नगिता लेप्चा राईभैलेनी देउसी आत्महत्याको सङ्घारमा
यसपाली मैले के देखेँ भने हाम्रो भैलेनी र देउसे कागजको टुक्रामा घिटघिट भएर बाँचेको देखेँ भने हाम्रो भैलेनी देउसीहरू अनेपाली जिब्रामा झुण्डेर आत्महत्या गर्न तम्सेको देखेँ ।

नगिता राई लेप्चा :
तीजको धङधङी नसकी दसै-तिहारले छोपे । जसो तसो दसैं टारियो । आयो तिहार । तिहार भन्यो कि देउसी भैलोको सिजन । देउसी चाहिँ पूर्णसम्म खेल्नुपाउने अनि तिहार चैं किन मात्रै एकदिन भन्ने गुनासो भैलेनीपार्टीको गुनासो छँदैछ । लक्ष्मी पूजाको अघिल्लो दिन गाउँका तरुणीहरू भैलेनी खेल्ने सल्लाह गर्छन् । एकक्षणमै भैलेनी खेल्ने सल्लाह फाइनल हुन्छ । यसको निम्ति कुनै दिन रिहर्सल हुँदैन । बस लक्ष्मीपूजाको दिन भैलेनी खेल्नेहरू भैलेनी खेल्न निस्कन्छन् ।
यस्तै प्रकारले मैले लक्ष्मी पूजा नसकी नै गाउँमा कहिल्यै नदेखेका एक हूल मेरो घरको सङ्घारमा आए । मैसे भनेँ, एकक्षण आउनू नि ल । यसो गाउँतिर खेलेर आउनु नि । मैले लक्ष्मी पूजेकै छैन । एकजनाले भनिन्, आँ…त्यसो नभन्नोस् न आण्टी । हाम्रो बोनी नबिगारि दिनुहोस् न । तपाईंलाई सम्झेर फर्स्ट तपाईकैमा आएका हामी । म केही नबोली हत्त न पत्त लक्ष्मी पूजिसकेँ अनि उनीहरूलाई भैलेनी खेल्ने अनुमति दिएँ । भैलेनी भन्न उनीहरूलाई गाह्रो परिरहेको मैले देखिरहेकी छु । एका अर्कामा कुनै तालमेल छैन ।
एकजनाले सानो कागजमा लेखी ल्याएकी भैलेनी भट्याउनु थालेपछि मेरो घरको सङ्घारमा पहिलोपल्ट भैलेनी गुञ्जियो । त्यसपछि नाँच शुरु । बस्…तीजको धङधङी अहिलेसम्म पनि सकेको रहेछ भन्ने बुझेँ यिनीहरूको ताल न सुरको नाँच देखेर । तीजमा हल्लेका भन्दा पनि धेर हल्लिएका देखेँ मेरो सङ्घारमा आउने भैलेनी पार्टीहरूलाई । तीजले हामी नारीलाई त बिगाऱ्यो बिगाऱ्यो अब तीजको बोक्सीले तिहारको भैलेनीको पनि मुटु कलेजो खान तम्सेको मैले छर्लङ्गै देखेँ ।
यो त भयो भैलेनीको हल्लिने कुरा । भोलपल्ट देउसे खेल्ने देउसेहरूको ताँती । हाम्रो गाउँमा नेपाली बाहेक पनि अनेपालीहरू थुप्रै बस्छन् । एक हूल आदिवासी भुराहरू आएर देउसी भट्याउन थाले –
ओई…झिलमिल झिलमिल …..धौसुरे
ओई खासाको टुनी बल्ब झिलमिल…. धौसुरे
ओई प्लाष्टिकको सयपतरी फूल….. धौसुरे
ओई ट्राफिक जाम हुँदै
आइपुग्यो हामी….. धौसुरे
ओई स्टिलको चम्ची
आण्टीलाई सम्झी ….. धौसुरे
आइपुग्यो हामी ….. धौसुरे
ओई दार्जिलिङ जिल्ला…. ….. धौसुरे
हण्ड्रेड बक्स मिल्ला….. धौसुरे
ओई केराको थम्बा….. धौसुरे
ओई सात भाइ जम्मा….. धौसुरे
ओई झिलमिल झिलमिल….. धौसुरे
ओई खासाको टुनी बल्ब….. धौसुरे ।
यिनीहरूलाई दान दिएपछि…सेल रोटी हाल्न बसेकी मात्र थिएँ । एक हूल गाउँकै भुराहरू फेरि सङ्घारमा थुप्रिए । यी भुराहरू शरको नामी अङ्ग्रेजी माध्यम पढ्छन् । नेपाली शब्द जिब्रोले राम्ररी फड़काल्न नसक्ने यी अङ्गेजीको देशानले भेटेका भुराहरू अङ्ग्रेजी टोनमा भट्याउन भट्याउन ओह डेवसुरे डेवसुरे ….. डेवसुरे
ढिलमिल ढिलमिल ….. डेवसुरे
राटो बट्टी ….. डेवसुरे
पाँट ब्र डम्मा….. डेवसुरे
आण्टीको घरमा….. डेवसुरे
ढिलमिल ढिलमिल ….. डेवसुरे
यहाँ माट्टै होइन ….. डेवसुरे
सारा संसार खेल्नुपर्छ….. डेवसुरे
डि पनि हाल ….. डेवसुरे
डोइ पनि हाल्छ….. डेवसुरे थाले….
सो क्विक आण्टी….. डेवसुरे
हर्री आप आण्टी….. डेवसुरे
डानै डिनु ….. डेवसुरे
नेकष्ट डुअर वेटिङ….. डेवसुरे
दान दिएँ । आशीर्वाद दिन्छु भन्दै थिए…मैले पासपार्ट हराएको आशीर्वादको काम भन्ने ठानी उनीहरूलाई विदा दिएँ ।
रातभरि नै देउसे पार्टी आए । कुनै देउसेले भने जस्तो भट्याउनुनै पर्ने देउसी भट्याएनन् । सबैले कागजको टुक्रामा लेखी ल्याएका देउसे भट्टाएर टारे यसपालीको देउसी ।
यसरी देउसे भट्टयाउने परम्परा अब विस्तारै लोप हुँदै जानेहोला भन्ने सुर्ताले म विह्वल बनेँ ।
हाम्रो पवित्र देउसी अब अनेपाली जिब्राले भट्याएको देख्दा मलाई गहिरो शोकमा डुबायो । उनीहरूले हाम्रो ठाउँमा होम स्टे किनेर हामीलाई उछिट्याउने रणनीति अप्नाएजस्तै अब हाम्रो देउसी भैलोलाई पनि होम स्टे नै बनाइदिए हाम्रो संस्कृतिको रक्षा होला के । यो गम्भीर विषय हो ।
यसपाली मैले के देखेँ भने हाम्रो भैलेनी र देउसे कागजको टुक्रामा घिटघिट भएर बाँचेको देखेँ भने हाम्रो भैलेनी देउसीहरू अनेपाली जिब्रामा झुण्डेर आत्महत्या गर्न तम्सेको देखेँ ।
०००
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)
इलस्ट्रेसन :उज्यालाे अनलाइन
Subscribe
Login
0 Comments
Oldest







































