सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कोपनहेगनमा “खै खै”

अर्को चाख लाग्दो कुरा के छ भने पिँडालीको अन्तरव्यङ्ग्य रचना गर्ने पद्धतिको प्रभाव दुई प्रकारका निबन्धकारहरूमा पर्‍यो । भैरव धर्याल र रामकुमार पाँडेका हास्यव्यङ्ग्य निबन्धमा यसको हास्य-रस प्रधान प्रभाव पर्‍यो ।

Nepal Telecom ad

डा. अभि सुवेदी :

डेनमार्क लेखक संघको आयोजना, एउटा भेटघाट छ । सन् १९९२ मार्च महिनाका काठमाडौंको जाडोले कोपनहेगन आक्रान्त छ । गोथिक शैलीका ठूल्ठूला घर, तिनका रोकोमो शैलीका छाना, घरका खम्बाहरूमा फूल र चरा अनि लहराका आकारहरूले यो शैली अझ प्रष्ट गर्दैछन् ।

केशवराज पिँडालीसँग डेनिस लेखक संघको निम्तोमा कोपनहेगन गएको छु । लेखकहरूले कायक्रमहरू आयोजना गरेका छन् । तिनकै क्रममा हामी हिँडेका छौँ । पिँडालीले ठूलो कालो कोट लगाएका छन् । यस्ता कठ्यांग्रिँदो युरोपेली नगरहरू पिँडालीले धेरै देखेका छन् । म पनि ब्रिटेनमा विद्यार्थी हुँदा एडिनवर र लण्डनको चिसोसँग परिचित छु । तर कोपनहेगनमा नोर्डिक खण्डको यूरोपको शैली छ । अलिक भिन्न लाग्दछ ।

हान्स् क्रिश्चियन याण्डरसनको मूर्ति अगाडि पिँडालीलाई उभिन आग्रह गर्छु । उनी उभिन्छन् । म चित्र खिच्छु । चित्रमा साम्य एउटा कुरो छ… दुवैजना लेखक हुन् । दुवैजना कथा रचना गर्छन् । दुवैजना अलिक फरक ढंगले जीवनका व्यङ्ग्य रचना गर्छन् । याण्डरसनको वादशाहको नाङ्गो रूप लुगा लगाएको बहानामा अघि बढ्छ । पिँडालीको पात्र लुगा लगाएर नाङ्गो छ । व्यङ्ग्य छ विषय । दुवै लेखकका रचना जीवनको त्यही बिहानीमा पढेँ जुन बिहानीमा भाषालाई लिएर लेख्य-संस्कृति रचना गर्ने पहिलो अभ्यास गरेँ । नेपाली लेखक र यूरोपेली लेखकहरूको द्वैत प्रभावले आफ्नो लेख्य संस्कृति रचना गर्ने गरेको छु । पिँडालीको व्यङ्ग्य मेरो नियति हो । याण्डरसन्को व्यङ्ग्य मेरो नियतिको सार्वभौमिक चरित्र बुझ्छु ।

आज दोपहरमा डेनमार्कका लेखकहरूसँग भेटघाट छ । “तिमी अंग्रेजी भाषा राम्ररी प्रयोग गर्न सक्छौ…, नेपाली लेखनबारे तिमीले नै बोल्नु केही मरे मसँग पनि त्यहीँ सोध्नु भैहाल्छ, “पिँडालीको सल्लाह छ । सल्लाह गम्भीरतापूर्वक लिएको छु । युरोपेली लेखकमा उत्साह र जिज्ञासाहरूसँग पहिले पनि परिचित छु । मलाई थाहा छ पिँडालीको विषयमा उनको लेखन विषयमा मैले अवश्य बोल्नुपर्ने छ । त्यही विचार लिएर म हिँडेको छु ।

पिँडालीको लेखनको एउटा आकार तयार गर्ने कोशिस गर्छु । एकठाउँ बस्ने समय छैन । लेखहरूलाई भेट्ने समयभन्दा पहिले हामीले केही चाखलाग्दा साहित्यिक महत्त्वका ठाउँहरूको भ्रमण गर्नुपर्ने छ । हामीलाई यात्रा गराउने युवक युवती दम्पति हुन् । तिनलाई पनि हतार छ । दुईबजेतिर हामीलाई डेनिस लेखकहरूसँग भेट्न पुर्‍याउनुपर्ने छ ।

