साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भकुण्डेको पिण्डदान

बा ! यो छोराको पितृभक्तिमा कुनै खोट रहेको भए क्षमा दिनुहोला । आजभोलि चिना हेराउने ज्योतिषहरूले राजनीति गर्नेहरूलाई पितृ दोष लागेका कारण अपजस खेप्नु परेको बताएका छन् ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

बा ! पाउलागी प्रणाम गरेको छु । स्वीकार्नु होला ।

बा ! तपाईंको आशीर्वादले अहिले सम्म सबै ठिकठाक चलेको छ । आशा छ; आगामी दिनहरू पनि राम्रै हुनेछन् ।

बा ! सोह्र श्राद्ध पितृहरूको पर्व हो भन्ने जनमत छ क्यारे । यतिबेला स्वर्गमा रमाइलो होला ? सन्तानहरूले चढाएका धुप, दीप, नैवेद्यले स्वर्ग सुवासित होला । मिठामिठा फलफूल र पिण्डका परिकारले पितृहरू जिब्रो पड्काउँदै हुनुहुन्छ होला ? भुँडी मसार्दै हुनुहुन्छ होला । जे होस् तपाईंहरूमा खुसी र उमंगको वसन्त आएको होला। अनुमान मात्रै गर्दा पनि हर्षले गदगद छु ।

बा ! सुनेको छु केही दिन यता स्वर्गमा पिण्डदानका विषयमा चर्चा परिचर्चा चलेको छ । कसका पुत्रले कस्तो पिण्डादान गरे ? दान, दक्षिणा कस्तो भयो ? पितृ प्रसाद कस्तो रह्यो ? त्यहाँ पनि युट्युवहरूमा भिडियोहरू निकै अपलोड भएका छन् अरे ! यति मात्रै हो र ? आफ्ना सन्तानहरूबाट गुणस्तरीय पिण्ड प्राप्त गर्ने पितृहरूलाई त्यहाँ सम्मान गर्ने कार्यक्रम रहेको कुरा पनि सुनियो । यस कार्यक्रममा बा सम्मानित हुनेमा विश्वस्त छु । किनकी मैले बालाई उच्च गुणस्तरीय पिण्ड पठाउने कुरामा कुनै कसुर राखेको छैन ।

बा ! सोह्र श्राद्धको यस अवधिमा बार्नु पर्छ भनेर निकै सावधानी अपनाएको थिएँ । बाहुनको छोरो भएका नाताले खसी बाहेक अरूको प्रसाद मुखमै हालिनँ । एकछाकीको दिन आहारविहारको पूर्ण पथपरेजमा रहेको कुरा खुलस्त पार्न चाहन्छु । धरोधर्म बा ! यस दिन सितन बिना नै सुटुक्क सेन्तेराम घुटुक्क पारेको मात्रै हो । बा ! गर्वका साथ भन्न सक्छु सार्वजनिक स्थल वा होटलमा कसैले देख्ने गरी केही खाइएन ।

बा ! तपाईंलाई थाहै छ मेरो व्यवहार । तपाईं जीवित हुँदा पनि कहिल्यै दुःखी हुन दिइनँ । बालाई असुविधा होला भनेर सुविधा सम्पन्न आश्रममा राखेकै थिएँ । जहिल्यै कुशे ओैंशीमा ह्याप्पी फादर्स डे मनाइदिएकै थिएँ । बालाई एकजोर लुगा वर्षदिनभन्दा बढी लगाउने कहिल्यै पारिनँ । डाक्टरले बा धेरै दिन बाँच्नु हुन्न भनेपछि घरमै लगेर स्याहार गरेको कुरा बाले पनि बिर्सिनु भएको छैन होला । बाले जवानीमा जे रूचाउनुहुन्यो अन्त्यकालमा टकारेकै थिएँ । अनेकन फलफूल र जुसका आइटमहरू कति थिए ? देख्नु भएकै थियो । बा ! त्यसबेला गाउलेहरूले भनेका थिए – “मर्ने बेलामा पनि बाको यस्तो सेवा । मान्नै पर्छ भकुण्डे बाबुलाई ।” यी कुरा त तपाईंको सामु नै भएका थिए ।

बा ! तपाईंले संसार छोडेपछि मृत्यु संस्कारमा कुनै कमी हुन दिएको थिइनँ । झण्डै हजार पन्ध्र सय इष्टमित्रहरूलाई पितृ प्रसाद ग्रहण गराएको थिएँ । वर्षदिन भित्रका सारा संस्कार निष्ठापूर्वक नै गरेको थिएँ । कैयौँ संघसंस्थामा तपाईंको नाममा अक्षयकोष स्थापना गरेर संरक्षक बनिदिएको छु । हेर्नुहोस् त बा ! का निमित्त के मात्रै गरिनँ मैले ?

