अशोककुमार शिवाकुरोको बेसुरो
चाहे कुराले अविधा बाटो लिएर हिँडेको होस् वा लक्षणा बुझेर पनि बुझपचाउनेको लागि केही अर्थगम्य हुन्न । निदाएको मानिसलाई उठाउनु सजिलो हुन्छ तर निदाए जस्तो गर्ने मानिसलाई उठाउन सकिँदैन ।

अशोककुमार सिवा :
छेउछेउकोलाई चासो नभएर बिचबिचकोलाई चासो हुनेलाई विचौलिया भन्नु त ठिकै होला तर ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ भने झैँ बिना सरोकारका छेउमा अझ किनारमा रहेकाहरू कसरी विचौलिया हुन्छन् ? मलाई आश्चर्य लागेको कुरा यो छ । विचौलियालाई किनारामा नै राख्ने धेरैले प्रयास प्रयत्न त गरिटोपले तर केही नाप्न सकेनन् ।
हामीले जानेको कुरा चाहिँ के हो त भन्दा बिचको कुरा चाहे जेसुकै होस् मीठो मसिनो र नरम नै हुनुपर्ने हो तर, यो विचौलिया भन्ने बिच नभएर अंग्रेजी शब्द विच (Witch) जस्तो चाहिँ होला । सुन्नमा आएनुसार बिचहरूले अति नै दुःख दिन्छन् रे । फेरि यो दुःख भन्ने चिज पनि अचम्म कै हुँदोरहेछ, नभोगी पनि नहुने भोग्न पनि नसकिने । दुःख दिनेहरूलाई दुःख नदेओ न हो भन्दा पनि दुःख दिन छाड्दैनन् । भनेको मान्ने भएपो । हुन त कहिलेकाहीँ बुढीले त भनेको नमानेर हैरान पार्छन् अरुको के कुरा गर्नु ।
कुनै कुरा सुनाउँदा सुन्दा जति लगनका साथ सुनाउन, सुन्न सकिन्छ उतिनै कुरोको चुरो प्रष्ट हुन्छ । चुरो नमरेको कुरो होस् कि सुरो होस् काम लाग्दैन । ढोका खोल्नुको लागि पहिला ताला खोल्नुपर्छ, ताला खोलेपछि चुकुल खोल्नुपर्छ, चुकुल खोलेर ठेलेपछि बल्ल ढोका खुल्छ र भित्र छिर्न सकिन्छ । ताला नै नखोली ठेलेर वा ताला खोलेर चुकुल नसारी ठेलेर केही अर्थ हुँदैन । त्यसैले चुरो, कुरो वा वस्तु चाहिँ पहिला पत्तो लगाउनै पर्छ । बिहे गरेर ल्यायो सुहागरातको कर्म के हो थाहा नहुने हो भने त्यसको असर जीवनभर पर्न सक्ने तथ्य नेपथ्यबाट निरन्तर आइरहेको देखिन्छ ।
कतिपयले कतिपय कुरा बुझ्दा बुझ्दै पनि नबुझे झै गर्ने गर्छन् । उमङ्गका कुरा हुन कि तरङ्गका कुरा हुन बेउमङ्गी र बेतरङ्गीका लागि बेकार हुन्छ । कुराका उमङ्गले ल्याउने तरङ्गलाई अन्तरमनबाट आत्मसात् गर्न सके मात्र पनि मन त्यसै आनन्दित हुन्छ । अनुभूत अनुभूतिका कुरा जस्ले राम्ररी ग्रहण गर्न सक्छ उसैले जीवनलाई धेरै सदुपयोग गरेको भन्ने बुझिन्छ । जीवन दुरुपयोग गर्नेको लागि क्षणिक मात्रै हुन्छ भने सदुपयोगीको लागी दीर्घकालिन हुन्छ ।
मानिसहरू यतिसम्मका लाचारी हुन्छन कि सयौ पटक एउटै कुरा भनिरहँदा पनि बुझेको झै सम्म गर्दैनन् । चाहे कुराले अविधा बाटो लिएर हिँडेको होस् वा लक्षणा बुझेर पनि बुझपचाउनेको लागि केही अर्थगम्य हुन्न । निदाएको मानिसलाई उठाउनु सजिलो हुन्छ तर निदाए जस्तो गर्ने मानिसलाई उठाउन सकिँदैन । मस्त सुतेको मानिसलाई थोरै मात्र पनि घच्घच्याउँदा जुरुक्क उठेर प्रश्न गर्न थाल्दछ किन ? कसरी ? के को लागि ? के भयो ? आदि आदि तर सुतेको भान गरेको मान्छेलाई जतिसुकै घच्घच्याउनुस् थाहा पाइरहेको हुन्छ तर उठ्दैन किनकी उसलाई त्यही गर्दा मजा आउँछ सायद ।
मैले आफैले भोगेको कुरा के भने, खै के भन्नु फेरी यो सार्वजनिक थलोमा, भो नभनौँ होला । फाहोेरी चाहिने कुरो अहिले सम्म गम्भिर भएर नलिनेले यहि कुरोलाई चाहि चुरो मान्दिए भने त सकियो त । सकिए पछिको नमजा भोग्नु भन्दा नभन्नु नै बेस । उस्तै चतुरले त आँखाको कोण अध्ययनले समेत कुराको मेसो पत्तो लगाउन सक्छन् । मनमा लागेका कतिपय कुराहरू भन्न मन लाग्दालाग्दै पनि नतिजाको कल्पनाले डराउनु परेको पनि हुनुसक्छ । डरछेरुवाको बोधगम्यता र हक्कि स्वभावको मानिसको अबोध्य कुरा उस्तै हुँदैन । कुनै पनि कामको लागि दशपल्ट सम्झाई राख्नु पर्छ भने उसको बोधगम्यता कतै ओझेलमा त छैन ? भनेर हेर्न पर्छ । अन्तमा, सबै जागौँ सबैलाई जगाऔ । जय होस् ।
०००
गल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest







