चिज बनाउँदै जान्छु । नेपाली साहित्य भनेको भाषाको सिर्जनशील प्रयोग गर्ने नेपाली लेखक लेखिकाले तयार गरेको एक विधागत रचना हो । विधा भन्नेवित्तिकै हामी लेखनमा सीमा-रेखा कोर्ने प्रवृत्तिलाई बुझ्छौँ । माथामा अनुभूति व्यक्त गर्दा हामी सीमा कोर्छाैँ। हरेक जाति र भाषाको रचनाका आफ्ना बास्ना सीमा फोन पद्धति हुन्छन् । हाम्रो साहित्यमा सीमा कोर्ने पद्धति पश्चिमी छ… म आफ्नो विश्वास यसरी बनाउँछु ।

डेनिस, लेखक र नेपाली लेखकका साम्य शायद विधाबाट बुझिन्छन् । म त्यही आधारमा यसो ठाउँ परेको बेला केही बूँदाहरू टिपिहाल्छु ।

डेनिस लेखकहरूले पनि अरुका संस्कृति र जीवन पद्धतिलाई बुझेका छन् । त्यस अनुभूतिलाई तिनीहरूमध्ये कतिपयले आफ्ना विधावत रचनाद्वारा व्यक्त गरेका छन् । करेन् ब्लिक्सनले “आउट अफ् अफ्रिका’ भन्ने उपन्यासमा युरोपेली र अफ्रिकी अनुभूतिलाई एक ठाउँमा राखेर प्रयोग गरेका छन् । विधा रचना गर्दा उनले अफ्रिकाली जीवनका स्वतन्त्र लयले सिर्जना गरेको अनुभूतिलाई युरोपेली औपन्यासिक विधाभित्र समाहित गरेकी छन् । त्यसकारण उनको उपन्यास “आउट् अफ् अफ्रिका’ मा काव्य, गीत र कथाका विधाहरू एक अर्कामा चिप्लेटी खेल्ने प्रवेश गर्छन् । त्यो उपन्यासको यो जटिल विधा त्यसको चलचित्रमा उद्घोषित छ । पिँडालीको उपन्यासका विधागत चरित्र नेपाली चलचित्र निर्माताले ध्वंस गरेका छन् ।

करेन ब्लिक्सनको अभिजात चरित्र देखाउने घर छ कोपनहेगनको बाहिरपट्टि । त्यो घरको माथिको खण्डमा डेनिस एकाडमी छ । हिजोआज पिँडाली र म त्यहाँ पुग्छौँ… लगिन्छौँ… कर्तृ वाच्य भएका छौँ । पिडाली क्लिक्सनको समाधिलाई हेरेर गम्भीर हुन्छन् । जाडोमा मात्र फुल्ने सेता फूल र जाडोमा पनि गाउँने काला चराको रंग र बोलीको अनौठो समागममूनि करेन क्लिक्सन आफ्नो काला जातिका मानिसको अनुभूतिलाई “आउट् अफ् अफ्रिका” भन्ने गोरी उपन्यासकारको अनुभूतिमा छोडेर समाधिस्थः छन् ।

पिँडालीको “साँझ घर फर्केको मान्छे” आफ्नो जवानीको गाउँघरमा परेको अन्तर्जातीय प्रेमबाट जन्मिएको छोराको घरमा पश्चिमी मुलुकमा जीवनको धेरै भाग बिताएर साँझमा आइपुग्छ । त्यो प्रेम र त्यो साँझ बीचमा उसले पनि ब्लिक्सनमा पात्र पात्रा जस्तै विदेशो भूमि र संस्कृतिको अनुभव गरेको छ । उसको जीवनको नाटक ती दुई पटाक्षेपभित्र चल्छ । ब्लिक्सन आफैँ साँझमा घर फर्केको मान्छे जस्तै कोपनहेगेन् अर्को छिन् । पिँडालीको उपन्यास विधा पाश्चात्य छ । तर त्यस उपन्यासमा साँझमा घर फर्कको मान्छेले पश्चिमी अमेरिकी भूमिमा पाएको अनुभूतिको आभामा महाकाव्य हो जस्तो फराकिलो छ । उपन्यास विधा महाकाव्यभित्र चिप्लिन्छ ।