बा ! तपाईंको छोरो प्रगतिशील विचारधारामा आस्था राख्ने भएकोले केही फरक स्वभावको अवश्य छ । त्यसैले जे गर्छ बढो सुझबुझका साथ गर्छ । समय र सन्दर्भ अनुसार सर्प मर्ने र लठ्ठी नभाँचिने उपाय अपनाउन जानेको छ । त्यसैले सनातन धर्म, संस्कार र परम्परालाई पनि मानेको छ । तपाईंको यस भकुण्डेले आधुनिकतालाई आत्मसात् गर्दै परम्परालाई निरन्तरता दिने विषयलाई गम्भीरतापूर्वक लिएको छ ।

बा ! आजको तपाईंको पुण्य तिथिलाई खास बनाउन करिब पाँच/ छ सय जति अतिथिहरूका बीचमा पिण्ड तर्पणको काम सम्पन्न गरियो । बा ! तपाईंका लागि तयार पारेको पिण्ड जलासयमा सेलाउन लैजाँदै गर्दाको विशेष भिडियो पनि हेरिदिनु होला । किनकि यो भिडियो खास छ ।

बा ! तपाईंको पालामा पितृको नाममा दिइएको पिण्ड गोमातालाई चटाउने चलन थियो । अहिले कहाँ पाएर गाईलाई पिण्ड चटाउनु ? गाईलाई चढाउन सम्भव नभएपछि जलासयमा सेलाउने कुरा आयो । जलाशयतिर जाँदै गर्दा एक वृद्धले भोजनका लागि याचना गरे । त्यसैले तपाईंको नामको पिण्ड ती भोका वृद्धलाई दिएँ । उनले श्रद्धासाथ निकै मिठो मानेर खाए । मलाई लागेको छ ती वृद्ध मार्फत तपाईं समक्ष भोजनको पिण्ड पुगेको छ । जसबाट तपाईं तृप्त हुनुभएको छ । यस घटनाको भिडियोको एक अंश तपाईंलाई पनि ट्याग गरी अपलोड गरेको छु । हेरेर कमेन्ट गर्नुहोला । भिडियो रेकर्डको पूर्ण पाठ पछि आउने नै छ ।

बा ! पितृकार्यमा त्यति धेरै मान्छेहरू किन ? भन्नुभएको होला । राजनीतिकर्मी भएका नाताले इष्टमित्र राख्नै पर्‍यो । आफ्ना मान्छे डाक्नै पर्‍यो । अरूलाई आफ्ना बनाएर नेतृत्वलाई हाँक्नै पर्‍यो । कमजोरी ढाक्नै पर्‍यो । त्यसैले बा ! तारे होटलमा पितृ प्रसादको कक्टेल पार्टी राख्नै पर्‍यो ।

अन्त्यमा, बा ! एकोहोरो गन्थन लामो ठान्नु होला । प्रतिगामी विचारका पितृहरूले अन्यथा मान्नुहोला । अरूले जे जस्तो सोंचे पनि भकुण्डे तपाईंकै सन्तान हो । यसपालिको सोह्र श्राद्धको संक्षिप्त प्रतिवेदन पत्रमार्फत पेश गरेको छु । तपाईं र अन्य पितृहरूका नाममा दिएको तर्पणले तिर्खा मेटाउनु होला । यथा सम्भव बाहुन बाजे एण्ड प्राइभेट लिमिटेडको निर्देशन बमोजिम श्राद्ध सम्पन भएको छ । आजको यस खास अवसरमा यहाँप्रति समर्पित भेटी, दक्षिणा, फलफूल, धूप, दीप, नैवेद्य, अक्षतापातीबाट प्रसन्न रहनु होला ।

कुनै दिन तपाईंले नै भन्नू भएको थियो नि बा !- “देवताभन्दा पितृ ठूला हुन् । पितृ खुसी भए धनधान्यको कमी हुँदैन । पितृ बेखुसी भए देवताले पनि केही गर्न सक्दैनन् ।”

बा ! यो छोराको पितृभक्तिमा कुनै खोट रहेको भए क्षमा दिनुहोला । आजभोलि चिना हेराउने ज्योतिषहरूले राजनीति गर्नेहरूलाई पितृ दोष लागेका कारण अपजस खेप्नु परेको बताएका छन् । यसो मेसो मिलाएर दुनो चाट्दा चाटी फसाद भएको छ । सत्ता टिकाउको हुन सकेको छैन । गठबन्धनको गाँठो बलियो हुन सकेको छैन । यहाँ धरतीमा रहेका पितृहरूका ओंठ तालु सुकिसकेका छन् । मै हूँ भन्ने बसाहाहरू ठाउँ न कुठाउँ दाँइ लाउँदा चुकिसकेका छन् । त्यसैले बा ! तपाईंको छोरो भकुण्डेलाई पितृ दोषले कहिल्यै नजर नलगाओस् । यहाँबाट आशीर्वादको अपेक्षा गर्दै मबाट भएका भुलहरू आगामी दिनमा टालटुल हुनेछन् भनी वाचाका साथ विदा हुन चाहन्छु ।

उहीँ तपाईंको प्यारो भकुण्डे

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x