्रै लठुवा र बुङ्गो ॥०५
जान्ने कुरा छन् कति धेर हेर ।
जान्दैन जानेसरि गर्छ धेर ॥
उपाय के छन् ? भन मित्र चिन्ने ।
मैले मलाई कसरी ’म’ चिन्ने ?०६
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