ब्लिक्सनको जीवनी र कामबारे फ्रान्सेली भाषामा लेखेको परिचय पौल मलाई दिन्छन् । म त्यसको सार पिँडालीलाई सुनाउँछु । पिँडालीलाई ब्लिक्सन्को परदेशीय अनुभूति मन पर्छ । उनको पनि परदेशीय अनुभूति छ । उनका उपन्यासका पात्र-पात्रा परदेशीय अनुभूति गर्छन् । अनुभूतिको केन्द्रविन्दु नेपाली हुनु छ । पिँडालीको दिनानाथ ‘एकादेशकी महारानी’को कथामा त्यही नेपाली हुनुको अनुभूतिलाई आरेखित गर्छ । एक नेपाली मूलकी “महारानी” को पीडामा उपन्यास विधा बनिएको छ । ब्लिक्सनको परदेशीय अनुभूतिमा अफ्रिकाको खेती, व्यापार र जनावरले बनिएको सृष्टि छ । तर उनी त्यस अनुभूतिमा आफ्नो युरोपेली… उपनिवेशका धनी मानिसको मनस्थिति सिर्जना गर्छिन् भन्ने कतिपय मान्छे हो धारणा छ । तर ब्लिक्सनको निजी पीडा छ लेखनमा । आफ्ना लोग्नेबाट भिरिङ्गी सारेर जीवनभर असजिलो भोग्नुपरेकी तर कोपनहेगनमा युवक-युवती लेखकहरूको कुँडलो पारेर हिँड्ने… समाजमा धेरै प्रतिष्ठित किवा धेरै अभिजात चरितकी ब्लिक्सनको कथा शायद पिँडालीलाई मन पर्छ । तर उनी केही भन्दैनन् ।

म अघि बढ्छु । समय थोरै छ । पिँडाली विदेश जाने नेपालीलाई उपनिवेशको आँखाले हेर्दैनन्, नेपाली आँखाले हेर्छन् । पिँडाली आफैँ नेपाली भूमिबाट निकालिएका छन्… प्रजातन्त्रको पक्षपाती हुनु उनको अपराध छ । उनी उपन्यासमा सोझै राजनीति लेख्दैनन् । विश्वेश्वरप्रसाद कोइरालाको जस्तै पद्धत्ति छ उनको । राजनीति विधा होइन विधि हो । उनी उपन्यासमा परदेशी अनुभूतिले एक्लिएका पात्र-पात्राको दशा लेख्छन् ।

ब्लिक्सन कोपनहेगेन् फर्किन्छिन् । पिँडाली पनि फकिन्छन् । पिँडालीको दाम्पत्य जीवन महान् छ । उनका स्वास्नी मान्छेप्रति तीता अनुभव छैनन् । तर उनी व्यङ्ग्य बुझ्छन् । बुझ्ने मात्र होइनन् व्यङ्ग्यलाई एउटा रूप पनि दिन्छन् नेपाली साहित्यमा ।

यात्राको अन्तिम लक्ष्य एल्सेनोरको राजा ह्यामलेटको दरबार हेर्नु छ । सेक्सपियरले ह्यामलेटको कथा लेखेको तथाकथित् दरबार एल्सेनोर क्यासलमा अङ्ग्रेजी राजखादानसँग पनि जोडिएका कथा छन् । त्यहाँबाट हेर्दा समुद्रको छोटो आयतन पारी जाडोको उत्तरी यूरोपेली तुवाँलोभित्र स्विडेनको झण्डै सोही नामको शहर देखिन्छ । “क्यासल” एट म्यूजियम भएको छ ।

यस दरबारले डेनमार्कको साहित्यमा के प्रभाव पारेको छ मेरो अध्ययन छैन । तर यसको महत्त्व छ- प्रसङ्ग शेक्सपियरको छ । शेक्सपियरको व्यापकता यस दरबारमा पनि पुग्नु चाख लाग्दो छ । बालकृष्ण समलाई मिल्ने स्मृति छरिएको छ अनि इतिहास भएको छ त्यहाँ । त्यस अनुभूतिमा महाकाव्य र उपन्यास्य विधाको समागम छ । “क्यासल” रंगमञ्च भएको छ । प्राचीन खुड्किलामाथि उत्तरी हावा ठेलेर हिँड्छौँ । झण्डै ७८ वर्षका पिँडाली आफ्नो कालो ओभरकोटले हावा धकेलेर अघि बढ्छन् । उनले यो युरोपेली शहरमा हावा ठेलेका छन् यो कोटले । म उनको तरुणाइले चकित हुन्छु ।

हाम्रो यात्राको अन्त्य हुन लाग्छ । हामी एल्सेनोरको प्राचीन नगरमा खाना खान्छौँ अनि सोझै हामीलाई पर्खेर बसेका डेनिस लेखकहरू भेट्न एकघण्टा ढिलो पुग्छौँ ।

त्यहाँ उपन्यासकार, कवि, पत्रकार, चित्रकार, समीक्षक थिए । प्रजातन्त्रबारे केन्द्रीय र बामपन्थी विचार भएका लेखक लेखिका थिए त्यहाँ । हाम्रो परिचय दिएपछि मैले बोल्ने क्रम आयो । क्रम लामो थियो । नेपाली साहित्यको अनुभूति विधागत भएको कुरा सबैभन्दा चाखलाग्यो । सबैलाई पिँडालीले आफ्नो विधानले परिचय दिँदै भने म हास्यव्यङ्ग्य लेख्छु । मेरो विधा मूलरूपमा त्यही हो ।

हास्यव्यङ्ग्य विधा के हो ? प्रश्नहरूका गोली उडे । मैले दिनभरि बनाएको विधागत रचना भत्कियो । विधाहरू एकनर्कामा चिप्लिन थाले । पिँडालीको काठमाडौंका सडकमा ‘खै खै’ भनेर सिगरेट सल्काउने यात्रादेखि लिएर ‘म’ नाम भएको हरेक हप्ता साप्ताहिकमा देखा पर्ने वक्ता मेरा मानसमा व्युँझे । वहाँ लेख्ने हास्यव्यङ्ग्य विधा भनेको के हो, तपाईं व्याख्या गर्नुहोस्, मतिर आयो ।

पाश्चात्य साहित्यको विधा पद्धतिको कुरा गर्दा हास्य व्यङ्ग्य एक निबन्ध रचना हो । अर्कोतिर हास्य व्यङ्ग्य आधुनिक पत्रकारितामा पत्रिकाको कुनै एक खण्डमा छापिने कलोम हो एक नित्य पढिने खण्डको रचना हो ।

पिँडालीले दुवै प्रकारले हास्यव्यङ्ग्यको रचना गरेका छन् । मैले झट्ट सम्झेँ । उनले लेखेका साप्ताहिक हास्यव्यङ्ग्यहरूले गर्दा उनको कार्यालय घेर्ने मान्छेहरू पनि आएका छन् र उनको हास्यव्यङ्ग्य निबन्धका कारण विशाल साहित्यिक र पाठकका समूहले उनलाई दोसल्ला ओढाएर कलात्मक विशाल फमबन्दी अभिनन्दन पनि दिएका छन् । उनको हास्य व्यङ्ग्य के हो ? त्यस विषयमा विस्तृत लेख लेख्नुपर्छ । उनको लेखनको पाठ रचनामा ध्यान दिनुपर्छ । अनि उनको विकास क्रम पहिल्याउनुपर्छ । त्यो छुट्टै विषय हो । मलाई आइपरेको समस्याको समाधान कसरी गरेँ त्यसको सार खिच्नु छ । भनेको कुरा राम्ररी सम्झन्छु ।

म भन्दै जान्छु निबन्धमा बोल्ने व्यक्ति पात्रा वा पात्र एक्लै बोल्छ । बोलेको ठाउँमा अरु कोही हुँदैनन् । त्यसकारण ऊ आफ्ना अत्यन्त निजी कुरा गर्छ निबन्धमा । तर यसमा दुईवटा कुरा महत्वपूणर् हुन्छन् एक-ऊ लेख्य भाषामा आफ्नो कुरा भन्छ, दुई ऊ मैले एक्लै बोलेको ढोका बाहिर कान थामेर कसैले नित्य सुनिरहेको छ भन्ने कुरा जान्दछ । अब यस्तो भएपछि उसको निजी गन्थनको एक लेख्य विधागत रूप हुने भयो अनि उसको गोपनीयता एउटा अदृश्य तर निश्तिरूपमा सुनिरहेको श्रोताको निम्ति भनिने भयो । यसरी बोल्ने पात्र सचेत र सचेष्ट हुन्छ ।

अरूलाई सुनाएर अत्यन्त निजी कुरा गर्नको निम्ति निकै ठूलो शीर चाहिन्छ । त्यसरी निजी कुरा गर्दा व्यङ्ग्य रचना हुन्छ । पश्चिमी साहित्यमा एक प्रकारको व्यङ्ग्य रचना निबन्धमा गरिएको छ र उपन्यासमा पनि गरिएको छ । उपन्यासमा बोल्ने पात्रको निजत्य ढोकाबाहिर उभिएर सुन्नेको लागि लेखिन्छ । तर राम्रो उपन्यासकारले मात्र त्यस्तो व्यङ्ग्यको रचना गर्न सक्छ ।

निबन्धमा पनि त्यस्तो व्यङ्ग्यको रचना गर्न निकै कठिन छ । पिँडाली आफ्ना उपन्यासमा यस्तो व्यङ्ग्यको रचना गर्दैनन् उनी निबन्धमा गर्छन् पिँडालीको हास्य व्यङ्ग्य भनेको व्यङ्ग्य रचना गरिएको निबन्ध हो । व्यङ्ग्य भन्नाले ठाडो गालीलाई बुझ्नु हुँदैन… बोल्ने माल र बाहिर लुकेर सुन्नेको अन्तर व्यङ्ग्य बुझ्नु पर्छ । यसलाई अब अन्तर व्यङ्ग्य भो ।

पिँडाली नेपाली साहित्यका यस्ता निबन्धकार हुन् जसले नेपाली गद्यमा पहिलो अन्तर व्यङ्ग्यको रचना गरे । उनले “खै खै” निबन्धहरू रचना गरेका बेला नेपाली साहित्यमा पाश्चात्य साहित्यको जस्तो विधागत रचना शुरू भइसकेको थियो । उपन्यास लेबनेले उपन्यास लेखे, कविहरू धेरै बलिया थिए, नाटक लेख्नेले त्यही विधा लेखेर मान पनि गरे, अर्कातिर लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समले पाश्चात्य पद्धतिमा निबन्ध लेखे । पिँडालीले गरे जस्तो अन्तर व्यङ्ग्यको रचना न नेपाली उपन्यासमा भएको थियो, न देवकोटा र समका निबन्धमा । नेपाली साहित्यमा त्यस्तो व्यङ्ग्यको रचना पहिलो पटक पिँडालीको निबन्धमा मात्र भयो ।

देवकोटाका निबन्धमा सूक्ष्म र स्थलको लचिलो समागम हुन्छ । ढाडिमको रुखले प्रकृति, “मेटाफिजिक्स” देखि लिएर निबन्धकारको निजी अनुभवलाई समेत प्रतिनिधित्व गर्छ । घत अर्थमा शीर्षक प्रतिक भएको छ । निन्द्रा कालको मन भएको छ । गुरूजी प्रकृति जनित, कल्पनाजनित नैतिकता र उदात विचारका अघि बाउन्ने… “पिग्मी” भएका छन्, अंग्रेजीको हाइहाइ गर्ने मानिसहरू खोक्रा, र मूर्ख भएका छन् । निबन्धभित्र ‘म’ मान छ तर उसको श्रव्य-गोपनीयता केही छैन । ऊ पति धनी छ कि ऊ भीडमा आएर तथाकथित् गोपनीयता भन्छ, सुन्नेले सुन्छ नसुन्नेले सुन्दैन, बुझ्नेले बुझ्छ नबुझ्नेले बुझ्दैन । ऊ अघि बढ्छ । ऊ एक उदात्त नायक हो ।

पिँडालीका निबन्धमा बोल्ने व्यक्ति एक चलाक, र बुझेको पात्र हो । ऊ श्रोताको लागि बोल्छ अन्तरव्यङ्ग्य बोल्छ । यस प्रकारको अन्तरव्यङ्ग्य रचना गरेर पिँडालीले नेपाली साहित्यमा एउटा नयाँ आयाम नै थपिदिए ।

पिँडालीको जस्तो अन्तरव्यङ्ग्य रचना विश्वेश्वरप्रसाद कोइरालाका कथामा भने भएको छ । विद्यार्थीले बिहे गर्न गएको राति रतेली खेल्दा खेल्दै धुक्क धुक्क रुने पविता बज्यको वणर्न, केटाकेटीले धेरै बेइज्जति गर्दा घोडा भएर हिँड्ने पात्रको वणर्न, घोडालाई कर्णेलको भन्दा बढी माया गर्ने आइमाइको वणर्न, कोठामा झट्टी खस्दा अनेकौं शत्रुको अड्कल काट्ने पात्रको वणर्न, सबैमा कोइरालाले अन्तर व्यङ्ग्यको रचना गरेका छन् । कुनै वणर्न पनि प्रत्यक्ष छैनन् तर कसैलाई कुरा सुनाएर प्रस्तुत गरिएका भने छत् । पाश्चात्य साहित्यमा कथा उपन्यासमा हेन्री जेम्स (प्वाइन्ट अफ् भ्यु) जेम्स ज्वाबस, मार्सल प्रुष्ट, बजिनिया उल्फ (स्ट्रिम् अफ् कान्सस्नेस्) अनि पछिका अनेकौं उपन्यासकारहरूले यसरी अन्तरव्यङ्ग्यको रचना गरेका छन् ।

पिँडालीले निबन्धमा यस प्रकारको अन्तरव्यङ्ग्यको रचना गरे । तर सबभन्दा चाख लाग्दो विषय के हुन पुग्यो भने नेपाली समीक्षकहरूले उनलाई हास्य व्यङ्ग्यकार र त्यस्तै मात्र निबन्ध लेख्ने भनी अलग सारे । यम धारणालाई चाख लाग्दो भन्नुको मेरो तात्पर्य यस्तो छ-

पहिलो त पाश्चात्य विधा पद्धतिलाई नेपाली साहित्यमा अंगिकार गर्दा समीक्षकहरूले आफ्नै प्रकारको वर्गिकरण गरे । अनि निबन्धको व्याख्या पनि आफ्नै प्रकारले गरे । पाश्चात्य दृष्टिले यो व्याख्या गल्ती थियो बिरामीका निबन्धमा । दोस्रो कुरा पिँडालीलाई प्रथम नेपाली हास्यव्यङ्ग्यकार भनेर अलग्याउनुको पछि एक यथार्थ छ । उनले अन्तरव्यङ्ग्य रचना गर्न लेख बहाई धेरै प्रभाव पारे । भैरव अर्याल, रामकुमार पाँडे र अरु केही राम्रा अन्तरव्यङ्ग्य रचना गर्ने निबन्धकारहरू उनकै परम्परामा देखा परे । यस अर्थमा पाश्चात्य साहित्यको विधागत वर्गिकरण अन्तरगत निबन्ध विधा भनिएता पनि हास्य व्यङ्ग्य एक छुट्टै मौलिक नेपाली विधा हुन पुग्यो जसको रचना केशवराज पिँडालीले गरे । यो एक धेरै नै चाख लाग्दो र अध्ययन गर्नुपर्ने विषय छ ।

अर्को चाख लाग्दो कुरा के छ भने पिँडालीको अन्तरव्यङ्ग्य रचना गर्ने पद्धतिको प्रभाव दुई प्रकारका निबन्धकारहरूमा पर्‍यो । भैरव धर्याल र रामकुमार पाँडेका हास्यव्यङ्ग्य निबन्धमा यसको हास्य-रस प्रधान प्रभाव पर्‍यो । अर्कोतिर पिँडालीको सोझै प्रभाव नपरे पनि उनले थालेको अन्तरव्यङ्ग्यको रचना पद्धतिलाई आफ्ना गम्भीर र बढी जटिल निबन्धमा शंकर लामिछानेले प्रयोग गरे । कृष्णचन्द्र सिंह प्रधान र तारानाथ शर्माको निबन्धमा व्यङ्ग्य रचना बढी देवकोटाको परम्परामा भयो । तर उनीहरूले पनि पिँडालीकै परम्परामा अन्तर व्यङ्ग्य रचना गरेर कैयौँ निबन्धहरू लेखेका छन् ।

उनको निबन्धको यस्तो व्यङ्ग्य रचना गर्ने पद्धतिबारे तपाईंले कुनै आफ्नो विद्यार्थीलाई काम गर्न लगाउनुभएको छ ? एउटी साहित्यिक पत्रकारले सोधिन् ।

‘कीर्तिपुर विश्वविद्यालयमा उतापटिको टिनको छाना लगाएको घर केन्द्रीय नेपाली विभाग हो, यतापटिको चाहि केन्द्रीय अंग्रेजी विभाग हो । म चाहिँ अंग्रेजी विभागमा छु’ भन्ने अत्यन्त निजात्मक कुरा नगरेर मैले केवल एक शब्दमा भने “अँह” ।

त्यो भेटघाटमा अरु धेरै जिज्ञासाहरूको मैले उत्तर दिएँ । प्रसङ्ग अर्कै भएकाले यहाँ लेखिन् । त्यसपछि ती महिला पत्रकारले अरू धेरै कुरा गर्न चाहन्छु भनेर त्यो साँझ मलाई बाहिर खाना खान बोलाइन् । “म त होटल जान्छु- जाडो धेरै’ भनेर पिँडाली फर्के । त्यो राति ढिलोसम्म ती महिला पत्रकारले धेरै विषयमा प्रश्नहरू गरिन् । त्यसमध्ये पिँडालीको राजनैतिक जीवन र लेखनको सम्बन्धबारे उनको प्रश्न चाख लाग्दो थियो । उनले सोधिन् ‘पिँडालीको’ अन्तर व्यङ्ग्य रचना र उनको राजनैतिक विश्वासको सम्बन्ध छ कि छैन ? मैले भनेका कुरा सब हासेर डेनिस भाषामा केही दिनपछि उनले अखबारमा लामो लेख छामिन् ।

मेरो ठूलो फोटो र रोमन लिपिमा ठाउँ ठाउँमा पिँडालीको नाम र नेपाली साहित्य भन्ने शब्दबाहेक मैले केही बुझिन । त्यो लेखमा के छ भनेर बुझ्न कोही अनुवादको खोजी गरेको तीन वर्ष हुनलाग्यो- अझसम्म भेटेको छैन । तर सबभन्दा राम्रो अन्तरव्यङ्ग्यको रचना त्यही रात भयो । राति एक बजे होटल फर्केपछि पिँडालीले सोधे- “तरुनी केटीहरूसँग यति अबेरसम्म कहाँ गयो ? के गर्‍यो ?” त्यसरात रिडालीको “खै खै” ले कोपनहेगनमा अन्तर व्यङग्यको खोजी गर्दै मलाई हिँडाएको सम्झना मीठो छ । तर अन्तर व्यङ्ग्य सधैँ मीठो हुन्छ कि हुँदैन मलाई थाहा छैन ।

०००
‘उन्नयन’ १३, केशवराज पिँडाली विशेषाङ्क (२०५०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अन्तिम संस्कार

अन्तिम संस्कार

याेगीश कृष्ण
रङ र छेपारा

रङ र छेपारा

कुमार खड्का
सीमा सङ्घर्ष

सीमा सङ्घर्ष

डा. विदुर चालिसे
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’